|

उदयपुर : सेवाग्राहीभन्दा लेखनदासको संख्या बढी भयो भने के हुन्छ?  कटारी नगरपालिकामा रहेको इलाका मालपोत कार्यालयमा अहिले यस्तै अवस्था छ।दैनिक १० देखि १५ जना सेवाग्रही हुने कटारीमा तीन दर्जनसम्म लेखनदास भेटिन्छन्।

'जग्गा नाम्सारी गर्न आएको एउटाले उता बोलाएर म सस्तोमा लेखिदिन्छ भन्छ। अर्कोले त्यो भन्दा म सस्तोमा लेख्छु भन्छ,’ साविकको मयाँखु गाविसबाट जग्गा नामसारी गर्न आएका भिमबहादुर मगरले भने, ‘एक जना ग्राहक भेटेपछि चार जना लेखनदास पछि लागेर हैरान बनाउँछन्।’

हिड्दैैं गरेका बेला लेखनदासले बाटैबाट तान्‍ने गरेको रिस्कुबाट आएका सेवाग्राही राजन पाण्डेले बताए। 'के काम छ? हामी गरिदिन्छौ, भन्दै तान्‍ने गरेका छन्, उनले भने,‘जिम्मेवार पेशा भए पनि केही लेखापढीको बोर्ड झुड्यार बस्‍ने लेखदासकाले दुख दिने गरेका छन्।’ आफ्नो पेशालाई मर्यादित बनाएर सेवाग्राही आकर्षित गर्नुको सट्टा सेवाग्राहीलाई दुख दिने प्रवृत्ति बढेको उनको गुनासो छ।  

कटारीमा लेखापढी व्यवसाय गर्दै आएका ताराबहादुर खड्का यस्तो प्रवृत्ति त्यागेर सेवाग्राहीलाई राम्रो सेवा दिनुपर्ने बताउँछन्। ‘म काम गरिदिन्छु, अरुको भन्दा सस्तोमा भन्दै दुख दिनुभन्दा सदैव सेवाग्रही आउने सेवा दिनुपर्छ,' उनले भने,'कटारीमा आधिकारीक रुपमा लाईसन्स लिएका १०-१५ जना मात्रै होलान्। तर कमिशनको लोभमा उनीहरुको झोला बोकेर हिड्ने धेरै छन्।’

लेखापढी व्यवसाय जिम्मेवार पेशा भएकाले पनि मर्यादित हुनेपर्ने मालपोत कार्यालय मुद्दा फाँटका सुब्बा तुलसी कट्टेलले बताउँछन्।‘अहिले कटारीमा लाईसेन्स लिएर लेखापढी गछौ भन्‍नेलाई पनि राम्रोसँग लेख्‍नै आउँदैन। सेवाग्रहीलाई दुख दिने काम मात्रै भएको देख्छु,’ उनले भने। 

लेखपढी गरिसकेपछि लेखनदासले रक्सी, मासु तथा चिया-नास्ता खुवाउन लगाएर दुख दिने गरेको सेवाग्राहीको गुनासो छ। ‘जग्गा पासको कागज गरिसकेपछि लेखेको शुल्क २ सय देखि २ हजारसम्म लिने गरेका छन्,’ लिम्पाटारका धुर्व कार्कीले भने,‘लेखापढीको शुल्क तिरेपछि नास्ता समेत कटारीका होटलमा राखेर खुवाउन लगाउँछन्।’

साबिकका पहाडी मायाँखु, लेखानी, हर्देनी, सोरुङ, लिम्पाटार, ओख्ले, ठाँनागाँउ, पञ्चावती, रुपाटार, सिरिसे लगायतका १९ गाविस र पुरानो कटारी नगरपालिकाका सर्वसाधारणले कटारीबाट मालपोत र इलाका प्रशासन कार्यालको सेवा लिदैं आएका छन्। अहिलेको पुनर्संरचनापछि गाँउपालिकामै सेवा सुविधा पाइने र त्यसपछि यस्तो दुख हट्ने सेवाग्राहीको विश्‍वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.