फिचर

दामन बन्यो पर्यटकको आकर्षण, वार्षिक ८१ हजार आन्तरिक पर्यटक पुग्दा कति पुग्छन् विदेशी?
SHARES

संसारकै १० अग्ला हिमालहरुमध्ये ८ वटा हिमालहरु दामनबाट देखिन्छ

चैत २७, २०७३

    मकवानपुर (दामन): नेपालको आकर्षक गन्तव्य मानिने मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा प्रयेक वर्ष  संख्या पर्नियटकको संख्या निरन्तर बढ्दै गएको छ। करिब १० वर्ष पहिले ९० प्रतिशत विदेशी पर्यटक पुग्दा १० प्रतिशत मात्रै स्वदेशी पर्यटक पुग्ने दामनमा अहिले भने स्वदेशीको घुइँचो छ।

    आन्तरिक पर्यटक वृद्धि हुन थालेपछि दामनमा २५ वर्षदेखि सञ्‍चालित एक मात्र रिसोर्ट एभरेष्ट पानोरमा रिसोर्टले अहिले आन्तरिक पर्यटकलाई केन्द्रित गरेर कार्यक्रमहरु बनाउन थालेको छ। 'कुनै समय ९० प्रतिशत विदेशी र १० प्रतिशत आन्तरिक पर्यटक आउँथे, अहिले भने ठीक उल्टो १० प्रतिशत विदेशी र ९० प्रतिशत आन्तरिक पर्यटकहरु आउने गरेका छन्' रिसोर्टका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी सुदेश गौतम क्षेत्रीले भने। दामनमा रहेको एक मात्रै रिसोर्ट भएको कारण पनि पानोरमा रिसोर्टमा पर्यटक बस्‍नुपर्ने हुन्छ।

    पानोरमा रिसोर्टमा रहेका ३० वटा कोठा  (दुई डबल बेड र १ सिंगल बेड) प्राय खाली नहुने क्षेत्री बताउँछन्। 

    खर्चालु नेपाली

    रिसोर्टमा पुग्ने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीहरुले बढी खर्च गर्ने गरेको रिसोर्ट सञ्‍चालकको अनुभव छ। 'विदेशीहरु रुम बुक गरे पनि त्यति धेरै खर्च गर्दैनन् नेपालीहरु भने खान  तथा रमाइलो गर्ने खोज्ने गर्छन्' क्षेत्रीले भने। केही दिनअघि मात्रै तथ्यांक विभाले सार्वजनिक गरेको प्रतिवेदनले समेत नेपालीहरुको खर्च गर्ने क्षमता बढ्दै गएको देखाएको थियो। जसअनुसार नेपालीको प्रतिव्यक्ति खर्च गर्ने क्षमता वार्षिक ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ।

    दामनमा पुग्ने पर्यटकहरुमा  नेपालीको तुलनामा लामो समय बस्ने भए तापनि उनीहरु अध्ययन तथा लेखनको लागि लामो समय बिताउने गर्छन्। नेपालको विशेषगरी काठमाडौं, विराटनगर, चितवन र पोखराबाट बढी पर्टकहरु आउने गर्छन्। विदेशी पर्यटकमा बढी भने भारतका पर्यटक आउने गरेका छन्।

    किन जान्छन दामन?

    मकवानपुरको थाहा नगरपालिकामा दामन नेपालको आकर्षक पर्यटकस्थल मध्यमा पर्छन्। विशेषगरी अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत संसारकै १० अग्ला हिमालहरुमध्ये ८ वटा हिमालहरु दामनबाट हेर्न सकिन्छ।

    दुई हजार ६ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्युटावर पनि छ। राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवनलगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन जाने गर्छन्। हिउँदमा हिउँ परेर दामन सेताम्मे हुन्छ।

    दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो। थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ। दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको  पदमार्ग रहेको छ।

    दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरसमेत रहेको छ। विशेष गरी सूर्य उदाएको र सूर्य अस्ताएको प्रस्‍ट हेर्न सकिनुका साथै सूर्य अस्ताउँदा ४ किसिमको कलर म्याचिङ देख्‍न सकिन्छ। टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्‍वालीले छाएका परम्परागत बस्तीहरु रहेका छन्।

    प्रत्येक वर्ष १ रुपैयाँ बढाएर विशेष प्याकेज?

    दामनस्थित एभरेस्‍ट पानोरमा रिसोर्टले नयाँ वर्षको अवसरमा पछिल्लो ५ वर्षदेखि विशेष प्याकेज सार्वजनिक गर्दै आएको छ।

    २०६८ सालदेखि नयाँ वर्षको अवसरमा विशेष प्याकेज सुचारु गरेको रिसोर्टले यस वर्ष पनि आहा दामन विशेष कार्यक्रम ल्याएको छ। आन्तरिक पर्यटकलाई केन्द्रित गरेर ल्याइएको यो कार्यक्रमअन्तर्गत रिसोर्टले एक रातको प्रतिव्यक्ति २ हजार ७४ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ।

    यो मूल्यमा एक रात बसाइ लन्च डिनर र ब्रेकफास्‍ट उपलब्ध हुनेछ। यो विशेष कार्यक्रम वैशाख महिनाभरि सञ्‍चालन गरिने प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले बताए। 'हामीले २०६८ सालदेखि जति वर्ष त्यति नै पैसा गरेर विशेष कार्यक्रम लिँदै आएका छौ, यो वर्षमा पनि वैशाख महिनाभरि यस्तो सुविधा दिइने छ' क्षेत्रीले भने। सामान्य अवस्थामा यही सुविधाको लागि ३१ सय ७० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

    (फोटो: एभरेस्ट पानोरमाको फेसबुक पेजबाट)

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]