|

उदयपुर : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले राजनीतिक दलहरु उम्मेदवार चयनको क्रममा छन्। लामो समय स्थानीय स्तरमा राजनीति गरेकाहरु पनि आआफ्नो दलबाट उम्मेदवार बन्ने दौडधुपमा छन्।

निर्वाचन मिति नजिकिदै जाँदा गाउँघरमा चुनावी गतिविधि निकै बढेको छ। गाउँ तथा सहरका गल्ली, चोक र चौतारीमा विभिन्न पार्टीका झण्डाहरु फरफराउन थालेका छन्। उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको उम्मेदवारी हात परेर नगर प्रमुख वा उपप्रमुख बन्न चाहनेको संख्या निकै छ। उदयपुरको राजनीतिमा शान देखाउन पनि त्रियुगा नगरपालिका जित्नुपर्ने बाध्यता अहिले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई परेको छ। यहाँ राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरु पनि चुनाव प्रसार प्रसारमा जुटिसकेका छन्।

अहिले राजनीतिक दलहरु उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटिसकेका छन्। साविकको खाँबु, साउने, जोगिदह, जाल्पा चिलाउने गाविस मिलेर अहिले त्रियुगा नगरपालिकामा मिसाइएको छ। १६ वटा वडामा विभाजित त्रिनपाको जनसंख्या ८७ हजार ५ सय ४७ छ।

नगरपालिकामा प्रमुख, उपप्रमुख, १६ वटा वडाका अध्यक्ष, प्रत्येक वडाबाट ४ सदस्य गरी ६४ जना वडा सदस्य निर्वाचित हुँदैछन्। निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खड्काका अनुसार नयाँ त्रियुगा नगरपालिकामा करिब ४७ हजार मतदाता रहेका छन्।

नेपाली काङ्ग्रेस

०५४ सालको स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकामा लजास्पद हार बेहोरेको नेपाली काङग्रेस यस पटक जित्ने तयारीमा छ। अहिलेका नेपाली काङग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले ०५४ को निर्वाचनमा नगर प्रमुख  पदमा चौथो भएका थिए। नेकपा एमालेबाट लालसेर राईले एमालेकै अहिले केन्द्रीय सदस्य तथा हालका उदयपुर इन्चार्ज वलदेव चौधरीको बागी उम्मेदवारी पर्दा समेत जितेका थिए।

अहिले नगर प्रमुखका लागि उदयपुर क्षेत्र नम्बर २ का सभापति बसन्त बस्नेत, पूर्व जिल्ला कोषाध्यक्ष विष्णु राउत, नेता प्रकाशकुमार खड्का र नगर सभापति सरोज बस्नेत आफै उम्मेदवारको आकांक्षी छन्। ‘हामीले वडाबाट उम्मेदवारी सिफारिस गर्न सुरु गरिसकेका छौं’,  नगर सभापति बस्नेतले भने, ‘नगर सभापति भएकाले मैले टिकट पाउने पर्नेमा मेरो दावी छ।’ स्रोतका अनुसार त्रियुगाको प्रमुखमा नगर सभापति नै उम्मेदवार बन्ने करिब निश्चित छ।

यसैगरी महिलाहरु पनि पाए प्रमुख नपाए उपप्रमुख हात पार्ने दाउमा रहेका छन्। जसमा लिला राई, विमला सुनुवार, सरिता राई, देवी चौधरी लगायत नाम चर्चामा रहेको नगर सभापति बस्नेतले जानकारी दिए।

नेकपा एमाले

नेकपा एमाले ०५४ सालकै शैलीमा जित्ने दाउमा छ। पार्टीबाट हुने अन्तरघात रोक्ने सके जित्ने एमालेको आँकलन छ। ०५४ सालको स्थानीय निर्वाचनमा एमाले उदयपुरका लालसेर राईले जितेका थिए। आफ्नै पार्टीबाट बागी उम्मेदवारी पर्दा समेत एमालेका राईले नेपाली कांग्रेसलाई चौथो बनाएको बिगत छ। बागी उम्मेदवार बलदेख चौधरीले दोस्रो मत ल्याएका थिए।

यसरी जितेको एमालेले त्रियुगा प्रमुखमा अहिले त्रिनपा एमाले संयोजक प्रकाश बस्नेत, समाजसेवी नेता रुपमा परिचय बनाउने भागवत राउत, इन्द्रबहादुर थापा, केन्द्रीय सदस्य बलदेव चौधरीको नाम चर्चामा छ। नगर संयोजक बस्नेतले नगर प्रमुख र उपप्रमुखमा नगर कमिटीले सिफारिस गर्ने तयारीमा जुटेको बताए। ‘मैले हालसम्म कुनै पनि निर्वाचन लडेको छैन,’ संयोजक बस्नेतले भने, ‘मेरो भनाइमा मेयरको म प्रमुख दाबेदार हो,  तर पार्टीले गर्ने निर्णयप्रति म विश्वस्त छु।’

एमाले पनि उपमेयरको दाबी बढीमा महिला नेतृहरु लागि परेका छन्। एमाले स्रोतका अनुसार भागवत राउत अहिले बलिया उम्मेदवार कहलिएका छन्।

नेकपा माओवादी केन्द्र

वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्र पनि त्रियुगा नगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्ने रणनीतिमा छ। अहिलेको उपलब्धी जनयुद्धको बलमा भएको बताउने माओवादी केन्द्रले त्रियुगा नगरपालिकामा अन्य पार्टीको उम्मेदवारको पोजिसन हेरेर आफ्नो उम्मेदवार चयन गर्ने योजना बनाएको छ। माओवादी केन्द्रमा बाहिरी रुपमा चर्चा भएपनि भित्री रुपमा आकांक्षीहरु मौन छन्।

माओवादीबाट किरण राई, पूर्व पार्टी सचिव नारायण बुर्जा, नगर संयोजक बिमल किराती, केन्द्रीय सल्लाहार समिति सदस्य मिनबहादुर ज्यूठकुरी, भीम बिक, पदम दाहाल, यदुप्रसाद ढकाल लगायत आकांक्षी छन्। माओवादी केन्द्रले नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायत मधेस केन्द्रित दलको समर्थन पाउने अनुमान गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

०५४ सालको निर्वाचनमा त्रियुगा नगरपालिकामा तेस्रो भएको राप्रपा यस पटक अन्य पार्टीको तुलनामा मौन छ। चौथो ठूलो दलको बरियतामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आधिकारिक उम्मेदवार घोषणा गर्न सकेको छैन। तथापी पार्टीका जिल्ला अध्यक्ष ध्रुव रायमाझीको नाम भने चर्चामा आएको छ। त्यस्तै पार्टीका त्रियुगा नगर सभापति वीरेन्द्र अधिकारीको नाममा पनि पार्टीवृत्तमा छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.