|

इलाम : जिल्ला अस्पताल इलाममा चेकजाँच गर्ने क्रममा शान्तिडाँडाका बिर्ख लिम्बुकी छोरीमा एपेन्डीसाइडको लक्षण देखियो। डाक्टरहरुले जिल्ला अस्पतालमा एपेन्डिसाइडको  उपचार हुन नसक्ने बताए। जसका कारण उनी आफ्नी छोरीको उपचारका जिल्ला बाहिरै गराउन बाध्य भए।

सदरमुकाम इलाम बजारमा ५० शैय्याको जिल्ला अस्पताल भए छ। तर पर्याप्त चिकित्सक नहुँदा  इलाम अस्पताल रिफर सेन्टर बन्‍ने खतरा बढेको छ। विशेषज्ञ सेवा नहुँदा अधिकांश बिरामी झापाका महँगा अस्पताल वा भारतीय शहरमा धाउन बाध्य छन्।

सरकारले गत वर्ष इलाम अस्पताललाई ५० शैय्याको बनाएसँगै ९ विशेषज्ञ डाक्टर सहित १५ जना डाक्टरको दरबन्दी तोकेको थियो। तर अहिलेसम्म १ जना विशेषज्ञ र ३ जना डाक्टरले सेवा दिइरहेका छन्। इलाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाह मात्र  विशेषज्ञ हुन्।

महिनामा ३५ जना प्रसुती महिलाको शल्यक्रिया गर्नुपर्ने भएपनि इलाममा ब्लड बैंक छैन। रगतको अभावका कारण कतिपय बिरामीलाई सेवा दिन नसकेको डा. शाह बताउँछन्। 'बिरामीहरुले विशेषज्ञ डाक्टर खोज्‍ने भएकाले  अन्यत्रै रिफर गनुपर्ने बाध्यता छ, ’ उनले भने।

पछिल्लो समय पाँचथर र ताप्लेजुङ्गका अस्पतालमा उपचार हुन नसकेका बिरामीको रिफर इलाम अस्पतालमा हुने गरेको छ। तर इलाममा पनि उपचार हुन नसकेपछि उनीहरु झापा जान बाध्य हुन्छन्। 

इलाम अस्पतालमा डिजिटल रेडियोग्राफीको समेत अभाव रहेको शाहले बताए। अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरहरुको योगदानको मुल्याङकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताए।

‘करोडौं खर्च गरेर पढेका डाक्टरले एम.डी. सकेर आएपनि उसको जिवन निर्वाह हुन नसक्ने तलब सरकारले दिएको हुन्छ। २०-२५ हजारमा सेवा दिनुपरेको छ,' उनले भने,'लगानी,सेवा र परिवारलाई गर्नुपर्ने पालनपोषण लगायत सम्पुर्ण कुरालाई हेर्दा स्वास्थ्य क्षेत्रमा डाक्टरलाई दिनुपर्ने सेवामा सरकारले पुनर्विचार गर्नुपर्छ। अर्थात निर्वाहमुखी सेवा सुविधा भएमात्र अस्पतालमा सेवाग्राही दिन सक्छ।’

२ सय किलोमिटरभन्दा लामो पहाडी बाटो पार गरेर ताप्लेजुङदेखिका बिरामीहरु आउने गरेका कारण इलाम अस्पतालमा विशेषज्ञ डाक्टरको चाडैं पदपुर्ती हुनुपर्ने थापाले बताए।

चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर भोलामान श्रेष्ठले देशभर ४४९ जना विशेषज्ञ डाक्टरको आवश्यकता रहेकाले ३ वर्षभित्र डाक्टरको समस्या समाधान गर्नेगरी प्रयास भैरहेको बताए। उनले जनशक्ति र सामग्री उपलव्ध गराउने समेत जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.