साहित्य

मोफसलका लेखकको पीडा : लेखक राममणि पोखरेल भन्छन्, ‘किताब झोलामा बोकेर बेच्न हिँड्नुपर्छ’
SHARES

चैत २७, २०७३

    'भाषा र प्रस्तुतिमा मिठास नहोला तर मैले लेखेका किताबमा हाम्रो समाजमा तपाईं हामीले भोगेका भोगाइहरू समेटेको छु, एक पटक पढिदिनुहोस् न!’ ‘तपाईंको पुस्तक पसलमा राखेर बेचिदिनुहोस् न!’ भन्दै आग्रह गर्दै हिँडेका कोही वृद्ध भेट्नुभयो भने सम्झनुहोस्, उनी हुन् उदयपुरका नामुद साहित्यकार राममणि पोखरेल।

    उदयपुर साहित्य परिषद्का अध्यक्षसमेत रहेका पोखरेलका विभिन्न विधाका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। राष्ट्रियस्तरमा खासै चर्चा नपाएका पोखरेलले प्रकाशन गरेका पुस्तकहरू मोफसलमा समेत बिक्री नहुने बताउँछन्। आधुनिक कथा, उपन्यास, कवितालगायतका विविध विधामा कलम चलाउने पोखरेल पाठकले पढ्ने खुराक दिन नसकेको हो कि वा पाठकले पढ्नलायकको लेख्न नसकेको भनेर आफैँ चकित पर्ने गरेका छन्।

    ‘मोफसलबाट प्रकाशन हुने किताबलाई मोफसलकै पाठकले खासै महत्त्व दिएका छैनन्’, पोखरेल भन्छन्, ‘मेरो मात्र होइन, उदयपुरका पुस्तक प्रकाशन गर्ने अन्य साथीहरूको पुस्तकको हालत पनि उस्तै छ।’ न उदयपुरका स्टेशनरी पसलमै पाइन्छन् त्यहाँका स्रष्टाका पुस्तक, न कुनै साथीहरूले मेरो त यति पुस्तक बिक्री भयो भनेर खुसीको कुरा गरेको नै सुनेका छन् उनले। मोफसलमा लेखेरै बाँच्ने आधार नभएको निष्कर्ष छ पोखरेलको।

    पोखरेल पुस्तक प्रकाशन गरेपछि शिक्षण संस्था, चिनेजानेकालाई पुस्तक खरिद गरिदेऊ भन्दै हिँड्ने गर्दछन्। ‘मेरो किताब पुस्तक पसललेलाई बेचिदिनुहोस् भन्दा पनि मान्दैनन्’, पोखरेल भन्छन्, ‘झोलामा बोकेर घरघरमा पुगेर बेच्नुपर्ने बाध्यता छ, त्यो पनि अलि पढेलेखेकालाई र चिनेजानेको मान्छेलाई मात्र।’

    जिल्लाको साहित्य क्षेत्रको विकासमा गोष्ठी, छलफल, अन्तर्क्रियालगायतका विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने पोखरेल उदयपुरका अग्रपंक्तिका साहित्यकार मान्छिन्। शिक्षण पेशाबाट राजनीति गर्दै साहित्यमा प्रवेश गरेका पोखरेल सत्यको प्रकटीकरणका लागि अथक मिहिनेत गर्ने इमान्दार लेखक देखिन्छन्।

    उमेरले ७० वर्ष पुगेका पोखरेलले लेखन क्षेत्रमा तीन दशक बिताइसकेका छन्। फुटकर रचना लेख्दा लेख्दै पुस्तक प्रकाशन गरेका पोखरेलका पुस्तकहरू मानव जीवनका भोगाइमा आधारित छन्। उनी उदयपुरका नयाँ पुस्तालाई लेखन क्षेत्रमा आकर्षित गर्न उत्प्रेरणा जगाउने साहित्यकार पनि हुन्।

    यी हुन् पोखरेलका कृतिहरू

    लप्पनछप्पन मन नपराउने, राजनीतिले अवसर नदिएको तर पूर्ण रूपमा क्षमतावान् प्रखर योद्धा हुन्, पोखरेल। नेपाली भाषा र साहित्यप्रति अनन्य भक्ति, साधना, आस्था, श्रद्धा, विश्वास भएका पोखरेल झर्रा लेखक हुन।् उनले ०५९ सालमा पहिलो कृतिको रूपमा ‘सम्झनाको पोखरीमा छचल्किएका छालहरू’ संस्मरणात्मक ग्रन्थ प्रकाशन गरेका थिए। त्यसैको एक वर्षपछि २०६० सालमा ‘जेल संस्करण’ नामक संस्मरणात्मक ग्रन्थको अर्को कृति ल्याए। ०६१ सालमा ‘साइँली मैयाँ र रसुवाघाट’ नामक उपन्यास पनि बजारमा ल्याए। त्यसपछि निरन्तर कथा क्षेत्रमा डुबुल्की मारिरहेका छन्, पोखरेल।

    उनले लगातार प्रकाशन गरेका कथासंग्रहमा ‘हरिमानको आत्महत्या’, ०६३, ‘सोममाया र शक्ति अभियान’ र ‘दण्डहीनता’ ०६५, ‘सूचना टाँस’, ०६६, ‘समयको पाइला’, ०६८, ‘अमरमानको बहिर्गमन’, ०७०, ‘यात्राको अनुभूति’, ०७२, ‘स्वदेश प्रेम’, ०७३ र ‘समयले दिएको पीडा’, ०७३ प्रकाशित छन्।

    दुई संस्मरणात्मक ग्रन्थ, एक उपन्यास, नौवटा कथासंग्रह गरी १२ वटा कृति पोखरेलले बजारमा ल्याइसकेका छन्। यी कृतिमा नेपाली साहित्यमा सफल आख्यानकारका रूपमा परिचय बनाएका छन्, पोखरेलले। उनलाई विश्लेषकहरूले पूर्वाञ्चलको नेपाली गद्यका अग्रणिका रूपमा लिने गरेका छन्।

    उनका कथामा पछिल्लो समय ‘स्वदेश प्रेम र समयले दिएको पीडा’मा मधेसको द्वन्द्व, नेपाली–नेपालीबीचको लडाइँ, विदेशी उक्साहट, घुसपैठ, नेपालीमा बढ्दै गएको निरीहता, छुवाछुत, वैदेशिक रोजगारीका समस्यालगायतका विषयवस्तुलाई समेटिएको पाइन्छ। पोखरेलका अनुसार आगामी ०७४ को दशैँभित्र एउटा कवितासंग्रह र दुई कथासंग्रह प्रकाशनको तयारीमा छन्।

    सहयोग मागेर पुस्तक प्रकाशन

    प्रकाशन गरेको पुस्तक बिक्री नभएपछि पुनः प्रकाशन गर्न आर्थिक समस्या आउने गर्दछ। पोखरेलले पुनः पुस्तक प्रकाशन गर्नका लागि साथीभाइसँग आर्थिक सहयोग माग्ने गरेका छन्। ‘प्रकाशन गरेको पुस्तक बिक्री भएर खासै पैसा आउँदैन’, पोखरेल भन्छन्, ‘आफन्त, नरनाता, साथीभाइसँग आर्थिक सहयोग मागेर प्रकाशन गर्ने गरेको छु।’ पहिलो कृति ‘सम्झनाको पोखरीमा छचल्किएका छालहरू’, ‘जेल संस्करण’ र ‘साइँली मैयाँ र रसुवाघाट’ पुस्तक उनले साथीभाइकै सहयोगमा प्रकाशन गरेको बताउँछन्।

    साथीभाइकै आर्थिक सहयोगले प्रकाशन गरेका पुस्तकहरू साथीभाइलाई नै पढ्न दिन्छन् उनी। ‘उहाँहरूले समेत मनपराइदिएर थप हौसाला दिनुहुन्छ अनि अर्को पुस्तकको विषयवस्तु खोज्न थाल्छु’, पोखरेल भन्छन्, ‘पहिलोदेखि तेस्रो पुस्तक प्रकाशन गर्दा जति समस्या हुन्थ्यो, अहिले त्यस्तो समस्या हटेर गएको छ।’

    पोखरेलका अनुसार अहिले काठमाडौँमा रहेका ठूला प्रकाशन गृहहरूले पनि बोलाएर पुस्तक प्रकाशन गरिदिनथालेका छन्। ‘मैले जम्मा लाग्ने खर्चको आधा भाग मात्र तिर्नुपर्छ’, पोखरेल भन्छन्, ‘बाँकी खर्च प्रकाशनले तिरेर त्यसको मूल्य बराबरको किताब दिने गरेका छन्।’ मोफसलमा साधना गर्दै जाँदा पनि लेखकहरू व्यावसायिक हुँदै जाने आत्मबल बढेको उनको भनाइ छ।

    शिक्षणदेखि राजनीति हुँदै साहित्यमा

    २००३ सालमा बुबा भरतप्रसाद पोखरेल र आमा हेमाकुमारी पोखरलेलको कोखबाट साहिँलो सन्तानका रूपमा जन्मेका हुन् उनी। हाल त्रियुगा नगरपालिका– ७ मोतीगढामा बसोवास गर्ने पोखरेलले आईए पास गरेका छन्।

    आईए पास गरेपछि पोखरेल २०२५ सालदेखि ०३२ सालसम्म शिक्षण पेशामा आवद्ध भए। शिक्षण पेशामै रहेको बेला पञ्चायतको विरुद्ध लागेका पोखरेल ०३४ मंसिरदेखि ०३६ साउनसम्म जेल परे। ‘जनताको लागि प्रजान्त्रको पक्षमा बोल्दा २१ महिला जेल परेँ’, पोखरेल भन्छन्, ‘प्रहरीबाट गिरफ्तारी त गनेर साध्यै छैन।’ वाम राजनीतिप्रति झुकाव राख्ने पोखरेल स्वर्गीय मनमोहन अधिकारीसँगको भेटपछि कम्युनिष्ट आन्दोलनमा सहभागी भए। राजनीतिक दललाई प्रतिबन्ध लगाइएको समयमा उदयपुरमा कम्युनिस्ट पार्टीको प्रचार प्रसार गर्नेमध्ये एक पोखरेल पनि हुन्।

    कम्युनिस्टका समाचार लेख्नका लागि पत्रकारसमेत बनेको पोखरेल बताउँछन्। ०४६ सालको परिवर्तनपछि नेकपा एमाले उदयपुरको जिल्ला सचिव भएर ०५१ सालसम्म काम गर उनले। त्यसपछि सगरमाथा अञ्चल कमिटीको सदस्य, नेकपा एमालेका विभिन्न भ्रातृसंगठनमा रहेर काम गर्दा इथोपिया, भारतलगायतका देशहरूको भ्रमणसमेत गरेका छन् उनले। ‘उदयपुरमा एमालेको इतिहासमा मैले ०६० सालसम्म जति योग्दान गरेँ, त्यसको कदर भएन’, पोखरेल भन्छन्, ‘त्यहाँबाट राजनीतिसँग वितृष्णा जागेर आयो, त्यसैको विरुद्धमा लेख्न लेखन क्षेत्र अँगालेँ।’ 

    परिर्वतनका एजेण्डा बोकेर हिँड्ने एमालेले बेलाबेला त्याग तपस्या गरेका कार्यकर्ता छाड्ने र जनताको परिर्वतनका एजेण्डासमेत त्याग्ने गरेको पोखरेलको भनाइ छ। 
    अहिले साहित्य क्षेत्रमा लागेका पोखरेल उदयपुर साहित्य परिषद्बाट प्रकाशन हुने ‘उदय मञ्जरी’ अद्र्धवार्षिक साहित्यिक पत्रिकाका सम्पादक मण्डलका सदस्य छन्। उदयपुरमा भएका सर्जकहरूको खोजी गर्ने र प्रोत्साहन गर्ने आफ्नो जिम्मेवारी भएको महसुस गरेका छन् पोखरेलले। भन्छन्, ‘अन्य जिल्लाको तुलनामा उदयपुरमा सहित्यिक गतिविधि कमै मात्रामा हुन्छ।’
     

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]