|

लहान : नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व जिल्ला अध्यक्षहरुले शाखाको विवाद समाधान नगरी यथास्थितिमा गरिने अधिवेशन गर्दा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी केन्द्रीय समितिले लिनुपर्ने चेतावनी दिएका छन्।

सप्तरी शाखाका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साहसहित पूर्व अध्यक्षहरु शिवहरिप्रसाद भट्टराई, विष्णुकुमार मण्डल, वैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा र व्यासशंकर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै जिल्ला शाखाको अधिवेशन गर्नुपूर्व विवादको समाधान गर्न माग गरेका छन्।

महासंघका अधिकांश जिल्ला तथा एसोसिएट शाखा समेतको अधिवेशन सम्पन्न भई सक्दा पनि सप्तरीको अधिवेशन विवाद समाधान नहुनु दुखद भएको उनीहरुले बताएका छन्। पछिल्लो पटक महासंघको केन्द्रीय समितिले अधिवेशन गर्न बाँकी रहेका शाखाको अधिवेशन २०७४ वैशाख ७ गते भित्र गरिसक्नुपर्ने, अन्यथा महाधिवेशनमा सहभागी नगराइने आशयको निर्णय गरेपछि जिल्ला शाखाका निवर्तमान र पूर्व अध्यक्षहरुले जिल्लाको विवाद समाधानको माग गरेका हुन्।

‘विवाद समाधानका लागि पटक पटक आग्रह गरिएको भएपनि समाधानको ठोस पहल नहुँदा शाखाको काम प्रभावित भइरहेको कुरा पुनः दोहोर्‍याउन चाहन्छौं’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘अहिलेसम्म विवाद समाधानतर्फ ठोस पहल नभएकाले आगामी वैशाख ७ भित्र यथास्थितिमा अधिवेशन सम्पन्न नहुने निश्चित छ, त्यसैले विवाद समाधान गर्न पहलका लागि पुनः आह्वान गर्दछौं।’

के हो शाखाको विवाद?

महासंघको सप्तरी शाखाको तीन वर्षअघि सम्पन्न नवौं शाखा अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका प्रकाश खतिवडामाथि जिल्लाका बहुमत पत्रकारहरुले आर्थिक अनियमितताको आरोप लगाउँदै छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। त्यसको बेवास्ता भएपछि जिल्ला शाखाको राजविराज १ स्थित कार्यालयको मूल गेटमा तालबन्दी गरेपछि शाखाका पूर्व अध्यक्षहरुको छानबिन टोली समेत गठन भएको थियो।

टोलीले छानबिनपछि अध्यक्ष खतिवडालाई सुझावसहित दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता जनाए पनि बेवास्ता गरेपछि जिल्लाका बहुमत पत्रकारहरुले उनीमाथि अविश्वासको प्रस्ताव पारित गर्दै विशेष साधारणसभामार्फत शाखा उपाध्यक्ष श्रवणकुमार देवलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी तोकेको थियो। त्यसपछि पनि निलम्बित अध्यक्ष खतिवडाले एक पक्षीय ढङ्गले नयाँ सदस्यता सिफारिस र नवीकरण गरेको जिल्लाका बहुमत पत्रकारहरु आरोप लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.