|

पोखरा : लागू औषध नियन्त्रण कार्यालय पोखराले हालै सार्वजनिक गरेको तथ्याङ्कले कास्कीमा करिब सात हजार लागू औषध प्रयोगकर्ता रहेको देखाएको छ। केन्द्रीय तथ्याङ्क विभागले २०६९ सालमा गरेको सर्वेक्षण अनुसार नेपालभरि लाषू औषध दुर्व्यसनीको संख्या ९१ हजार ५ सय ३४ रहेको र कास्की जिल्लमा मात्रै ६ हजार ९ सय १७ रहेको लागू औषध नियन्त्रण व्युरो कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र गुरुङले जानकारी दिए। 

उनका अनुसार कास्कीमा ६ हजार ४ सय १४ पुरुष र ५ सय ३ महिला लागूऔषध प्रयोगकर्ता छन्। सर्वेक्षण अनुसार जिल्लका आधारमा काठमाडौं र सुनसरीपछि कास्कीमा सबैभन्दा बढी लागू औषध प्रयोगकर्ता रहेका  छन्। त्यही सर्वेक्षण अनुसार लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ११.३६ प्रतिशत रहेको छ। कास्की जिल्लाको लागू औषधको आपराधिक तथ्याङ्क विश्लेषण गर्दा लगभग ६० प्रतिशत मुद्दा लागू औषधसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

जिल्ला कारागार कास्कीका थुनुवामध्ये लगभग ३० प्रतिशत लागू औषध मुद्दासँग नै सम्बन्धित रहेको पाइएको निरिक्षक गुरुङले बताए। सहरीकरण, पश्चिमा मुलुक प्रभाव, भारतसँगको खुला सिमानाका कारण लागू औषध प्रयोगकर्ताको वृद्धि डरलाग्दो अवस्थामा देखिएको प्रहरीको भनाइ छ। 

प्रहरी निरीक्षक गुरुङका अनुसार, पोखरामा गाजा, चरेश, ब्राउन सुगर, सुइका साथै चक्कीका रुपमा रहने औषधि बढी मात्रामा प्रयोगमा आउने गरेको छ। गाँजा, चरेश जस्ता लागू पदार्थ विशेष गरी बाग्लुङ, म्याग्दी, पर्वत, धादिङ, मकवानपुरका पहाडी क्षेत्रका उत्पादन भई पोखरा भित्रने र ब्राउन सुगरहरु भारतबाट आउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.