|

गत वर्ष हिउँदमा गहुँ काट्ने काम धमाधम थियो। देशमा ठूलै परिवर्तन हुन्छ भन्ने सुनेर हँसिया खेतमै छाडी गाउँका इमान्दार कृषक रामविलास काका आन्दोलनमा सहभागी हुन शहर पसे। पोहोर मात्र होइन, उनी जान्ने भएदेखि नै निधारमा परिवर्तनको मोहर टाँसेर देशमा भए गरेका हरेक मोर्चा र सडक आन्दोलनमा सहभागी बने। 

उनका पुर्खाहरू पनि यसरी नै परिवर्तनको हरेक मोर्चामा डटेरै लडेका हुन्। आज हामीले बोल्ने स्वतन्त्रता र समानताको परिवेश ल्याउन जुठै हात आन्दोलनमा दौडिएका थिए, उनका पुर्खाहरू। परन्तु, त्यो बेला आज जस्तो सहजता थिएन आन्दोलनमा सरिक हुन। उतिबेलाको एकात्मक राज्य प्रणालीमा अहिले झैँ सजिलै जनजीविका, राष्ट्रघात र नागरिक सर्वोच्चता जस्ता विषयमा आन्दोलन गर्नु निकै कठोर बन्नु र मान्नुपर्थ्यो।

रामविलास काका त उदाहरण मात्र हुन्। वर्षमा प्रायः २/३ वटा नेपाल बन्द, चक्काजाम  र कयौं नाराजुलुस जस्ता क्रियाकलापमा सम्भवत: हामी अधिकांश नेपाली र त्यसमा पनि युवा एवं मजदुर अग्रभागमै उभिएका हुन्छौं। अहिले नेपालमा यो एउटा अनिवार्य जस्तो पनि बनेको छ किनकी  हाम्रो मुलुकमा वर्ग विभाजित छ र वर्गीय मुक्तिका लागि समुदाय पनि उत्तिकै विभाजित छ। अझ विडम्बना त के छ भने असली उत्पीडितहरूले आफ्नो वर्ग पहिचान हुँदासम्म पनि पुरातनकै कित्तामा रमेर आफ्नै वर्गलाई प्रहार गर्दै छन्।

जबसम्म हामीले वर्ग पहिल्याउन सक्दैनौं, तबसम्म वर्गीय मुक्ति मुस्किल मात्र हुँदैन, विभिन्न खाले संघर्षबाट प्राप्त उपलब्धिसमेत गुम्ने खतरा देखिन्छ। आजसम्म हामीले हेरौं न त भनी सिंहदरबार पठाएका अधिकांश प्रतिनिधिले समुदायका लागि गर्छु मात्र भने तर गर्ने त के सोच्ने फुर्सदसमेत पाएनन्। त्यति मात्र कहाँ, हामी देख्दै छौँ- कसैले गर्न चाहेका काममा समेत आफू ओझेल पर्ने ईर्ष्याले अवरोध पुर्‍याइरहेका छन्। तसर्थ 'खिर्राको बोक्रो ताछेर दूध होइन, चोप नै आउँछ' भन्ने मानेमा हामी स्पष्ट हुनुपर्छ। काउसोको बोट रोपेर अंगुरको अभिलाषा राख्ने पराधीन सोचबाट हामी मुक्त हुनु जरुरी छ।

बाहिरी मुलुकमा आजसम्म युवा, मजदुर र  किसानहरू परिवर्तनका महाशक्ति एवं संवाहक बनेका छन् भने नेपालमा झिनो अभिलाषाशिवाय यी वर्गहरूलाई सत्ताप्राप्तिको भर्‍याङका रूपमा मात्र प्रयोग गरिएको पाइन्छ। ज्यानको बाजी लगाउँदै तातो सडकमा गएर घोक्रो सुकाउँदै  चिच्याउँछौँ, उफ्रिन्छौँ हामी निरन्तर- अन्धो कानुन, जाली नेता र लाटो राष्ट्रियता सह्य छैन भन्दै।

आफ्ना दैनिक जीविकोपार्जनका प्रवेशद्वारहरूमा ताल्चा झुण्ड्याउँदै समाहित बन्छौँ राष्ट्रियताका हरेक आँधीबेहरीहरूलाई सशक्त बनाउन। महिनामा हजारौं रुपैयाँ खर्च कटाएर छोराछोरी पढ्न पठाएका पाठशाला, बिरामी उपचाररत अस्पताल, लाखौं रुपैयाँ ऋणमा निकासा गरिएको सवारी साधन र उद्योग कलकारखानाहरू बन्द हुन्छन्।

ठूलै फेरबदल हुने अपेक्षा गरेर सहज रूपमै बन्दप्रति एेक्यवद्धता जनाउने हामी धोती र टोपीका बन्छौँ अन्तत:। यथार्थ के हो भने धोती र टोपीको फ्युजनविना हाम्रो राष्ट्रियता बचाउने अर्को विकल्प पनि  छैन। तर असलीहरू नक्कलीको मारमा परेका छन्। नक्कलीहरूले सक्कलीलाई झन् बढी  दमन र शोषण मात्र गरेका छैनन्, उनीहरूको अधिकार पनि खोसिएको छ। यदाकदा आसेपासे बाहेक उनीहरूलाई राज्यको पहुँचमा पुग्न रोकिएको छ। नक्कलीहरूबाट यही चिरफार गर्नु अनिवार्य छ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको परिवेशमा यस्ता कुरालाई चिरफार गर्नका लागि वर्ग छुट्याउनु र चिन्नु एवं चुन्नु पनि अहिलेको ज्वलन्त आवश्यकता हो, नकि झिना प्रलोभनमा हौंसिएर अस्तित्व नै डुबाउनु।

दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्चा जन्माउने मेसिन सम्झने नारीहरू पुरुषवादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुखसम्म पुगिसके। यावत कुराहरू सुन्दा अनौठो जस्तो लागे तापनि अहिलेका यी सबै परिवर्तन हिजोको कहालीलाग्दो जनयुद्ध र जनआन्दोलनको त्याग, तपस्या र बलिदानकै कारणले सम्भव भएको हो। अतः यस्ता कैयौं उपलब्धिलाई परिणाममुखी बनाउन दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट हामीले जुनसुकै दल र आस्थाको प्रतिनिधि भए पनि परिवर्तनलाई जिताअौं।

खुल्दै गरेका विकास र बल्दै गरेका उज्वल भविष्यका किरणहरूलाई संरक्षण गरौं। दशकौंदेखि तुवाँलो लागेका उज्यालो उन्मुख पालुवाहरूलाई सिञ्चित गर्दै हामी सबै एउटै आँगनमा रमाउन सक्ने बलियो घरको जग निर्माण गरौं। आजसम्म नेता चिन्नमै जुग बिताएका हामीले अब त भेदभाव, शोषण, अन्याय, हिंसामुक्त समाज निर्माणका लागि पछुताउनु नपर्ने नेतृत्व चुनौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.