|

लहान : साविकको सुखीपुर नगरपालिका कायम गराउन माग गर्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको आह्वानमा गाउँपालिका कार्यालयको मुख्यद्वारमा पछिल्लो पाँच दिनदेखि अनशनरत ६ जनाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

अनिश्चितकालीन आमरण अनशनमा बसेकाहरुलाई शुक्रबारदेखि नै स्लाइन चढाइएको छ। पछिल्लो बुधबार अपराह्नदेखि सुखीपुर गाउँपालिका कार्यालयको बरण्डामै अनशन थालेका समितिका संयोजक वि.पी. भुवन यादव तथा सदस्यहरु हरेराम यादव, रामकिसुन यादव, रामभरोस साह, विन्देश्वर पञ्जियार र रामकुमार यादवको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो। 

इलाका स्वास्थ्य चौकी सुखीपुरका ईञ्चार्ज राजदेव यादवसहित स्वास्थ्यकर्मीको टोलीले अनशनमा बसेकाहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्दै आएको छ। अनशनमा बसेकाहरुलाई डिहाइड्रेसनसँगै रक्तचाप कम हुँदै गएपछि स्लाइन चढाउनु परेको यादवले बताए।

सुखीपुरलाई नगरपालिका कायम गराउन तालाबन्दी, धर्ना जिल्ला समन्वय समितिमा ज्ञापन पत्र, पूर्व पश्चिम सडक खण्डको अवरोध, स्थानीय बजार बन्द गर्दासमेत सुनुवाइ नभएपछि आमरण अनशनमा बस्नु परेको जानकारी दिँदै संघर्ष समितिका संयोजक यादवले नगरपालिका कायम नगरिएसम्म अनशन नतोड्ने अडानबाट पछि नहट्ने बताए।

वि.सं.२०७२ असोज १ गते तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको करिब १७ महिनापछि गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ।  

मन्त्रीको प्रयास असफल

नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले शनिबार राति ८ बजेतिर अनशनमा बसेकाहरुलाई भेटेर अनशन तोडाउन गरेको प्रयास असफल भएको छ।

मन्त्रीको आग्रहलाई अस्वीकार गर्दै अनशनकारीहरुले ‘कि नगरपालिका, कि हाम्रो मृत्यु’ भन्ने अडान राखेका छन्। शान्तिमन्त्री यादवले ‘आगामी क्याबिनेट बैठकमा नगरपालिका कायम गराउन पहल गर्छु,’ भन्दै फर्किएकी स्थानीय रोयाण्टर मण्डलले बताए।
 
सांसद्को जिल्ला नटेक्ने उद्घोष

नेपाली कांग्रेस सिरहाका सभापतिसमेत रहेका सिरहा क्षेत्र नं. ४ का सांसद रामचन्द्र यादव अनशन तोडाउन शनिबार बिहान जुससहित अनशनस्थल पुगेपनि अनशनकारीहरुले नमानेपछि ‘सुखीपुर नगरपालिका कायम नभएसम्म जिल्लामा पाइला टेक्दिन’ भन्दै फर्किएका छन्।

अनिश्चितकालीन आमरण अनशनमा बसेकाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि जिल्लास्थित मुख्य दलका नेताहरु दिनहुँजसो अनशनस्थल पुगेर अनशन तोडाउने प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टीका जिल्ला स्तरीय नेताहरु ‘जिल्लामा सर्वदलीय समितिमार्फत् नगरपालिका कायम गराउन माथिल्लो निकायसम्म पहल गर्ने’ प्रतिबद्धता जनाइरहेका छन्। अनशनस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरीहरु तैनाथ गरिएका छन्।

हाम्रो हातमा छैन - एलडीओ

जिल्ला समन्वय समिति सिरहाका संयोजक तथा स्थानीय विकास अधिकारी सुरेशकुमार राउत साविकको नगरपालिका कायम गराउन मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने बताउँछन्। ‘त्यसका लागि फागुन अन्तिम साता नै सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौं,’ स्थानीय विकास अधिकारी राउतले भने, ‘स्थानीय तहको पुनःसंरचनामा सुखीपुरलाई गाउँपालिका कायम गरिएपछि उत्पन्न समस्याको निकासका लागि मन्त्रिपरिषद् बैठकको निर्णय पर्खिनुको विकल्प छैन।’

त्यस्तै, सिरहा नगरपालिकाको वडा नं. १८ लक्ष्मिनियाँ, वडा नं. १९ सन्हैठा, वडा नं. २० लगडिगदियानी र वडा नं. २२ हकपारासहित औरही गाउँपालिकामा परेको ईंट्टाटार कृष्णपुरका बासिन्दाले छुट्टै गाउँपालिका माग गरेको विषयमा पनि माथिल्लो निकायमा पत्राचार भइसकेको स्थानीय विकास अधिकारी राउतले बताए।

स्थानीय तहको पुनःसंरचनामा छुट्टै गाविसको रुपमा रहेका लक्ष्मिनियाँ, सन्हैठा, लगडिगदियानी, हकपारालाई सिरहा नगरपालिकाको वडा नं.१८, १९, २० र २२ को रुपमा गाभेपछि औरही गाउँपालिकामा परेको इँटाटार कृष्णपुरका बासिन्दाले छुट्टै गाउँपालिका माग्दै आन्दोलन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.