|

रुपन्देही : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव सार्ने प्रस्ताव ल्याएको खुलासा गरेका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ५ कमिटीले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको बताए।

‘एमालेको शीर्ष तहबाटै चुनाव कात्तिकसम्म लैजाउँ भन्ने प्रस्ताव आएको छ,’ माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका पुनले भने, ‘अब यो ढिलो भइसक्यो, चुनाव कुनै हालतमा सर्दैन, गठबन्धन सरकार वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध छ।’

चुनावका विषयमा एमालेले बाहिर चर्को कुरा गरे पनि सरकार बाहिर रहेर चुनावमा जाँदा पार्टीलाई घाटा लाग्नसक्ने निष्कर्षमा पुगेको उनले जिकिर गरे। चुनाव सार्ने निर्णय गरेर एमालेले संशय उत्पन्न गराएको उनको आरोप छ ।

‘एमालेले चुनाव सार्ने र आफू पनि सरकारमा आउने कुराले कांग्रेसमा संशय उत्पन्न गरेको छ, माओवादी नेतृत्वको यो गठबन्धन सरकारले वैशाख ३१ को निर्वाचन गराएर इमान्दारितापूर्वक कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छ।’

सरकारले संविधान संशोधन हुनुहुन्न भन्ने एमाले र निर्वाचन हुन दिदैनौँ भन्ने मधेसी मोर्चालाई सहमतिमा ल्याएर सबै दलको सहमतिमै चुनाव गर्न लागेको उनको भनाइ छ।

‘संविधान संशोधन हुनै हुन्न, यसले सबै बिगार्छ भन्ने प्रमुख प्रतिपक्षी दल एमाले र संविधान संशोधन नभई चुनाव हुन दिदैनौँ भन्ने मधेसी मोर्चा पनि सहमतिमा आइसकेका छन्,’ उनले भने, ‘माओवादीको नेतृत्वमा स्थानीय तहको निर्वाचन र कांग्रेसको नेतृत्वमा प्रदेश तथा केन्द्रको निर्वाचन हुन्छ।’
साथै उनले माओवादीले अहिलेसम्म चुनावी तालमेल गर्ने विषयमा निर्णय गरिनसकेको बताए।

‘हामीले देशभर तालमेल गर्ने विषयमा निर्णय गरेका छैनौँ,’ पुनले भने, ‘स्थानीय हिसाबले जसरी तालमेल गर्न सकिन्छ, त्यसैगरी तालमेल गर्न तल्लो तहलाई अधिकार दिएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.