|

  • रमेशकुमार वली 

सल्यान : दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परिन्।

विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सबै कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भइन्।

विद्यालयले उनलाई छोरालाई नियमित किन नपठाएको भनेर रातो कार्डमात्रै पठाएको थिएन, उनको गम्भीर ध्यानाकर्षणसमेत गराएको थियो। सामान्यतः फुटबलमा खेलाडीले ठूलो गल्ती गरेमा दिइने रातो कार्ड सल्यानका विद्यालयले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई दिन थालेका छन्।

टेकबहादुरले भने, “पुस महिनामा रातो कार्ड पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परे पनि विद्यालय पठाएको छु।” उनले माघ र फागुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि हरियो कार्ड पाएको बताए।

“हामीले विद्यालयमा छोराछोरी नपठाउने अविभावकलाई तीन प्रकारको कार्ड दिन्छौँ” अन्धनाशक आधारभूत विद्यालय ढाकाडामका प्रधानाध्यापक दीपबहादुर केसीले भने, “८५ प्रतिशतभन्दा बढी हाजिर हुने विद्यार्थीका अभिभावकलाई प्रशंसापत्र भनेर हरियो कार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थीका अविभावकलाई धन्यवाद ज्ञापन भनेर पहेँलो कार्ड र ७० प्रतिशतभन्दा कम हाजिर हुने विद्यार्थीका अविभावकलाई ध्यानाकर्षणपत्र भनेर रातो कार्ड दिन्छौँ।” उनले महिनाको अन्तिम दिन सबै हाजिरी हिसाब गरेर मासिक रुपमा कार्ड दिइने गरेको बताए।

सेभ द चिल्ड्रेनसँगको साझेदारीमा स्थानीय गैरसरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले अहिले यो अभियान सुरु गरेका छन्। कुमाख मालिका गाउँपालिकाका ९ र दार्मा गाउँपालिकाका ३६ विद्यालयले यस्तो अभियान सुरु गरेका हुन्।

हामीले अहिले ३ कक्षासम्मका लागि यो अभियान सञ्चालन गरेका छौँ नवजागरण आधारभूत विद्यालय भल्चौरका प्रधानाध्यापक जगबहादुर केसीले भने, “यो अभियानका कारण विद्यार्थी उपस्थिति दर बढेकाले हामीले पूरै विद्यालयमा यो अभियान सञ्चालन गर्ने सोच बनाएका छौँ।” महिनाको अन्तिम दिन विद्यार्थीको हाजिरी रेकर्डको प्रतिशतका आधारमा अविभावकलाई विद्यार्थीसँग कार्ड पठाइन्छ।

महेन्द्र माध्यमिक विद्यालय जिमालीका शिक्षक हेमराज केसीले भने, “अविभावकलाई कार्ड दिँदा छोराछोरीप्रतिको जिम्मेवारीबोध तथा विद्यालयप्रतिको सम्बन्धसमेत प्रगाढ भएको पाइयो।” उनले विद्यालयमा पहिलेको तुलनामा कार्ड दिन थालेपछि विद्यार्थी उपस्थिति दर बढेको बताए। “घरबाट विद्यालय जान हिँडेका विद्यार्थी विद्यालय आए÷नआएको समेत अनुगमन हुन्छ” शिक्षक केसीले भने, “अहिले त सबै विद्यार्थीले आफ्ना अभिभावकलाई हरियो कार्ड दिनका लागि नियमित आउँछन्।”

मङ्सिरदेखि सुरु गरिएको अभियानमा शैक्षिकसत्रको अन्तिमसम्ममा विद्यार्थीको उपस्थितिमा समेत उल्लेख्य सुधार आएको देखिएको। पुसमा ४५ विद्यालयका ७३५ अभिभावकले रातो कार्ड पाएकामा चैत महिनामा घटेर ३५८ अविभावकले मात्रै रातो कार्ड पाएका छन्। “यस अभियानले विद्यालयमा गतिलो छाप छोडेको छ” – जिल्ला शिक्षा कार्यालयअन्तर्गत गोठिवन स्रोतकेन्द्रका स्रोतव्यक्ति जङ्गबहादुर बुढाले भने, “धेरै विद्यालयले कक्षा ३ मात्र नभई आगामी शैक्षिकसत्रदेखि पूरै विद्यालयमा अवलम्बन गर्ने जानकारी दिएका छन्।” विद्यालयमा विद्यार्थी नियमित हुन थालेपछि विद्यालयको पढाइमा समेत सुधार हुँदै गइरहेको उनले दावी गरे।

कार्डमात्रै दिँदैनन् नियमित तीन दिनसम्म विद्यार्थी विद्यालय आएन भने किन आएन भनेर खोजीनीति समेत गर्छन्। “लगातार तीन दिनसम्म बालबालिका स्कुल आएनन् भने फोन गरेर बुझ्छौँ” सरस्वती आधारभूत विद्यालय ढाकाडामका प्रधानाध्यापक लक्ष्मी खड्काले भनिन्, “कारण सोध्छौँ खास कारण बाहेक नियमित विद्यालय आउनका लागि उत्प्रेरणा गर्छौं।” जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयको हाजिरी परीक्षण गरेर अभिभावकलाई कार्ड दिने अभियान राम्रो भएको भन्दै यसलाई जिल्लाभर लागू गर्नका लागि आफूहरु लागिपरेको जनाएको छ।

जिल्ला शिक्षा कार्यालय, सल्यानका स्रोत व्यक्ति लीलाधर वपालले प्रअ बैठक तथा स्रोतव्यक्ति बैठकमा यसलाई जिल्लाभरि कसरी लैजाने भन्नेबारेमा छलफल चलेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.