विचार

कसरी बनाउने जीवनलाई आनन्दपूर्ण ?
SHARES

चैत २५, २०७३

    यसपटकको विश्व स्वास्थ दिवसको नारा नै डिप्रेसन हो। विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारालाई डिप्रेसनमा केन्द्रित गर्नुले चुरो कुरो पत्ता लाग्छ, आज आममानिस कुन मानसिक मानोदशाबाट गुज्रिरहेका छन्! 

    १९औं शताब्दीको मध्यसम्म मानसिक रोगीहरूलाई भूतप्रेत लागेको वा कुनै नराम्रो शक्तिले समातेको भनेर बाँधेर कुट्ने, अनेक यताना दिने र हत्यासम्म गर्ने गरिन्थो। सर्वप्रथम सिग्मण्ड फ्रयाले मानिसको मनोदशाको वैज्ञानिक तवरले अनुसन्धान गरे। उनका अनुसार अधिकांश शरीरिक रोगहरूको गहिराइमा मानसिक कारण हुन्छ। त्यहाँबाट सुरु भएको मनोविज्ञानले आज आइपुग्दा विभिन्न आयाममा अनुसन्धान गर्दै गर्दा पनि हरेक वर्ष मानिसमा विभिन्न खालका नयाँ मनोरोगहरू देखिँदै आएका मात्रै छैनन्, हरेका वर्ष डिप्रेशनका कारण आत्महत्या गर्ने मानिसको सङ्ख्या पनि बढ्दै छ। आखिर किन मानिसलाई संसारलाई आनन्दित बनाउने सन्दर्भमा आधुनिक विज्ञान र मनोविज्ञान चुकिरहेको छ त?

    कले जीवन दुखेकालाई थाहा नहुन सक्छ- धनले जिन्दगीलाई झन् कष्टपूर्ण बनाउँछ। कुरूप अनुहार भएर जीवनबाट निरस भएकाहरूलाई थाहा नहुन सक्छ- सुन्दर रूप पनि कति बोझपूर्ण हुन सक्छ भनेर। अनपढहरू धेरै अध्ययन गरेकाको जीवनदेखि र्‍याल काढ्छन् तर जिन्दगीमा धेरै बुझियो भन्नेहरूलाई बोध हुन्छ- केही नजान्दा नै जिन्दगी सुन्दर थियो भनेर।

    प्रवृत्तिगत रूपमै विज्ञानमा एउटा समस्या छ। विज्ञानले बाहिरी जगतको अध्ययन गर्छ। विज्ञानले देखिने भौतिक वस्तुको अध्ययन गर्छ। सिग्मण्ड फ्रायड जस्तो मनोविश्लेषकले पनि अन्य मानिसहरूमा अध्ययन गरेका थिए। तर जहाँनेर विज्ञान चुकेको छ, त्यहाँ आनन्ददायी जीवन जिउने सन्दर्भमा अध्यात्म विज्ञानसँग अथाह ज्ञानको भण्डार छ। अध्यात्मको मतमा बाहिरी भौतिक जगतमा होइन, आनन्दको स्रोत हामी आफैँ हौँ।

    जीवनलाई आनन्दपूर्ण बनाउने सन्दर्भमा सम्पूर्ण विज्ञान भनौँ अथवा सम्पूर्ण मानव जाति एउटा दौडमा छ, भौतिक उपलब्धिको दौडमा। तर धेरै अध्ययन गरेका, धन कमाएका, ख्याति पाएका, समाजले सम्मान गरेका, शक्तिकेन्द्रमा भएकाहरू पनि निमुखा र गरिबजत्तिकै दुःखी छन्। भोकले जीवन दुखेकालाई थाहा नहुन सक्छ- धनले जिन्दगीलाई झन् कष्टपूर्ण बनाउँछ। कुरूप अनुहार भएर जीवनबाट निरस भएकाहरूलाई थाहा नहुन सक्छ- सुन्दर रूप पनि कति बोझपूर्ण हुन सक्छ भनेर। अनपढहरू धेरै अध्ययन गरेकाको जीवनदेखि र्‍याल काढ्छन् तर जिन्दगीमा धेरै बुझियो भन्नेहरूलाई बोध हुन्छ- केही नजान्दा नै जिन्दगी सुन्दर थियो भनेर। जीवनलाई आनन्दपूर्ण बनाउने सवालमा किन यति धेरै मेहनत खेर गइरहेको छ त? किन जीवनभर दौडेर पनि हामी जहाँको त्यहीँ छौँ। अझै हामी विपरीत दिशामा फर्किरहेका छौँ।

    त्यसैले जीवनलाई खुसीमय बनाउने सन्दर्भमा बाहिरी भौतिक जगत नभई आफैँलाई परिवर्तन गर्न जरुरी छ। आफैँलाई परिवर्तन गर्ने उपाय भनेको बाहिर बगेको ऊर्जालाई आन्तरिक रूपान्तरण गर्नका लागि प्रयोगमा ल्याउनु हो। हिजोसम्म हामी बोल्दा, केही कुरा सुन्दा वा कुनै कुरा गर्दा हाम्रो शरीरको ऊर्जा बाहिर बग्ने गरेको थियो। यस्तो बाहिर बगेको ऊर्जालाई आन्तरिक प्रवाह गर्नु स्वयंको रूपान्तरको आधारभूत आवश्यकता हो। शरीरको ऊर्जालाई कसरी आफ्नै शरीरभित्र प्रवाह गराउने त? यसका लागि हामीले आफैँलाई नियाल्नुपर्छ। आफ्नै शरीरमा घटिरहेको शारीरिक संवेदना र मस्तिष्कमा भइरहेको हलचललाईमा ध्यानलाई केन्द्रित गर्नुपर्छ। 

    सुरुवातमा अवश्यनै अलि धेरै श्रम लाग्ने काम गर्दा ध्यानलाई काममा नलगाई मस्तिष्कमा केन्द्रित गर्न  गाह्रो हुन्छ। अनि शरीरको उर्जा पनि आधा भित्र र आधा बाहिर भइदिनाले काम पनि ठीक ढङ्गले काम गर्न सकिदैन। अनि हाम्रो मानसिक रूपान्तर पनि ठीक ढङ्गले हुदैन। त्यसैले सुरुवातमा फुर्सदको बेला शरीरलाई आनन्ददायक अवश्य हुने गरी बसेर वा सुतेर आफ्नो ध्यानलाई सम्पूर्ण रूपमा शरीरमा कस्तो संवेदना तातो, चिसो, कम्पन, भनझनाहट, दुखेको, शीतल भइरहेको आदि जे छ, महसुस गर्नुहोस्। यसरी महसुस गरेको संवेदनाप्रति तटस्थ भइदिनुहोस् अर्थात कुनै पनि संवेदनालाई राम्रो भनेर त्यसको निरन्तरता चाहने वा अप्रिय भनेर त्यसलाई नचाहने नर्गुनुहोस्। केवल कुनै प्रतिक्रिया नदिई ध्यानलाई शरीरको संवेदना महसुस गर्नुमा केन्द्रित गर्नुहोस्। अथवा मस्तिष्कमा उठ्दै गरेको हलचल वा विचारमा विना कुनै प्रतिक्रिया केन्द्रित गर्नुहोस्। शरीर वा मस्तिष्क जेमा ध्यानलाई केन्द्रित गर्दा पनि हुन्छ। 

    शान्तसँग बस्दा शरीरको संवेदना र मस्तिष्कको हलचल प्रस्टसँग महसुस गर्न सक्ने भएपछि केही समयपश्चात सजिलो काम गर्दै गरेको सन्दर्भमा यो विधि अपनाउनुहोस्। उदाहरणका लागि, बिस्तारै हिँड्दै गर्दा बाहिरी जगतलाई छाडेर मस्तिष्कमा ध्यानलाई केन्द्रित गर्नुहोस्। मुख धुँदै गर्दा, दाँत माझ्दै गर्दा, खाना खाँदै गर्दा यसको प्रयोग गर्नुहोस्। यसो गर्दा जब मस्तिष्कमा कुनै विचार आउँदैन, त्यस्तो अवस्थामा हामी सफल भएका हौँ। केही क्षणका लागि मात्र पनि यो प्रयोग सफल भए पनि राम्रो हो। किनकि केही क्षणको लागि तपाईं आफ्नो मस्तिष्कमा कुनै विचार नगरी आफ्नो ध्यानलाई केन्द्रित गराउन सक्नुहुन्छ भने त्यो एउटा संकेत हो कि तपाईं त्यस्तै अवस्थामा लामो समय पनि बस्न सक्नुहुन्छ। निर्विचार भएर बस्न सक्ने मानिस नै आफ्नो मस्तिष्कको स्वामी बन्न सक्छ। नत्र आमनिसका सन्दर्भमा मानिसहरू आफ्नो मस्तिष्कको बसमा छन्। मस्तिष्क बसमा नभएकै कारण नै हामीमा अनगिन्ती मानसिक समस्या आएका हुन्। 

    यो विधि प्रयोग गर्दै जाँदा क्रमश: क्षमता बढ्दै गएपछि हामी अलिक असहज अवस्थामा समेत यो विधिको प्रयोग गर्न सक्छौँ। जस्तै: हामीलाई कसैले गाली गर्दा वा हामी रिसाउँदासमेत हामीलाई गाली गर्ने मानिस र गालीमा केन्द्रित नभएर आफ्नै मस्तिष्कमा केन्द्रित हुन सक्छौँ। यसरी आफ्नै मस्तिष्क वा शरीरिक संवेदनामा केन्द्रित भएपछि हामीलाई थाहा हुन्छ, वास्तवमा खुसी, दुःख, प्रेम, धृणा जस्ता भावहरूको केन्द्र बाहिरी जगत होइन, हाम्रो आफ्नै मस्तिष्क हो।

    जब आफू अरूभन्दा विशेष छु भन्ने भाव आउँछ, तब मानिसले अरूलाई सामान्य देख्न थाल्दछ। जब अरूलाई समान्य र आफूलाई विशेष सम्झन्छन्, त्यसपछि सम्बन्धित मानिस र अरू मानिसको बिचमा दुरी बढ्न थाल्दछ। यस्तै भावले हामी अरूसँग आत्मीय बन्न सक्दैनौँ।

    बाहिरी जगतमा केन्द्रित नभएर आफ्नै आन्तरिक जगतमा केन्द्रित हुनेबाहेक मूलभूत रूपमा बुद्ध मानिस वा मुक्त मानिस आममानिसका तुलनामा दुईवटा गुणका कारण मात्र भिन्न छन्।  एक बुद्ध मानिसमा अहं हुँदैन। अर्को उनीहरू हरक्षण वर्तमानमा बाँच्छन्। यहाँनेर जिन्दगीलाई आनन्दपूर्ण बनाउने यी दुई सूत्रको चर्चा गरिएको छ।

    सूत्र नं. एक: अहं भाव त्याग
    अधिकांश मानिसले आफूलाई अरूभन्दा कुनै न कुनै रूपमा अब्बल साबित गर्न एक कल्पनिक स्वसत्ताको निर्मार् गरेको हुन्छ। यसरी स्वसत्ता निर्माण गर्ने क्रममा उसले आफ्नो काल्पनिक प्रतिमूर्ति बनाएको हुन्छ। जस्तै: कसैले आफूलाई सम्पन्न, कसैले शक्तिशाली, कसैले विद्वान्, कसैले सुन्दर, कसैले लडाकु आदि यस्तैयस्तै आफ्नै बारेमा प्रतिमूर्ति बनाएका हुन्छन्। त्यही प्रतिमूर्तिलाई स्थापित गर्न उसले हरसम्भव प्रयास गरिरहेको हुन्छ। हरेक मानिस जसरी पनि आममानिसभन्दा विशेष बन्न खोज्छन्। यसैलाई अंग्रेजीमा ‘इगो’ अर्थात् अहं भनिएको हो। मानिस आफ्नो प्रतिमूर्ति स्थापित गर्ने सन्दर्भमा जति भौतिक रूपमा सफलता प्राप्त गर्दै जान्छ, उसको अहं उत्तिकै बढ्दै जान्छ।

    जब आफू अरूभन्दा विशेष छु भन्ने भाव आउँछ, तब मानिसले अरूलाई सामान्य देख्न थाल्दछ। जब अरूलाई समान्य र आफूलाई विशेष सम्झन्छन्, त्यसपछि सम्बन्धित मानिस र अरू मानिसको बिचमा दुरी बढ्न थाल्दछ। यस्तै भावले हामी अरूसँग आत्मीय बन्न सक्दैनौँ। जब अर्को मानिस, जसले स्वयंलाई विशेष र अरूलाई समान्य देख्छ, अनि त्यसअनुरूपको व्यवहार गर्दछ। आफैँलाई श्रेष्ठ ठान्ने हाम्रो अहमतामा चोट पुग्छ। हामी मर्माहत हुन्छौँ। हाम्रो जीवनमा यस्तो समस्या बारम्बार दोहोरिइरहन्छ।

    जति बढी अहं भाव हुन्छ, उति नै बढी पीडामा पर्छौं। तर यस्तो सोचको विपरीत बुद्ध पुरुषहरू आफूलाई एक आममानिस हुँ भनेर बोध गर्दछन्। उनीहरूका लागि आफूलगायत सबै मानिस समान हुन्। दुई समान मानिसबीच आत्मीयता सम्भव हुन्छ। त्यसैले बुद्ध पुरुषहरू राजादेखि कंगालसम्म, नपढेकादेखि विद्वानसम्म सबैसँग मित्रवत् हुन सक्छन्।

    मानसिक तवरमा हामीले आफूलाई शिखरझैँ सम्झेका हुन्छौँ भने बुद्ध मानिसहरू आफूलाई समथर जमिन सम्झन्छन्। आफूलाई आममानिस सम्झने मानिसलाई कसैले गरेको व्यवहारले चोट पुर्‍याउनै सक्दैन किनकि चोट पुग्ने भनेकै अहंका कारण हो ।

    सूत्र नं. दुई: वर्तमानमा हुनु

    तनावको अर्को प्रमुख कारण मानसिक रूपमा वर्तमानमा नहुनु हो। भौतिक रूपमा त हामी यहाँ छौँ र अहिले छौँ। तर हाम्रो मन सधैँ वर्तमानमा रहिरहँदैन।

    हामीलाई पत्तै हुँदैन, हाम्रो मन कुनबेला बितेको समयमा पुगिसकेको हुन्छ अथवा भविष्यमा पुगिसकेको हुन्छ। हाम्रो जीवनको अधिकांश समय विगतलाई सम्झेर र भविष्यको योजना बनाएर बितेको हुन्छ। मनोरोगीहरूका सन्दर्भमा गरिएका धेरै परीक्षणहरूमा पनि अधिकांश समय उनीहरू विगतलाई सम्झरे हाँस्ने, रुने र भविष्य सोचेर चिन्तित हुने गरेका पाइएको छ।

    साँचो अर्थमा विगत र भविष्यको वस्तुतः अस्तित्व नै छैन। विगत र भविष्यको मानसिक अस्तित्व मात्र हुन्छ। मान्छेका प्रवृत्तिअनुरूप फरक हुन सक्छ तर सरदर एक दिनमा ५० हजारवटा विचार हाम्रो मस्तिष्कमा आउने गर्छन्। ती विचारहरू भूतकालको अनुभव र भविष्यको प्रक्षेपणमा अधारित हुन्छन्। ती विचारहरू नै विगतको सम्झना र भविष्यको कल्पना हुन्। आमसन्दर्भमा मानसिक रूपमा निरोगी मानिसको मस्तिष्कमा शान्त भएको बेलासमेत एक सेकेण्डमा तीनवटा विचारले डेरा जमाउँछन्। हामीले महसुस गर्ने दुःख र सुखको कारण केवल उपलब्धि र नोक्सानिको मानसिक जोडघटाउ हो। त्यसैले पनि विगतको संझना र भविष्यको कल्पनाले मनलाई स्थिर बस्न दिँदैदिँदैन।

    जब बिगतको सम्झना हुन्छ, विशेषतः दुई कुरा घट्दछन्। कि त हामी विगतमा घटेका राम्रा घटनाहरू सम्झेर आनन्दित महसुस गर्न थाल्दछौँ वा नराम्रा घटनाहरू सम्झेर दुःखी हुन थाल्दछौँ। राम्रा घटनाहरू सम्झना आएको अवस्थामा भविष्यमा फेरि त्यही घटना दोहोरियोस् भन्ने चहाना राख्दछौँ भने नराम्रा घटनाहरू सम्झना आएका बेला भविष्यमा त्यस्ता घटना नघटून् भन्ने इच्छा गर्दछौँ। तर के हामी बितेको समयलाई सच्याउन सक्छौँ र? अनि के भविष्य कस्तो बनाउने भन्ने हाम्रो हातमा छ र?

    वर्तमानले मानसिक हलचल पैदा गर्न सक्दैन। वर्तमानले अस्तित्वको अनुभूति गराउँछ। अस्तित्व सत्य हो र विचार भ्रम हो। सत्य एउटा हुन्छ र विचार अनेक। जब सत्यको महसुस गरिन्छ, तब विचार विलय भएर जान्छ।

    अज्ञात भविष्यलाई लिएर हामी केवल योजना बनाइरहेका छौँ। इच्छा बुनिरहेका छौँ। तर यथार्थमा त्यस्तो नहुन सक्छ। हामीले कल्पना गरेको र भोगेको दुनियाँ जब मेल खाँदैन, हामी दुःखी हुन्छौँ। जीवन निरन्तर छ। चलिरहको छ। यसरी मानसिक संसारमा समय व्यतीत गर्दै गर्दा हामी वस्तुगत जगतमा जिन्दगी भोगिहरेका हुँदैनौँ। जीवनको एकएक पलमा भएका आन्नदबाट बञ्चित भइरहेका हुन्छौँ।

    तर जब हामी वर्तमानमा रहन थाल्नेछौँ, क्षणक्षण आनन्ददायी हुनेछन्। वस्तुतः सत्य अहिले र यहाँ, वर्तमानमा मात्र छ। वर्तमानको सन्दर्भमा मानसिक सहभागिता सम्भव छैन। वर्तमानले मानसिक हलचल पैदा गर्न सक्दैन। वर्तमानले अस्तित्वको अनुभूति गराउँछ। अस्तित्व सत्य हो र विचार भ्रम हो। सत्य एउटा हुन्छ र विचार अनेक। जब सत्यको महसुस गरिन्छ, तब विचार विलय भएर जान्छ। भविष्यको योजना नै नबनाएको सन्दर्भमा एकैछिनपछिको समय पनि अज्ञात हुन्छ। अज्ञातबाट जे मिल्छ, त्यो नौलो नसोचेको मिल्छ। हो, आकस्मिकतामा सधैँ जादू हुन्छ। आकस्मिकताले भरिएको जीवनको एक-एक क्षणमा रमाइलो हुन्छ। जादूमय हुन्छ। भौतिक रूपमा चाहे त्यो सफलता होस् वा असफता, नोक्सानि र उपलब्धि सबैमा रमाइलो नै रमाइलो हुन्छ।

    अन्त्यमा, छोटकरीमा भन्दा सर्वप्रथम त बाहिरी संसारमा नभई आफैँमा केन्द्रित हुनुहोस्। जीवनमा जतिसुकै उपलब्धि गरेको हुनुहुन्छ भने पनि आफूलाई विशेष नसम्झेर एक आममानिस सम्झनुहोस्। अनि सकेसम्म विगतको सम्झना नगर्ने र भविष्यको योजना नबनाई जीवनलाई अगाडि बढाउनुहोस्। जीवनलाई महोत्सव बनाउने तरिका यत्ति नै हो। तपाईं कसरी बाँच्न चाहनुहुन्छ, तपाईंकै हातमा छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]