|

रुपन्देही : नेपालमा पर्यटक भित्र्याउन अथिति देवो भवः भन्दै नमस्ते अभियान सुरु भएको छ। नागरिक उड्डयन मन्त्रालय, एनआरएन, नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा नमस्ते अभियान सुरु गरेका हुन्। आइतबार बुद्धको जन्मस्थल लुम्बिनीको महिलवार गेटबाट र्‍याली निकालेर अभियान सुरु भएको घोषणा गरिएको छ।

अभियानअन्तरगत विदेशमा रहने एक जना नेपालीले तीन जना विदेशी पर्यटक नेपाल पठाउने अभियान एनआरएनले चलाउनेछन्। सन् २०१८ सम्म १ दशमलव ५ मिलियन पर्यटक भित्र्याउने योजना रहेको एनआरएनका प्रमोद ढकालले बताए। अभियानअन्तरगत विभिन्न देशमा बुद्ध वाज वर्न इन नेपाल, नेपाल डे लगायतका कार्यक्रमहरु गर्ने योजना रहेको छ।

पर्यटक आगमन बढाउन पर्यटन बोर्डले नेपालमा स्वागत र सम्मानको कार्यक्रम गर्ने बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए। पर्यटकको भिसा नवीकरणलाई सहज बनाउने, लुम्बिनी क्षेत्रमा नेपाली गाइडलाई प्राथमिकता दिनेजस्ता योजना छन्।

लुम्बिनीमा पर्यटक आगमन वृद्धि भए पनि पर्यटकको बसाइ लम्बिन सकेको छैन। बसाइ लम्बाउनका लागि लुम्बिनी विकास कोषले काम गर्नुपर्ने सरोकारवालाको जोड छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनीलाई आकर्षक बनाउन र पर्यटकको बसाइ बढाउन सांस्कृतिक कार्यक्रम गर्नुपर्ने बताए। नेपालमा सबै खालको हावापानी र बुद्ध जन्मस्थल भएकाले धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए।

लुम्बिनी विकास कोषका सांस्कृतिक सल्लाहकार भिक्षु मैत्रेयले राजदूतावासमार्फत प्रचारात्मक कार्यक्रम गरेमा धेरै पर्यटक नेपाल ल्याउन सकिने बताए। उनले भारतमा लुम्बिनी बनाइँदै छ भन्ने कुराको प्रचार नेपालीले गर्न आवश्यक नभएको र चिन्ता लिन पनि नपर्ने बताए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले श्रीलंका र बर्माका पर्यटकलाई नेपालका बारेमा राम्रोसँग बताउन नसकिएको जानकारी दिए। त्यहाँबाट आउने पर्यटकहरु भारत हुँदै आउने र ४५ मिनेट लुम्बिनीमा घुमेर फर्किने गरेको उनले सुनाए।

कार्यक्रममा एनआरएन युकेका राजेन्द्र भट्ट, पत्रकार चेतन पन्त, माधव ढुंगाना, मनोरञ्जन शर्मा लगायतले बोलेका थिए। ‘हाम्रा पाहुनालाई नमस्तेले स्वागत गरांै’ भन्ने नारा दिइएको अभियान लुम्बिनीसँगै काठमाडौं, पोखरा र चितवनमा पनि एकैसाथ सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.