|

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर ३ महिने सङ्कटकाल लगाएका छन्। आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुले २ चर्चमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु भएपछि राष्ट्रपति सीसीले संकटकालको घोषणा गरेको एपीले लेखेको छ। 

“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका २ ओटा चर्चमा बम विस्फोट गरिएको थियो।

राष्ट्रपतिले घोषणा गरेको ३ महिने संकटकाल लगाउने प्रस्ताव १ हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ।

सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति सीसीले आतंककारीविरुद्ध पिडादायक र निकै लामो लडाइ लड्ने बताए।

कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्च गराइएको पहिलो बिस्फोटमा परी २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन्। त्यसैगरी अर्को विस्फोटन एलेक्जान्ड्रीयामा रहेको मार्कको चर्चमा भएको थियो। सो विस्फोटनमा परी ४ जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन्। आक्रमणकारीले आत्मघाती हमला गरेको गृहमन्त्रीको भनाइ छ।

टान्टामा भएको विस्फोटमा कम्तीमा ७८ जना र एलेक्जान्ड्रीयामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले जानकारी दिए।

आइएसले सामाजिक सञ्जालबाट बक्तव्य सार्वजनिक गर्दै आफ्ना २ जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको भन्दै घटनाको जिम्मेवारी लिएको छ।

सङ्कटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी बिना गिरफ्तारी गर्ने अधिकार हुनेछ। 

सङ्कटकालको कार्यान्वयनसँगै अधिकारीले बिना पूर्जी मानिसलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.