यसकारण फेरि तयार भए जिब्रो छेडाउन

|

बोडे (भक्तपुर) : चार पटक जिब्रो छेडाएर आठ वर्षअघि ‘अब पुग्यो’ भनेर बसेका बोडेका बुद्धकृष्ण बाग श्रेष्ठ नयाँ वर्षमा फेरि त्यसैका लागि तयार हुँदैछन्।

काठमाडौंबाट करिब १३ किलोमिटर टाढा रहेको बोडेमा बिस्केट जात्राअन्तर्गत प्रत्येक वर्ष वैशाख २ गते जिब्रो छेडाउने परम्परा छ। एक फिट लामो फलामको सियोले जिब्रो छेडिन्छ भनेको सुन्दै कतिको जीउ ‘सिरिङ्ङ’ हुन्छ होला। तर जो पाए त्यहीले जिब्रो छेडाउन पाउँदैनन्। त्यसका लागि बोडेकै नेवार, त्यसमा पनि श्रेष्ठ थरकै हुनुपर्छ।

शरीरलाई कष्ट दिने काम कोही किन गरोस्! त्यसैले हत्तपत्त कोही तयार भइहाल्दैन। यसो भन्दैमा बर्सेनि हुने यो परम्परा रोकिएको पनि छैन। एउटाले छोडेको भन्ने खबर पाउनेबित्तिकै अर्का तयार भइहाल्छन्। 

‘युगौंदेखि चलिरहेको संस्कृति जोगाउन कोही त चाहियो नि’ बुद्धकृष्णले भने, ‘त्यसैले आठ वर्षपछि फेरि आँटेँ।’ उनका अनुसार वैशाख २ गते जिब्रो छेडाउन सामान्यतय एक महिनाअघि नै तय भइसक्नुपर्छ। ‘नत्र तयारी गर्न गाह्रो हुन्छ’, उनले भने, ‘जात्रामा सहभागी हुन वा घरमा आउने टोलका र अरु मानिसलाई खुवाउने वस्तुको जोहो पनि गर्नुपर्‍यो नि!’

बिहीबार बोडेस्थित उनको घरमा पुग्दा परिवारलाई कामको चटारो थियो। श्रीमती कमला सहयोगीहरूसँग चिउरा केलाउँदै थिइन्। कान्छा छोरा पनि साथीहरूसहित व्यस्त देखिए। के गर्नु जात्रामा खुवाउनुपर्ने सामानको जोहो गर्नै पर्‍यो।

बुद्धकृष्णले २०६२ सालदेखि लगालग चार पटक जिब्रो छेडाए। ‘आमा बितेको वर्ष छाडेँ’, उनले भने, ‘त्यसै वर्षदेखि जुजुभाइ श्रेष्ठले जिम्मा लिए।’ आठ वर्ष परम्परालाई निरन्तरता दिएपछि जुजुभाइले यो वर्ष नसक्ने जनाए। 

जुजुभाइले छोडेपछि नयाँ पुस्ता कोही आउँछ कि भनेर कुरेर बसे बोडेबासी। त्यत्रो बोडेबाट परम्परा जोगाउँछु भन्ने उत्साही देखिएनन्। ‘केही दिन त कुरेरै बसेँ, कोही नयाँ आउँछन् कि!’, बुद्धकृष्णले भने, नआएपछि फेरि आँट गरेँँ।’

अघिल्लो वर्ष जिब्रो छेडाउन उनका कान्छा छोरा सुजनले इच्छा देखाएका थिए। चैतकै कुनै दिन बाबुछोरै गएर जुजुभाइलाई भेटे र प्रस्ताव राखे। तर जुजुभाइले भने, ‘दाइ मलाई नै छेड्न दिनूस्।’ यो वर्ष जुजुभाइले छोडे छोराले आँट देखाएनन्। बाबु नै अघि सरे।

पहिलो पटक जिब्रो छेड्दा ...

२०६२ सालमा उनी ३३ वर्षका लक्का जवान थिए। दाजु कृष्णचन्द्रले १२ पटक जिब्रो छेडिसकेका थिए। ‘मैले धेरै वर्ष छेडेँ। अब तँ छेड।’ दाइको वचन भुइँमा खस्न दिएनन्, बुद्धकृष्णले। ‘दाइले यत्रो वर्ष छेडाए भने मैले किन नसक्ने?’ भन्दै हौसिए। भन्छन्, ‘त्यो बेलाजतिको आँट त छैन तै पनि बोडेका नाक जोगाउन गर्नै पर्‍यो।’

दिनका हिसाबले अब एक हप्तामात्रै बाँकी छ, उनले पाँचौपटक जिब्रो छेड्न। चैतको अन्तिम दिन स्थानीय भाषामा ‘गुसिँगु’ भनिने प्रक्रिया हुन्छ। नजिकै जंगलबाट ल्याएको दाउरा साँझ टोलको मध्य भागमा बालिन्छ। ‘त्यसपछि केही खान हुँदैन। निराहार घरमै बस्ने, अन्यत्र नजाने, महिला तथा अन्य जीवजन्तुलाई नछुनेजस्ता नियम पालना गर्नुपर्छ’, उनी भन्छन्, ‘अलिकति मात्र नियम पुगेन भने देखिइहल्छ, आफूले गल्ती गरेको।’

फलानोले जिब्रो छेड्दैछ भन्ने थाहा पाएपछि टोलका मात्र होइन ठिमी भक्तपुरदेखिका श्रद्धालु घरमा आउँछन्। तिनलाई सगुन, प्रसाद दिएर स्वागत गर्नै पर्‍यो। समयबजी (भुटेको चिउरा भटमास, मासु इत्यादि मिसाएर देवतालाई चढाइने खानेकुरा), जाँडरक्सी खुवाउनै पर्‍यो। नेवारी जात्रापर्वमा यी दुई वस्तु नभई हुँदैन। 
भक्तपुर, ठिमी, नगदेश र बोडेमै पनि बिस्केटका विभिन्न प्रक्रिया चलिरहँदा जिब्रो छेडाउनेको परिवारलाई भने घरमा आएका पाहुनाको सत्कार गर्दै ठिक्क हुन्छ।

‘अघिल्लो दिन निराहार बसेका जिब्रो छेड्ने व्यक्ति २ गते सबेरै नदीमा नुहाउन जानुपर्छ’, नजिकै पर्ने मनहरामा नुहाएर फेरि घरमै फर्किने हो।’ नुहाउन जाँदा पनि अरुले छोइदेलान् भन्ने डर हुन्छ। साथीहरूसँगै लिएर जानुपर्छ। 

नुहाएर फर्केपछि जिब्रो छेड्ने व्यक्ति नाइके प्रधानको घर गएर निम्तो गर्ने चलन छ। त्यहाँबाट विशेष किसिमको पोशाक, शिरमा पगरी र पाउमा घुँघरु लगाएर घर फर्किर्नुपर्छ। निम्तो गरेका नाइके प्रधान, बाजा बजाउनेहरूलाई सगुन खुवाउनुपर्छ।

स्थानीय कालिका देवीको मन्दिरसँगै रहेको पाटीमा बनाइएको हुन्छ, जिब्रो छेड्ने मञ्च। मध्याह्न भएपछि पहिले त्यस ठाउँमा जान्छन्। त्यसपछि कर्मी नाइकेले सबै चाँजोपाँजो मिलाएर जिब्रो छेड्नेलाई लिन जान्छन्। बोडेभरका देवीदेवतालाई फूलपाती र धुपबत्ती गरेपछि मात्र सुरु हुन्छ, जिब्रो छेड्ने काम।


यतिञ्जेलसम्म टोलभरिका मानिस जम्मा भइसक्छन्। नजिकैका गाउँशहरदेखि विदेशीसम्मको घुइँचो हुन्छ। ‘कसरी छेड्ने होला हँ जिब्रो?’ ‘कस्तो प्रतिक्रिया जनाउलान्, जिब्रो छेड्ने क्रममा?’ पत्रकारदेखि पर्यटकसम्मकोे चासो हुन्छ। 

पहिले पहिले भक्तपुर, ठिमी र नगदेशका नाइके प्रधान जात्रामा सहभागी हुने चलन थियो रे! ‘खै अहिले त आएकै थाहा हुँदैन’, बुद्धकृष्ण भन्छन्, ‘आफूलाई जिब्रो छेड्ने चिन्ता भएर हो कि?’

मञ्चमा चढेपछि वरिपरि सयौं मानिसको हुल तर को को छन् भनेर हेर्ने ध्यान हुँदैन भन्छन् उनी। ‘मन एक किसिमको रोमाञ्चक भइदिन्छ, मैले आँटेको काम पूरा हुन लाग्यो है भन्ने विचार आउँछ।’ 

एक महिनासम्म तोरीको तेलमा डुबाएर राखेको सुइरो लिएर आएको देख्दा मनमा एक प्रकारको डर हुन्छ। वनको बाघले खाओस्/नखाओस्, मनको बाघले खायो भनेजस्तै। ‘सयौं मानिसको जय-जयकारमाझ जिब्रो छेडेको पत्तै पाइँदैन’,उनी भन्छन्, ‘सियो जिब्रोसम्म नलगुञ्जेलमात्रै हो। 

वैशाख महिनाको मध्याह्नको घाम। जिब्रो छेड्नुभन्दा अघि शरीर ‘हपहपी’ भइरहेको हुन्छ। ‘जब जिब्रो छेडिसकिन्छ, घाम नै मलिन हुँदे गएजस्तो’, उनी भन्छन्, ‘शरीरमा एक प्रकारको शाीतलता अनुभव हुन्छ।’

जिब्रो छेडिसकेपछि बाँस र निगालाले बनाइएको अर्धचन्द्राकार महादीप (स्थानीय भाषामा भ्ययः) बोकेर नगर परिक्रमा गर्नुपर्छ। प्रत्येक देवीदेवताको दर्शन गर्दै। पछाडि सयौं जनाको ताँती अघिअघि फोटो र टेलिभिजन खिच्नेको लर्को। 'त्यतिबेला भावना नै अर्कै हुन्छ। अर्कै लोकमा पुगेजस्तो शरीरमा देवता नै आएर बसेजस्तो', उनी भन्छन्, 'मानिसहरू देखिए पनि चिनिँदैनन्। नाङ्गै खुट्टा हिँड्दा पनि अप्ठ्यारो अनुभव हुँदैन।'

‘एक वर्ष जिब्रो छेडेकै भरमा अर्को वर्ष सजिलो हुने होइन’, बुद्धकृष्ण भन्छन्, ‘वर्षैपिच्छे नयाँ नयाँ अनुभव, शुरुमा डर उस्तै। रोमाञ्चकता उस्तै। गरिसकेपछि गर्व उस्तै।’ उनको भनाइअनुसार अघिल्लो वर्ष के भयो? कति दुख्यो? सबै बिर्सिएको हुन्छ। चिन्ता हुन्छ त एउटै, यो पटक के हुन्छ?

जब महालक्ष्मीको मन्दिरमा पुगेर सियो निकालिन्छ, त्यसबेलाचाहिँ अलि दुख्ने गरेको अनुभव सँगालेका छन् उनले। सियो निकालेर महालक्ष्मी थानको प्रसाद माटो जिब्रोमा लगाउने र नजिकैको गणेश मन्दिरको थाममा ठोक्ने चलन छ।

जिब्रो छेड्ने काम सकिएपछि उनी घर फर्किन्छन्। घरमा पाहुनाहरूको ताँती हुन्छ। खाने-पिउने माहोल हुन्छ। उनले यसबेला खाने त्यही समयबजी हो। त्यसदिन जिब्रो छेड्नेको घर मात्र होइन टोलभरि नै खाना पकाउनु हुन्न भन्ने मान्यता छ। 

बुद्धकृष्णको भनाइलाई आधार मान्ने हो भने जिब्रो छेडेको दुखाइ तीन/चार वा साता दिन रहन्छ। भोलिपल्टदेखि नियमित खाना खान हुन्छ। अलिअलि गर्दै खानेकुरा खाँदै जानुपर्छ।

चाँजोपाँजो मिलाउन र पाहुनाहरूलाई भोज खुवाउन जिब्रो छेड्नेले नै जोहो गर्नुपर्छ। जिब्रो छेडिसकेपछि स्थानीय निकायले खर्चबापत भनेर केही पैसा दिने गर्छ। आठ वर्षअघि जिब्रो छेड्दा नगरपालिकाबाट दश हजार रुपैयाँ थापेका थिए बुद्धकृष्णले। 

‘जिब्रो छेडेका दुई चार दिन त गाउँटोलमा देउतै भइन्छ’ बुद्धकृष्णले सोधे, ‘मन्दिर जानु'भा छ? पूजा नगरुञ्जेल मन्दिरका देवताको कति महत्त्व हुन्छ। पूजा सकेर घर फर्किएपछि तपाईं सम्झिनुहुन्छ? त्यस्तै हो, जिब्रो छेड्नेको हालत पनि।’

बाहिरको मान्छेले निकै श्रद्धाका साथ हेर्ने गरेको उनको अनुभव छ। ‘उहाँ नै हो जिब्रो छेड्ने मान्छे’ भन्छन्। आदर गर्छन्। कोही हेर्न पाइयो भनेर दंग पर्छन्। धाएरै भेट्न आउने पनि छन्।

कुन सालको जात्रा हो बिर्सिए, उनले। प्युठानकी एक वृद्धा जिब्रो कसरी छेडिँदो रहेछ भनेर हेर्न मञ्चनजिकै बसिन्। जिब्रो नछेडुञ्जेल ठेलमठेल कोचिएर बसिन्। जब बुद्धकृष्णको जिब्रो छेडियो, उनी बेहोश भइन्। उपचारपछि आएर भनिन्, ‘भगवान् देखेको थिइनँ। आज साक्षात् देखेँ।’ 

जात्रा हेर्न टाढा-टाढाका मान्छे आउँछन्। विदेशी अचम्म मान्दै सँगै बसेर फोटो खिचाउँछन्। यस्ता सन्दर्भले बुद्धकृष्णलाई उत्साहित बनाउने रहेछन्। 

देशकै चिनारीको रूपमा रहेको संस्कृति जोगाउन सरकारले चाहिँ चासो नदेखाएको हो कि भन्ने उनलाई लाग्छ। ‘अरु केही गर्नुपदैन’, उनी भन्छन्, ‘जात्रालाई व्यवस्थित पारिदिए हुन्छ। कम्तीमा संस्कृति जोगाउँछु भन्नेलाई प्रोत्साहन दिनुपर्छ।

‘धर्म–संस्कृति जोगाउन पो खोजेको त उनले भने पैसा कमाउन त काम गरिरहेकै छु। पैसा होइन सरकारले संस्कार जोगाउनेहरूलाई सम्मान गरिदिए मात्र पनि अरुलाई प्रेरणा हुन्थ्यो’, उनी भन्छन्। 

उनी १४ वर्षदेखि नेपाल-कोरिया मैत्री अस्पतालको एम्बुलेन्स चलाइरहेका छन्। जिब्रो छेड्ने भनेपछि अस्पतालले सहयोग नै गर्छ। ३-४ दिनको विदापछि उही दैनन्दिन सुरु हुन्छ,बुद्धकृष्णको ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.