|

  • रमेश रावल-

कालिकोट : तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित १० वर्षे जनयुद्ध उत्कर्षमा रहेका बेला ‘गाउँबस्ती रताम्मे भए गोली र संगिनले’ भन्ने गीत गाएर सयौँलाई युद्धमा लाग्न प्रेरित गर्ने पाण्डव विष्ट अहिले सहर तथा गल्लीहरुमा भौँतारिँदै हिँडेको भेटिन्छन्।

२०५६ सालमा जनप्रभात माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहँदा मुक्ति वा मृत्युको कसम खाएर जनयुद्धमा होमिएका १३ वर्षे ठिटो अहिले आफ्नै जिन्दगीप्रति बिरक्त बनिसकेका छन्। एक गिलास रक्सी र दुई खिल्ली चुरोटका लागि दुई/चार रुपैयाँ माग्दै हिँड्नु उनको दैनिकी बनेको छ।

यसैक्रममा नसाको सुरमा भेटिएका विष्टले राजनीतिक दलहरुले आफूलाई बेबारिसे बनाएको गुनासो गरे। ‘राजनीतिक दलहरुले आफ्नो स्वार्थमा प्रयोग गरे, अनि बीचमै छाडेर मलाई बेबारिसे बनाए,’ विष्टले थाहा खबरसँग भने, ‘त्यही पीडाले मलाई दारु पिउने बनायो।’

सुरिलो स्वरका धनी विष्टलाई माओवादी मात्र होइन, चुनावका बेला अरु दलले पनि प्रयोग गरेका थिए। अरुका लागि पनि चुनावी गीत गाएको बताउने उनी कलाकारलाई राजनीतिक दलहरुले बिगारेको आरोप लगाउँछन्।

जनवादी र देउडा गरी आफूले सयौँ गीत गाइसकेको उनको भनाइ छ। ‘७ वर्षसम्म माओवादीमा लागेर सयौं जनवादी गीत गाएँ,’ उनी भन्छन्, ‘माओवादी छाडेपछि पनि २ सयभन्दा बढी लोक देउडा गाइसकेको छु।’

‘सेतीकाली घुम्न बाइगो कर्णालीको माछो।
कइको होइ रुपासे सेरो असार साउन बाझो।’ विष्टले नै गाएको देउडा गीत हो।

२०६६ सालमा कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा बस दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाएपछि विष्टले,
‘२०६६ सालको ५ गते चैत्रका महिना।
जिउ लिने कालको बस्यारौ रै’छ किट्टुका भीर।’ बोलको गीत गाएर धेरैलाई भावविह्वल बनाएका थिए।

विभिन्न जनचेतनामूलक गीत पनि गाएका विष्ट गाएरै जीविका चलाउन सकिने अवस्था नरहेको बताउँछन्। ‘शिक्षा, स्वास्थ्य, मायापिरती र दैनिक जनजीवनका विषयमा धेरै गीत गाएँ,’ उनी भन्छन्, ‘गीत गाएर कलाकारले बाँच्न सक्ने अवस्था नै छैन।’

‘शिक्षा नै भित्री आँखा,
शिक्षा नै धन,
शिक्षाको दियो बाल्न
सबैले लगाऔँ मन।’ शैक्षिक चेतना जगाउन उनले गाएको गीत हो।

‘विद्यालय–विद्यालयमा मेरा गीत बज्छन्, भौँतारिँदै हिँडेको बेला विद्यार्थी देखेँ भने पनि लाज लाग्छ,’ उनी भन्छन्।

‘हाल्छ मलाई घेरो।
खाने मुसो, चोट पाउने भ्यागुतो
बदमान हुने मेरो।’ लयात्मक शैलीमा गुनगुनाउँदै विष्टले थपे, ‘आफू त बेबारिसे अवस्था छु, गीत गाउनलाई पैसा कहाँबाट पाउँ ?’

पैसाकै अभावमा थप राम्रा गीतहरु बजारमा ल्याउन नसकेको उनको गुनासो छ। कतैबाट सहयोग पाए आफू फेरि गीत संगीतमा फर्किने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.