राप्रपा हुनेछ निर्णायक

|
क्रमशः मिलन, टेक प्रसाद, विजय, देवी, नारायण र सूर्य।

चितवन : स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा चितवनमा पनि राजनीतिक दल र तिनका कार्यकर्तालाई चुनावले झपक्कै छोपेको छ।

जिल्ला र गाउँ तहमा चुनावी सरगम बढेको देखिन्छ। मुख्य गरी चितवनको भरतपुर महानगरपालिकामा ठूला दलका नेताहरुका लागि प्रतिष्ठाको विषय बनेको छ। त्यसैले दलको जिललादेखि केन्द्रसम्मकै ध्यान भरतपुरमा केन्द्रित भएको छ।

छोटो समय मै नगरपालिकाबाट उपमहानगर हुँदै र पुराना उपमहानगरलाई उछिन्दै महानगरपालिका बनेको हो भरतपुर। भरतपुरमा आउने प्रमुखले सांसदले भन्दा बढी आर्थिक श्रोत परिचालन गर्न पाउने छन्। आफ्नो प्रभाव जमाउन सक्ने भएकाले भरतपुरमा प्रमुख हत्याउने दाउ तीन ठूला दलको छ। हालै पार्टी एकता गरेको राप्रपा पनि आफ्नो शक्ति परिचालन गर्दैछ।

माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता रामबादुर थापाको घर यसै महानगरमा छ। संविधानसभा निर्वाचनका बेला तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले जितेको क्षेत्र नम्बर ४ समेत यही महानगरमा जोडिएको छ। नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले संविधानसभा चुनाव जितेको क्षेत्र नम्बर ३ पनि महानगरभित्रै छ। हालका भूमिसुधार मन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेले जितेको पश्चिम नारायणी नगरपालिका समेत भरतपुर महानगरमै मिसिएको छ।

अहिलेसम्म भरतपुरमा कुनै राजनीतिक दलले पनि औपचारिक रुपमा प्रमुख र उपप्रमुखको नाम तय गरेका छैनन्। चैतको अन्तिम हप्तामा सबैले नाम तय गर्ने जनाएका छन्। तैपनि फेसबुक लगायत सामाजिक सञ्जालमा धेरै नेताहरुको नाम चर्चामा छ।

मुख्य गरी चितवनमा कांग्रेस र एमालेका उम्मेदवारहरुको नाम छरपष्ट भएपनि माओवादी केन्द्रमा कडा सर्कुलर देखिएकाले नाम समेत खुलेर बाहिर आउन सकेको छैन। झण्डै ३ लाख जनसंख्या रहेको भरतपुरमा जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार १ लाख ५१ हजार ६४१ मतदाता छन्।

मतदान स्थल ६५ वटा तोकिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउँछन्। २ नगरपालिका र एक उपमहानगर तथा कविलास गाविस मिसाएर भरतपुर महानगर बनेको हो। यसका २९ वडा छन्। निर्वाचनपछि यहाँ कुल सबै क्षेत्र गरेर १५० जनप्रतिनिधि चयन हुने छ।

कांग्रेसको प्रतिष्ठाको विषय बन्दै भरतपुर महानगर

संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ दुवै पटक कांग्रेसे जित्यो। तत्कालीन पार्टी सभापति सुशील कोइरालाले जितेको क्षेत्रको उपनिर्वाचनमा पनि कांग्रेसकै रामकृष्ण घिमिरेले जिते।

अहिले क्षेत्र नम्बर ४ पुरै महानगरमा मिसिएको छ। क्षेत्र नम्बर तीनमा समेत कांग्रेस बलियो प्रतिद्वन्द्वीको रुपमा उभिएकाले उसलाई यो प्रतिष्ठा जोगाउने ठूलो चुनौती छ। कांग्रेसले उम्मेदवारको जिल्लामै नाम तय गर्ने एउटा संयन्त्र तयार पारेको छ। संयन्त्रले काम गरिरहेको कांग्रेस सभापति जीतनारायण श्रेष्ठ बताउँछन्।

तर औपचारिक घोषणा नहुँदै कांग्रेसमा  कृषि विश्वविद्यालयका पूर्व रजिष्टार डा. सूर्यकान्त घिमिरे, हालका कोषाध्यक्ष शंकर कँडेल, टेकप्रसाद गुरुङ, पृथ्वीमान गुरुङ, तोपमानसिंह गुरुङ, ऋषि पाण्डे र मिलनबाबु श्रेष्ठको नाम चर्चामा छ।

यद्यपि युवाहरुलाई हस्तान्तरण गर्नुपर्ने आवाज पनि उठिरहेको छ। युवाहरुबाट राजेश्वर खनाल, दिनेश कोइराला, भरत अधिकारी, प्रकाश अधिकारी, व्यवसायी विजय भुषाल पनि आकांक्षी देखिएका छन्। 

एक नेताका अनुसार जिल्ला संयन्त्रले निर्णय गरेमा  सूर्यकान्त र शंकर कँडेलको सम्भावना बलियो छ। देउवाको पल्लाभारी भएमा तोपमानसिंह र पृथ्वीमान सिंह गुरुङ या ऋषि पाण्डे र मिलनबाबु श्रेष्ठको सम्भावना पनि छ। उपप्रमुखमा महिलालाई दिने तयारी स्वरुप कांग्रेसमा सरिता केसीको नाम चर्चामा छ।

महानगर प्रमुख हत्याउने दाउमा एमाले

चितवन क्षेत्र नम्बर तीन भरतपुर महानगरपालिकाको मुख्य क्षेत्रमा पर्छ। त्यो क्षेत्र संविधानसभा निर्वाचनमा हालका पार्टी अध्यक्ष कृष्णभक्त पोखरेलले जितेका थिए। त्यसैले पनि प्रतिष्ठा जोगाउन एमालेलाई पनि ठूलै चुनौती छ ।

एमालेमा धेरै आकांक्षी देखिएपनि मुख्यतया तीन जना बलियो प्रतिष्पर्धीमा देखिन्छ। त्यसमध्ये विजय सुवेदी र देवी ज्ञवाली मुख्य प्रतिष्पर्धी हुन्। देवी ज्ञवालीसँग विगतमा उपमेयर बनेको अनुभव भएकाले उनले आफ्नो एजेन्डा त्यसैलाई बनाएका छन्। तर विजय सुवेदी चितवन गुरुयोजना निर्माण समितिका संयोजक भएका र तीनपटकसम्म जिल्ला पार्टी प्रमुख बनेका र अन्य पार्टीले समेत मनपराउने नेतामा पर्ने एक नेताले बताए। उनीहरु दुबैजना केपी ओली पक्षका हुन्।

पार्टी उपाध्यक्ष बामदेव गौतम निकटका नेता केशवलाल श्रेष्ठ पनि प्रमुखमा आकांक्षी छन्। फेसबुकमा घनश्याम भट्टराई, डा. तिलचन्द्र भट्टराई, बद्रि अधिकारी, दिलकुमारी रावल, अरुणपीडित भण्डारीको पनि नाम चर्चामा छन्। दिलकुमारी प्रमुख नपाएमा उपप्रमुखको टिकट पाउनेमा प्रमुख पर्छिन्। उनी एमालेको महिला नेतामा अब्बल गनिन्छिन्।

एमाले अध्यक्ष कृष्णभक्त पोखरेल आन्तरिक रुपमा अहिले सम्भावित उमेद्वारहरुको मत सर्वेक्षण भैरहेको बताउँछन्। उनले प्रमुख र उपप्रमुखका लागि एक महिला पर्ने गरी तीन जनाको नाम सिफारिस गरेर पठाउने र महानगरको उम्मेदवार स्थायी समितिले तय गर्ने जानकारी दिए।

माओवादी केन्द्रमा प्रचण्डको प्रतिष्ठाको विषय

पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा माओवादीका नारायण दाहाल निर्वाचित भएका थिए। दोस्रो चुनावमा निर्वाचित हुन नसके पनि भरतपुर माओवादीको पकड राम्रो छ।

त्यसमाथि भरतपुर हालै पार्टीमा फर्किएका रामबहादुर थापा बादलको घर र माओवादी अध्यक्ष प्रचण्डको घर समेत रहेकाले उनीहरुका लागि यहाँको जित प्रतिष्ठा बन्न पुगेको छ।

नेता घनश्याम दाहाल अविनास उत्साहजनक र उभार देखिएको भन्दै पार्टीप्रतिको आकर्षण बढेकाले अहिले जित्दे दावी गर्छन्। उनका अनुसार पार्टीले चैत २५,२६ तिर उम्मेदवार तोक्नेछ।

श्रोतका अनुसार पार्टीको निर्णय विनै नाम चर्चामा ल्याए कारबाही गर्ने चेतावनी माओवादी केन्द्रले दिएकाले धेरै नाम चर्चामा छैन। करोडौंको चितवन प्याकेज घोषणा गरेर प्रधानमन्त्री प्रचण्डले कार्यकर्ताको मन जित्ने काम गरेका छन्। त्यसैले विगतमा भन्दा कार्यकर्ताको उत्साह देखिएको छ भने माओवादी गतिविधि पनि बढेका छन्।

माओवादी केन्द्रबाट मुख्यगरी पहिलो संविधानसभा सदस्य बनेका नारायण दाहाल, अर्का नेता सूर्य सुवेदी पथिक, घनश्याम दाहाल अविनास, ठाकुर ढकाल, खेमराज भट्ट, मित्रराज दवाडीको नाम चर्चामा छ। त्यसमध्ये नारायण दाहाल र पथिक अग्रपंक्तिमा छन्। प्रचण्डको भाइ भएकाले दाहालको संभावना बलियो देखिन्छ।

यद्यपि रामबहादुर थापासँगै माओवादी केन्द्रमा वैद्य नेतृत्व छाडेर आएका पथिक पनि बलियो उम्मेदवार हुन्। तर पथिक माअ‍ेवादी चितवनको नेतृत्व लिएर गएपछि पछिल्लो समयमा उनको सहभागिताको कमी महसुस गरिएको छ।

राप्रपाले पार्न सक्छ उथल पुथल

राप्रपा नेपाल र राप्रपामा मिसिएपछि केही बलियो देखिएपनि उसका गतिविधि हालका भूमिसुधार मन्त्री विक्रम पाण्डेको क्षेत्र क्षेत्र नम्बर पाँच मात्रै पकड छ। क्षेत्र नम्बर पाँचको नारायणी नगपालिका क्षेत्र समेत भरतपुर उपमहानगरमा मिसिएकाले उसले जित्न नसकेपनि मत परिणामको जोड घटाउमा बलियो छ राप्रपा ।

त्यसैले तीनवटै ठूला पार्टीले राप्रपाको मतको मूल्यांकनलाई पनि जितको आधार मानेका छन्। उसले कसको बढी मत काट्छ भन्ने आधार खोज्दैछन् तीन पार्टी।

पछिल्लो समयमा ततकालिन राप्रपा नेपालमा देखिएको लहर बढ्न सक्ने सम्भावनाका कारण राप्रपाले कमल थापा निकट मानिएका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिनालाई बलियो उम्मेदवार मानेका छन्। ‘सबैले मलाई भनेका छन्, हेरौं के हुन्छ’ तिमिल्सिनाले भने। उनका अनुसार विष्णु खराल पनि उमेदवारकाे लाइनमा छन्।

संस्थापनको पक्षबाट हेर्दा चेतनाथ वाग्ले समेत आकांक्षी रहेका छन्। पार्टीको चैत २८ गतेको बैठकले उम्मेदवार तय गर्ने तिमिल्सिना बताउँछन्। उपप्रमुखमा मीना न्यौपानेको नाम चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.