|

विदुर कटुवाल-

    उदयपुर : उदयपुरको पहाडी वन क्षेत्रमा पाइने सल्लाको अवैध रुपमा खोटो संलन गर्दा सल्लाकै वन क्षेत्र जोखिममा परेको छ। सामुदायिक वनका पदाधिकारी, ठेकेदार र वन कर्मचारीको मिलेमत्तोमा मनपरी खोटो संकलन गर्दा सल्ला वन जोखिममा परेको हो।

    जथाभावी सल्लाको रुखलाई खोपेर खोटो निकाल्दा सल्लाकै रुख मर्न थालेको ताप्ली गाउँपालिका–१ ओख्लेका प्रेम हमालले बताए। ‘बारम्बार एउटै रुखबाट खोटो संकलन गर्ने कार्यले रुखनै मर्न थालेका छन्,’ उनले भने, ‘सामुदायिक वनका पदाधिकारी, ठेकेदार र वन कर्मचारीको मिलोमतोमा खोटो संकलन गर्दा अहिले सल्लाका रुख सुक्न थालेको छन्।’

    यसरी जिल्ला भित्र रहेका एक दर्जनबढी सल्ला पाइने वन क्षेत्रबाट अवैध खोटो संकलनले सल्लाकै वन क्षेत्र मासिने भएको छ। रौतामाई गाउँपालिका ३ लाफागाउँ अन्तर्गतका कौशिका सावउस, सल्लेनी पधेरी सावउस पाकना, नव उदय लगायतबाट अवैध रुपमा खोटो संकलन गरिन्छ।

    मध्य पहाडी क्षेत्रमा पर्ने उदयपुरको भुभागमा विशेष गरेर कोसी गढतिरमा बढी मात्रमा सल्लाको वन क्षेत्र छ। त्यस वन क्षेत्रमा गठन भएका सामुदायिक वन समूहका पादधिकारीले जिल्ला वनबाट लिएको अनुमतिभन्दा बढी खोटो संकलन गरेर मुनाफा कमाउने गरेका छन्। ‘सावउसका पदाधिकारी, ठेकेदार र सेक्टर वनका कर्मचारीको मिलेमत्तोमा खोटोको तस्करी हुन्छ,’ चुनाव आएको छ, नाम तोकेर के भन्नु भन्दै सुनकोसी गाँउपालिका १ का भीम राईले भने, ‘पहाडी क्षेत्रमा पाइने सल्लाको वननै सखाप हुने भयो।’

    नेपाल सरकारको खोटो संकलन कार्यविधि २०६४ विपरीत खोटो संकलन गर्दा एक दर्जन सामुदायिक वनका सल्लाका रुख सुकेर मर्न थालेका छन्। खोटो संकलक कार्यविधिले खोटो निकाल्ने रुखको जमिनबाट १ मिटर ३० सेन्टिमिटरमाथि व्यास भएका रुखबाट मात्र खोटो निकाल्नु पर्ने हुन्छ। तर, त्यसको ठिक उल्टो गरी निकाल्ने गरिन्छ। कार्यविधिमा खोटो निकालने सल्लाको ३६ इन्चभन्दा कम खोप्नुपर्ने हुन्छ, तर, बढी खोटो निकाल्नको लागि ठूलो प्वाल बनाउँदा सल्लाकै रुख मर्ने गरेको स्थानीयको गुनासो छ।

    खोटो निकाल्न प्रयोग गरिने तेजाव लगायतका केमिकल आवाश्यकताभन्दा बढी प्रयोग गर्नाले रुख मर्दै गएको पाइने गरेको वन प्राविधिकहरुको भनाइ छ। यस्तै, खोटो संकलन योग्य रुखमध्ये प्रतिहेक्टर पाँचवटा स्वस्थ रुखलाई छाड्नुपर्ने हुन्छ। तर, वन भेटेका खोटो आउने सबै रुखबाट खोटो निकालिन्छ। खोटो निकालेपछि रुखको चोटमा गोबर र माटोले प्लाष्टर गर्नुपर्ने हुन्छ। तर, त्यसै छाड्ने प्रवृत्तिले गर्दा पनि सल्लको रुख भएको वन क्षेत्र स्वाहा हुने सरोकारवालाको भनाइ छ।

    जिल्लामा २ हजार २ सय हेक्टर क्षेत्रफलमा सल्लाको वन रहेको जिल्ला वन कार्यलयले जनाएको छ। प्रत्येक आर्थिक बर्ष यस क्षेत्रका वनबाट २ लाख किलो खोटो निकाल्न सकिने जिल्ला वन कार्यलयका साहयक वन अधिकृत लालबाबु यादवले बताए। ‘गएको आर्थिक वर्षमा १ लाख ६६ हजार दूई सय आठ किलो मात्र सल्लाको खोटो बिक्री भएको थियो।’

    अधिकृत यादवले भने, ‘गाउँमा ठेकेदार, वन कर्मचारीको मिलेमत्तो हुने गरेको गुनासो गाँउबाटै आउने गरेको छ।’ यादवका अनुसार जिल्ला वनले गाँउबाट आएका गुनासोका अनुगमन समेत गर्ने गरेको सुचना अधिकारीसमेत रहेका अधिकृत यादवको भनाइ छ। सौन्दर्यको सामान, विभिन्न औषधि र अत्तरहरु निर्माण गनको लागि सल्लाको रुख खोटो संकलन गर्ने गरिन्छ। उदयपुरको खोटो दिव्य रोजिन एण्ड टर्पेन्टाइन प्राली झोराहाट, मोरङले गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.