|

प्रिय आत्मनका बिहानी नित्य लीलाहरू छन्, 

जस्तो कि,

विमान अड्डाको सेरोफेरोमा छातीको स्वस्थ पूर्ण कसरतपछि ऊ बानेश्वरबाट भद्रकाली हुँदै नयाँ सडकतर्फ लाग्छ। कम्पास नभएको उसको गोजीमा जीपीएस अफ मोडमा राखिएको आइफोन सेभन छ। उसको बीलायती जुत्तामा माइल–मेसिन छ। साउथ कोलबासी ऊ बिहानी यात्रामा नर्थ फेसका प्रौढ पहिरन लगाउँछ। 

हरेक बिहान अनेक दृश्यहरू देखिन्छन्।

उस्तै बिहानमा उही आँखामार्फत् ऊ फरक–फरक दृष्यहरू देख्छ। 

आज अचम्म भयो।

भीमसेनगोलाको उकालो किनारमा घरेलु, अर्धघरेलु, सल्मडगहरू घमासान जुधिरहेका थिए। दर्जन कुकुरको जत्था हेर्दा लाग्यो, यो मास कात्तिक होइन, फेरि पनि यो कुकुरहरूको कुरुक्षेत्र किन र केका लागि?

कुकुरसँगको साइनो प्रिय आत्मन्को उति प्राचीन होइन। अन्तरिक्षको लाइका कुकुरको कथा र आलु उब्जनीका कथाहरू पजनीमा पढेको बाहेक छातीमा ज्ञानका पातला रौँहरू मात्र थिए। श्रीमतीलाई कसैले कुकुर दान अर्थात् जन्मदिनमा उपहार दिएको थियो, सानो मायालु एक गाँसको गोलु जापानी जातिको सेतो कुकुर– मुसाभन्दा ठूलो, खरायोभन्दा सानो। उत्तिकै लोभलाग्दो पनि। उससँगको आकर्षणभन्दा पनि दयाको कारणवश आत्मन् रिझिएको थियो। 

पहिलो र दोस्रो विश्वयुद्धका ‘भल्चर’हरू जापानी आकाशमा उडेदेखि चिलको चुच्चोमा परेवाको प्वाँख बुझो लागेको छ। अहिले मध्यपूर्वी एसिया र अब अरबको आकाशमा सहनाइँ फुकेर खाउँला झैँ घुमिरहेका छन्। जापानी जातको कुकुरको प्रेम सम्बन्धमा विश्वयुद्ध आउनु अचम्म हो, तर अमेरिका भन्ने देश रहिरहेसम्म यो स्मृति सबैलाई हुने नै छ, जसरी दलाई लामाको तिब्बत खोसिएको निहुँमा संसार एकातिर र चीन एकातिर घिस्रिरहेको छ। श्रीमतीको लगाव आत्मनका लागि सर्वश्रेष्ठ थियो तर पहिलोमा कुकुरले स्थान ओगटेपछि सम्बन्ध अक्टोपसको अँगालोमा जेलिएको जस्तो भयो। अन्त्यतः स्वाहाँको नूतन यात्रातर्फ सोझियो।

जीवनलाई सम्झौताको जामा पहिराउनुभन्दा पनि सरल हिसाबले दिशा मोड्नु श्रेयष्कर वाद हो, समाजवाद, अवसरवादभन्दा अग्लो वाद थियो त्यो। त्यसरी एउटा प्रेमको सुरुवात र अवसान एकैसाथ भएको थियो। दृश्य लोप भए पनि दृश्यको झङ्कार मेटिने खालको थिएन। जापानी कुकुरले नयाँ नाम पाएको थियो, हाचिको जस्तै डफको रूपमा। उसको चिसो नाकको टुप्पाको चिस्यान अद्यापि आत्मन्को नाकमा घुमिरहेको छ। 

भीमेसेनगोलाको ओरालोमा भीमकाय रूपले कुकुरहरू लडिरहेका थिए। आत्मन्को त्यो प्रेम अहिले आएर खुल्यो, बिहानी पदयात्रालाई रोक्यो र युद्धरत कुकुरहरूलाई तह लगाउन तम्सियो। दुई फौजमा लडिरहेका थिए झुण्डहरू, कौरव र पाण्डव जस्ता। लुते दुब्ला कुकुरहरूको एउटा समूह थियो भने अर्कोतर्फ खाइलाग्दा फित्ता बाँधेका सुडौलको जमात थियो। शक्ति भएकाहरूले नभएकाहरूलाई गर्ने पराकाष्ठा यो बिहानी दृश्यमा छर्लङ्ग थियो। अझ मान्छेमा त्यो चेतना धेरै हुने हँुदा उनीहरूको थिचोमिचो घरदेखि करेसाबारीसम्म, वडादेखि सदनसम्म, चोरहरूको चोकदेखी अदालतको चोकसम्म देखिने नाङ्गो सेटिङ दृष्टान्त सबैले देखेकै हो। 

आत्मन् अलमल्लमा पर्छन्। यो के चाला–दाइ भाउजुको? दुवैलाई बुढो हुने इच्छा छैन अथवा लुकाउन चाहन्छन् आफ्नो असली जन्मदर्ता? अनि स्रोत नखुलेको कमाइ? स्रोत नखुलेको हाँसो? एक क्षणको उनीहरूको कुराकानी ठम्याउँदा धेरै लुकामारीको पर्दा खुल्यो। 

प्रिय आत्मन्को मन कमलो। केही बेर आवाज त लगाए तर उनको आजान कुकुरहरूको आजानभन्दा सानो प¥यो, कसैले सुनेन। विचरा उनी लौरी लिएर युद्ध छुटाउनतर्फ लागे फेरि डराए, जसलाई हिर्काए पनि हिंसा नै हुने भयो। शान्तिवादी उनी गान्धीलाई अहिंसाको नाइके नभई कान्तिको (कामको) नाइकेका रूपमा महिना दिनमा संझन्थे। तर आज कात्तिक महिनाको धाननाच एकाबिहानै भीमसेनगोलाको उकालोमा देखियो। अलमलमा परिरहेका बेला कोही खाइलाग्दो अधबैँसे आयो र एउटा ठूलो लौरीले दाह्रा लुछिरहेका कुकुरका डफ्फामाथि नभई लुछिइरहेका, क्षतविक्षत कुकुरहरूका टाउकामा बज्रपात गर्‍यो। लाग्यो, यो सन्नीपातयुक्त महामानवले मुगाको औँठी टल्काउँदै यसरी कुकुरलाई हिर्कायो, मानौँ, ऊ आफ्नो टोलमा वर्षौंपछि आएको जारलाई भकुरिरहेको छ। मुगाबेको रिस र उसका कुकुरहरूको कमालले भित्री तहमा कलह मच्चायो। ऊ हिर्काएर आफ्नो पक्षका कुकुर लिएर विजयीभावमा लम्क्यो, आत्मन् असहाय, भ्वाङ परेको अपाङ्ग हृदय लिई भद्रकालीतर्फ लाग्यो–  देवीसँग क्षामा याचनाका लागि। 

कुकुरको अधिकार, सहृदयी स्वभाव विकसित नभएको अमानवीय चरित्र, ज्ञात अज्ञात सबैलाई माफ गरिदिनु भन्दै अघि बढ्यो। समाजमा कुकुर पाले ठूलो हुने गरिमा बोकेका तर इन फ्याक्ट जंगली कुकुरभन्दा निम्नस्तरको स्वभाव लक्षणा टोपीमा लुकाएर औँलाको औँठी र दाँतको सुन टल्काइरहेका मुगाबेहरू धेरै छन्। ‘कुकुरदेखि सावधान’ बोर्ड यिनीहरूको घरको गेटमा होइन, छातीमा लेखिएको छ।

आत्मन् नित्य बिहानका पदचापलाई बाक्लो बनाउँदै नयाँ सडक पुग्छन्। सयौँ वर्ष पुरानो नगर, सडक र घर भएको ठाउँ सधैँका लागि नयाँ सडक बनेर जिस्काइरहेको छ। नयाँ सडकको पुरानो पिपलबोट नभए पनि त्यस वृक्षले छोडेर गएको बतासको मादकता लिने काइदा समय बिहानी नै हो। अब्जेक्ट नभएर पनि सब्जेक्टले माधुर्य दिने स्रोत सबै आत्मीय र मनको सिमसारमा बसेका हुन्छन्। खुलामञ्चको खरीको बोट, नयाँ सडकको पिपलबोट, आँगनमा रहेको अम्बाको बोट, वर्षमा एकचोटि फलादी बाँड्ने बनकुसुम ती बोटहरूका विषय सब्जेक्टिभ थिए। बोटहरू सम्मुखमा छैनन् र पनि छन्।

मत्स्यजनहरू फतफती फलाकिरहेका हुन्छन्, अखबारवाला बुसर्टले नाक पुछ्दै थुक लगाएर एक मनले गनिरहेको छ बण्डलको हिसाब–किताब। चिया बाजेको प्राचीन चियापान सायद नयाँ सडकभन्दा पहिलेको इतिहास बोकेको हुनुपर्छ, उनकोमा चिया पिउनेहरूको पुरानो पुस्ता पातलिइसक्यो। जो बाँकी छन्, सबजना विना चिनीको चिया फर्माइस गर्छन्। दाँतले चियालाई बाँध्थे कुनैबेला अहिले गिजाले थुन्न खोज्छन्, चियाको चुस्कीको तातो बाँध फुटेर ओठ हुँदै सर्ट सुरुवालसम्म पुग्छ। 

चियाका लागि नियमित आउने पेशाले सुन व्यापारी, घर भाडामा लगाएर आफू भाडामा बस्ने नाम हितमान भए पनि पटके पासाका नामले नामुद ऊ आउँछ। चिया पसलको कुनामा भित्र छिर्ने गल्ली छ, चियाको सुरसार तीन/चार बजेतिर नै हुन्छ तर त्यसै घरमा बस्ने घरधनी अबेर गरी ढोका उघार्ने आइमाईलाई ‘भाउजु नमस्ते’ भन्छ। 

उताबाट भाउजु दाँत नमाझेको आवाजमा ‘नमस्ते दाइ’ फर्काउँछे। 

आत्मन् अलमल्लमा पर्छन्। यो के चाला–दाइ भाउजुको? दुवैलाई बुढो हुने इच्छा छैन अथवा लुकाउन चाहन्छन् आफ्नो असली जन्मदर्ता? अनि स्रोत नखुलेको कमाइ? स्रोत नखुलेको हाँसो? एक क्षणको उनीहरूको कुराकानी ठम्याउँदा धेरै लुकामारीको पर्दा खुल्यो। 

वसन्तपुरका अशान्त मानिसहरूसँग ठेलिँदै आत्मन् जब घरतर्फ लाग्छन्, फेरि पनि दृश्यहरू उनलाई लखेटिरहेका हुन्छन्। जाँडको कट लिएर साइकलमा प्याडल मारिरहेको मरन्च्याँसे युवा, गजक्क परेर गोलिँदै गएको गजमधम्म पल्सरबाहक ह्याण्डल, लेगगार्ड, पछिल्लो सिटमा गरी रगत चुहाउँदै अपरिचित शंकास्पद मासुको पोका बाँधेर कुदिरहेको छ। रसाइरहेको अनाथ मासु, भन्किरहेका झिँगा र त्यसमाथि हाँसिरहेको थसल्ले मासुपसले दोकान खोल्न हतारिरहेको छ। जेब्राक्रसमा हिँडिरहेका यात्रीहरूलाई हर्न बजाएर सास्ती दिइरहेको छ, दौडिरहेको छ।

महानगरको सडक किनारका रूखहरूबाट रातभर खस्ने पातहरू टिप्न बिहानी जिम्मा पाएकी उजेलीको एकोहोरो काम पनि आत्मन्को आँखामा जोतिन्छ। बिहानी प्रहरमा पहेँला पातहरू शहरका मान्छेहरू जस्तै सुतिरहेका छन्। तिनलाई उठाउँदै एकै ठाउँमा जम्मा गर्न थाल्छिन् उजेली। पातप्रतिको उनको प्रेम पूर्व जन्मको हो सायद, उनी कुनै एक पातझैँ मानव शरीरमा प्रवेश गरेकी थिइन्? उजेलीको सम्मोहनयुक्त पात सङ्कलन आत्मन्को युवाकालको टिकट सङ्कलन जस्तै सुन्दर र चुम्बकीय थियो। कामप्रतिको गहन प्रेम र लगन थोरै मान्छेहरूमा भेट्टाउन सकिन्छ। त्यो इमान्दारी उनमा थियो र पातहरूको निद्रा खजमजिएला भन्ने भयले उनी हातमा लिएको सिटादार कुचोलाई बिस्तारै चलाउँदै उखेलिरहेकी थिइन्।

आत्मनका खजाना सम्झना हरेक बिहानीमा अनेक हुन्छन्। एक्लै वर्षौंदेखि दर्शक बनी आइरहेको छ। एकाबिहानै हिँडिरहेको एक्लो यात्रीसँग सहचरी गीतहरू धेरै थिए। हृदय स्पन्दन गर्ने मेलोडी हरेक पदचापसँगै आँखामा उनिइरहन्थे र आत्मन् ती सबै आत्मीय रागहरू उनेर माला बनाउँदै रुद्राक्षभित्र लुकाउँथ्यो। किनकि फेरि अर्को बिहानी उसकहाँ आउनेछ र यात्रामा लिएर जानेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.