|

धनुषा : मौसम अनुकुल भएपछि धनुषामा यो वर्ष गहुँ उत्पादनमा वृद्धि हुने भएको छ। गत वर्षको तुलनामा यो वर्ष गहुँ उत्पादन  करिब ३० हजार मेट्रिक टन वृद्धि हुने अनुमान रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष प्रति हेक्टर २.७७ मेट्रिक टनका दरले ९१ हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो भने, मौसम अनुकुल भएका कारण यो वर्ष प्रतिहेक्टर ३ मेट्रिक टनका दरले १ लाख २० हजार मेट्रिक टन भन्दा बढि गँहु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतले जानकारी दिए।

कार्यालयका अनुसार ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ४० हजार हेक्टरमा गहुँ लगाइएको थियो। सिंचाइ, बीउविजन, मलखाद र बजार व्यवस्था मिलाउन सके उत्पादन अझै बढ्ने किसानहरू बताउँछन् ।   

यसैगरी धनुषामा गत वर्षको तुलनामा यो वर्ष धानु उत्पादन समेत दोब्बर भएको छ। यस वर्ष धनुषामा दोब्बर धान उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२\७३ मा जिल्लामा ५६ हजार ३ सय ९० हेक्टर जमिनमा १ लाख ४५ हजार ५ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो। तर चालु आर्थिक वर्षमा ६५ हजार ५ सय ४० हेक्टर जमिनमा २ लाख २५ हजार ३ सय ९५ मेट्रिक टन धान उत्पादन भएको छ।

कृषि कार्यालय धनुषाका अधिकृत सुरेन्द्र गोइतका अनुसार गत वर्ष प्रति कठ्ठा दुई मन अर्थात् ८० किलोको दरले धान उत्पादन भएको थियो । तर, यो वर्ष १ सय ७० किलोसम्म धान उत्पादन भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.