|

कपिलवस्तु : लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा कपिलवस्तुमा युवा नेताहरूको दावेदारी बाहुल्य देखिएको छ। अधिकारसम्पन्न स्थानीय जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाकोे प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष पदका लागि ठूला दलमा युवा नेताहरूले दावेदारी पेश गरिरहेका छन्।  

सबैभन्दा ठूलो र पुरानो कपिलवस्तु नगरपालिकामा मेयर तथा उपमेयरको दाबेदारीमा युवा अगुवा तथा नेताहरू बढी देखिएका छन् । माओवादी केन्द्रका सन्तोष नाउ, किरण जिसी र मनिश कार्की,  कांग्रेसका युवा नेता प्रकाश घिमिरे, शोहरत तेली, प्रकाश गैरे, तमलोपाका अखिलेश गुप्ता, सुदीप पौडेल, फोरमका बलराम तिवारीले मेयरमा आफ्नो दाबेदारी पेश गरेका छन् । नयाँ संरचनाको नगरपालिका र गाउँपालिकामा नयाँ योजनासहितका युवाहरूलाई प्राथमिकता दिन उनीहरूले पार्टी नेतृत्वसँग माग गरेका हुन् ।

कुल मतदाता संख्याको ४२ प्रतिशत युवा रहेको बाणगंगा नगरपालिकाको उम्मेदवार दाबीमा पनि युवाकै बर्चस्व देखिएको छ। माओवादीबाट हुमनाथ पौडेल, विष्णु बेल्बासे र कृष्ण कुवँर, एमालेबाट चक्र अर्याल, कांग्रेसबाट विष्णु थापा, रुक बहादुर भुसालले मेयरमा लड्दैछन्। नयाँ पुस्ताको योजना–नयाँ पुस्तालाई जिम्मेवारी भन्दै अबको निकाय युवामय हुनुपर्ने उनीहरूको भनाइ छ।

शिवराज नगरपालिकाको माओवादीतर्फका मेयरका दाबेदार युवा नेता अर्जुन सापकोटाले पनि अबको युग युवाहरूको भएकाले नेतृत्वपंक्तिमा युवाहरूको बर्चस्व हुनुपर्ने बताउँछन्। नयाँ संरचना सहितको नगरपालिका हाँक्नका लागि एमालेबाट युवा नेता महादेव पोख्रेल तथा राप्रपाका अजय थापाले पनि दाबी गरेका छन्। कांग्रेसबाट भने चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेद मिया मेयर पदका लागि लड्दैछन्।

विजयनगर गाउँपालिकामा पनि तीन ठूला दलमा युवाहरूको बलियो दाबेदारी देखिएको छ । माओवादीबाट दिनेश चापागाईं, एमालेबाट गोपाल बहादुर थापा, कांग्रेसबाट राजेश उपाध्यायले दाबी गरेका छन् । मधेशवादी दलहरूले भने अहिले सम्म उम्मेदवारको चर्चा अघि सारेका छैनन्। यसैगरी महाराजगञ्ज नगरपालिकामा माओवादीका युवा नेता विजय प्रकाश जैसवाल, तमलोपाबाट गंगेशनाथ तिवारीले मात्र मेयरमा उम्मेदवारी दिने भएका छन्।

भूगोलमा जिल्लाकै ठूलो बुद्धभूमि नगरपालिकामा पनि युवाहरूको दाबेदारी बलियो छ । नेपाली कांग्रेसबाट कृष्ण बन्जाडे, एमालेबाट राजेन्द्र सुवेदी, माओवादीबाट भोजराज गैरे, रुद्रलाल बन्जाडेको दाबेदारी छ। थारु समुदायको बाहुलयता रहेको उक्त नगरपालिकामा थरुहट तराई पार्टीबाट पनि जंजिर थारुको मेयरमा दाबेदारी छ। मधेशवादी दलको बाहुल्य देखिएको यशोधरा गाउँपालिकामा कांग्रेसबाट गिरिजेश पाण्डे, एमालेबाट रामलखन जैसवाल, तमलोपाबाट राकेश पाठक, तथा माओवादीबाट दिपक गिरीले दावेदारी प्रस्तुत गरेका छन् ।
 
जिल्लाका स्थानिय निकायमा पुरानै उम्मेदवार, संविधान सभामा पराजित तथा राजनीतिक दलका पदाधिकारीले दाबेदारी गरेपछि युवाहरूले अबको राजनीति युवाको हातमा हुनुपर्ने माग राख्दै आएका छन् । जिल्ला स्तर, केन्द्र स्तर तथा पाका नेताले स्थानिय निकायमा जुध्न नछाड्दा आफूहरूको राजनीतिक भविष्य संकटमा परेको गएको भन्दै उनीहरूले युवा मत हात पार्न अाफूहरूलाई अघि बढाउन आग्रह समेत गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.