|

काभ्रेपलाञ्चोक : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कुनै पनि दलको प्रभावमा नपरी काम गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका छन्। सोमबार काभ्रेको धुलीखेलमा निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले दलका प्रमुखदेखि टाढा रहेर निष्पक्ष रुपमा काम गर्न निर्देशन दिएका हुन्।

‘तपाईहरुलाई ठूलो विश्वास र जिम्मेवारीका साथ खटाइएको छ, विश्वसनीयतामा कमी आउन दिनुहुने छैन भन्ने विश्वास लिएको छु' उनले भने। निर्वाचन अधिकृतहरुलाई कुनै पनि दलको भोजभतेर, चियापान तथा खाजा समेत नखान प्रमुख निर्वाचन आयुक्त यादवले निर्देशन दिए। 'कार्यक्षेत्रमा गएर कुनैपनि दलको भोज भतेर र चियापान कार्यक्रममा नजानु र नखानु होला' उनले भने 'कसैको भोज र चिया खाएपछि प्रलोभनमा पर्ने मानवीय स्वभाव हुन्छ, तपाईहरु त्यसमा नफस्नुहोला।’

प्रमुख आयुक्त यादवले देशैभरिका मतदान केन्द्रहरुमा सामग्री लिएर जाने अवस्थामा पुगिसकेको बताउँदै सम्बन्धित केन्द्रमा खटिने प्रमुखहरुलाई नियुक्ति पत्र समेत दिइसकेको जानकारी दिए। 'सबै निर्वाचन प्रमुखहरुलाई नियुक्ति पत्र दिएर सम्बन्धित ठाउँमा खटाइसकिएको छ, त्यसमा कोही कोहीको बाँकी भए निर्वाचन आयोगले आजैबाट त्यसको ब्यवस्था गरिनेछ' यादवले भने, ‘राज्यले कुनै पनि ठाउँमा खटाएको तपाई निर्वाचन अधिकृतहरुले दुर्गम, अपायक र अप्ठेरो ठाउँमा पठाएकोले जान्न भनेर भन्न पाउनुहुन्न, राज्यले ठूलो जिम्मेवारी र विश्वासका साथ खटाएकाले जिम्मेवारी बहन गर्न खट्नुहोला।'

प्रमुख निर्वाचन आयुक्त यादवले ७४४ वटा नै स्थानमा निर्वाचन गर्ने गरी सोमबारदेखि तयारी झन् तिब्र पारेको उल्लेख गरे। उनले भने ‘लोकतन्त्र, संघीय गणतन्त्रको स्थायित्व र सुदृढिकरण गर्ने जिम्मा नेपाली जनताको भएकाले उहाँहरुको मतदानलाई सुनिश्चित गर्ने काममा खटाइएका मतदाता शिक्षा कार्यकर्ता र निर्वाचन शिक्षा सम्बन्धी खटाएका स्वयंसेवकहरुले गर्ने काममा समेत अनुगमन गर्नु होला।'

यादवले संविधान कार्यान्वयनको पहिलो खुड्किला स्थानीय तह भएकाले त्यसको लागि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन अधिकृतहरुमाथि आइपरेको बताए। उनले सबै निर्वाचन अधिृकतहरुलाई निर्देशन दिदै भने ‘अब आयोगबाट सबै सामान जाँदैछ, माथिबाट दिने सामग्री पोको पारेर पठाइसकेकाले अब हामीले माथिबाट दिने भनेको निर्देशन मात्रै हो। अनि परिस्थिति अनुसार निर्णय गरिदिने हो, जिम्मेवारी तपाईहरुको हो।’

उनले निर्वाचनमा दलका भातृ संगठनमा बसेर काम गर्ने कर्मचारीहरुलाई नखटाइएको बताए। ‘त्यसो गर्दा विश्वनियतामा प्रश्न उठ्ने भएकाले उहाँहरु अहिलेको निर्वाचनमा खटाइएको छैन’यादवले भने। उनले स्थानीय स्तरबाट कर्मचारी खटाउँदा पनि ट्रेड युनियनमा लाग्नेहरुलाई परिचालन नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

प्रमुख निर्वाचन आयुक्त यादवले तराइईका २० वटा जिल्लामा पनि निर्वाचनको राम्रो वातावरण बन्दै गएको बताए। प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले सबै ठाउँमा सुरक्षाको आवश्यक व्यवस्था गरिएको बताए। चार दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा ९ वटा जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.