|

दाङ :  नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेले मधेसी जनताको विरोध गरेर पहाड र मधेसबीचको सद्भाव विथोल्न खोजेको आरोप लगाएका छन्। दाङको तुल्सीपुरमा नेपाली कांग्रेसको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा सहितका नेताहरुले मधेसको विरोध गरेर पहाडसँगको दूरी बढाउने काम गरेको आरोप लगाएका हुन्।

सभापति देउवाले मधेसमा बितन्डा मच्चाएर एमालेले स्थानीय तहको निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाए। 'एमालेले मधेसी र पहाडीबीचको परम्परागत सद्भावलाई बिगार्दै गएको छ, तर कांग्रेसले सद्भाव कायमका लागि अभियान तिब्र पारेको छ' उनले भने।

अहिले पहाडी र मधेसीबीच, बाहुन क्षेत्री र आदिवासीबीच झगडा गराउने ठूलो षड्यन्त्र भइरहेको भन्दै उनले एमाले र मधेसवादी दल दुबै ठीक नभएको बताए। 'एमाले पार्टी मधेसी जनताको विरोध गरेर पहाडी मधेसीबीच झगडा गराइरहेको छ  भने मधेसवादी भन्नेहरुले पहाडीको विरोध गरेर मधेस र पहाडबीच झगडा गराइरहेका छन्' उनले भने।   

एमालेको उग्र राष्ट्रवादका कारण मुलुकले लामो आन्दोलनपछि प्राप्त गरेको उपलब्धी गुम्न सक्ने देउवाको आशंका छ। उनले भने 'मधेसीले पनि संयमता अपनाउनु पर्छ, आफ्नो हठ त्याग्नुपर्छ। संविधान संशोधन बिना अधिकारबाट बञ्चित समुदायले अधिकार प्राप्त गर्न सक्दैनन्, मधेसी, आदिवासी जनजाति, दलितले अधिकार प्राप्त गर्नुपर्छ, त्यो अधिकार संविधान संशोधनबाट मात्र हुन्छ ।'

स्थानीय तहको निर्वाचनमा कांग्रेसले बिजय प्राप्त गर्नुपर्ने भन्दै उनले त्यसका लागि पार्टीभित्र एकताको खाँचो रहेको औंल्याए। पार्टीका आधिकारिक उम्मेदवारलाई घात गर्नेलाई कारबाही गर्ने देउवाले चेतावनी दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले कांग्रेसलाई लगाउदै आएको आरोपको खण्ड गर्नु उपयुक्त नहुने बताए। 'बिना आधार र बिना तुकका कुरा गर्दै एमाले हिँडेको छ, त्यसकारण खण्डन गर्नुको कुनै अर्थ छैन' उनले भने। एमालेले नारा लगाउँदै हिँड्छ र कांग्रेस काम गर्दै अगाडि बढ्छ भन्दै पौडेलले नारा लगाएर जनतालाई झुक्याउनु भन्दा काम गरेर देखाउन एमालेलाई आग्रह गरे।
महामन्त्री डा. सशांक कोइरालाले कांग्रेस एक भएर चुनावमा जानुपर्ने बताए। 'अब कांग्रेसले बागी उम्मेदवारका लागि उदारता देखाउदैन, जसले पार्टीलाई हराउन खोज्छ, त्यसलाई तत्काल सदस्यता खारेजी गरिन्छ' उनले भने।

पूर्व महामन्त्री कृष्ण सिटौलाले एमालेतर्फ लक्षित गर्दै मधेसलाई भड्काएर राष्ट्रवाद नहुने बताए।  'मधेसलाई भड्काएर राष्ट्रवाद  हुदैन। परिवर्तनलाई संस्थागत गर्न सबै जातजाति क्षेत्र र भूगोल एकबद्ध हुनुपर्छ, कुनै जातजाति र समुदायलाई भडकाएर राष्ट्रवाद पनि हुदैन, र उपलब्धी पनि संस्थागत हुदैन' उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.