|

कास्की : नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङ स्टेज उक्लेर ‘ए साइँला’ र ‘ए साइँली’को भाकासँगै तन्नेरीहरू उफ्रिन थाले। गुरुङको यो भाकापछि 'चरी मर्‍यो सिसैको गोलीले…' गाउनेछन् भनेर झुमिसकेका थिए पोखरेली नेपथ्यप्रेमी।

'सिल्भर जुब्ली' अर्थात् रजत महोत्सव अभियानमा ‘फेरि उठ्ने छ नेपाल’ कन्सर्टमा भने नेपथ्यले बेग्लै खाले प्रस्तुति दियो। लगातार दुई घण्टासम्म चलेको प्रस्तुतिमा त्यो गीत गाइएन। उक्त गीतमा नाच्नका लागि तयार तन्नेरीहरू आश्चर्य परे।

यसरी भाकाले झुक्किएका भए पनि जुन गीत सुनाइयो, त्यसले पोखरेलीहरूलाई आफ्नै गाउँघरको झल्को दियो। त्यो गीत थियो:

‘मर्दी खोला घुम्दै आएँ है,

साइँली-माइली मेलैमा’

नेपथ्यका प्राय: कन्सर्टमा नसुनिने गीतले पोखरेलीहरूलाई भरपूर मनोरञ्जन दियो। यो गीतले पोखरेली सेरोफेरोलाई बयान गरेको छ।

एक हुल युवतीसँगै छमछमी नाचिरहेका थिए बाँझपाटनका राजकुमार गुरुङ र उनका सोल्टी सन्तु गुरुङ। लगत्तैको गीतमा भने सन्तुले आफुलाई थाम्न सकेनन्। किनभने स्टेजमा अमृत  गुरुङ  गाउन थालेका थिए, ‘जोमसोमे बजारमा, ए हजुर। घर हाम्रो पोखरा।’ गीत सुनेपछि सन्तुले नाच्दैगरेका राजकुमारलाई ताने, ‘ए सोल्टी, अलिक काँध देऊ त। चढ्नु पर्‍यो।’ १२ कक्षामा पढ्दै गरेका राजकुमारले सन्तुलाई काँधमा चढाए र गीतको अवधिभर रमाइलो गरे।

‘लास्ट मजा आयो,’ काँधबाट ओर्लदै गर्दा सन्तु भनिरहेका थिए, ‘नेपथ्य भनेको त हाम्रो पोखराको गौरव पो हो।’

चार वर्षपछि गृहजिल्लाका संगीतप्रेमीमाझ पुगेको नेपथ्यको पहिलो प्रस्तुतिको गीत भने पोखराका साहित्यकार सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेको गीत ‘कुरूप अनुहार हो, यहाँ कुनै साथी छैन’ थियो।

नेपथ्य ब्याण्डको जन्मथलो भनेर पनि चिनिने पोखरामा नेपथ्यले, ‘भेँडाको ऊन जस्तो’, ‘आमा हुन साह्रै असजिलो छ’ र ‘आमाको कोखमा वास मात्रै लिएँ नि, कुन देशको मरन हौ हाजुर’ गीत प्रस्तुत गरेका थिए।

नेपथ्यले रजत वर्ष उत्सवको पहिलो कन्सर्ट गरेको हो पोखरामा। कन्सर्टमा गुरुङले पोखरेलीहरूलाई भने, ‘हामी खेलेर हुर्केको यो ठाउँलाई पहिले जस्तै सुन्दर राखिदिनुस् है।' स्थानीय निर्वाचनले पोखरालाई छोइसकेको सन्दर्भमा गुरुङले हात जोडेर भने, ‘कुन दलको मानिस भनेर होइन, पोखरालाई माया गर्ने असल मानिसलाई छानेर जिताइदिनुस्।’

कन्सर्टमा विदेशी पर्यटकले समेत मनोरञ्जन लिएका थिए। पोखरा कन्सर्टको अन्तिम गीत बन्यो रवीन्द्र मिश्रले लेखेको ‘तिमी पनि नेपाली, म पनि नेपाली…।’

पोखराको कन्सर्टबाट संकलन भएको रकम नेपथ्यले कास्कीको ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मा.वि. र बाँसखर्क सल्यानस्थित भुमेश्वर प्रा.वि.लाई प्रदान गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.