साहित्य

आत्मविश्वासले सशक्त पथिक भन्छन्, 'म आफैँ कर तिरिरहेको छु, राज्यसँग के मागौं?'
SHARES

चैत २८, २०७३

    पत्थर रूप अघि सारी हेला हुँदै छु नभन
    तिम्रो ठाउँमा बस्नेछु म प्रभु तिमी मान्छे बन।

    यही गजल हो, झापा दमकका युवा साहित्यकार घनश्याम पथिकलाई गजलकार बनाउने। उनले यो गजल २०६१ सालमा लेखेका हुन्। त्यतिबेलादेखि मात्र साहित्यमा कलम चलाउन थालेका भने होइनन् उनले। सानै उमेरदेखि कविता, गजल लेख्न तथा वाचन गर्न मनपराउँथे उनी। साहित्यिक कार्यक्रम भनेपछि हुरुक्कै हुन्थे।

    कक्षा चारमा पढ्दा मनोज गजुरेलको व्यङ्यात्मक कविता पहिलो पटक स्टेजमा वाचन गरेको स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला पहिलो पटक भएकाले कवितावाचनपछि म डरले रोएँ, त्यसपछि मैले कक्षा आठमा पढ्दा कविता लेखेको थिएँ, कविता प्रतियोगितामा दोस्रो भएँ।’

    साहित्यिक संस्थासँगको सम्पर्कले ल्यायो लेखनमा निखार

    काठमाडौँको ‘गजलगृह’ नामक संस्थाले प्रत्येक महिना गजलवाचन कार्यक्रम गर्ने गर्थ्यो। त्यही कार्यक्रममा उनले २०६१ सालमा माथि उल्लेख गरिएको गजल वाचन गरेका थिए। उच्चशिक्षा अध्ययनको सिलसिलामा राजधानी पुगेका पथिक प्रत्येक महिना उक्त कार्यक्रममा सहभागी हुने गर्थे। 

    उल्लिखित गजल प्रस्तुत गरेपश्चात श्रोता तथा दर्शकको ताली त पाए नै, त्यसबेला एचबीसी एफएमबाट प्रस्तुत हुने कार्यक्रम ‘बुलबुल’का प्रस्तोता अच्युत घिमिरेले पथिकलाई पहिलो पटक रेडियोसम्म पुर्‍याए। ‘मैले भगवान विषयको गजल सुनाएपछि त्यस बेलाको चर्चित रेडियो कार्यक्रम बुलबुलका प्रस्तोता अच्युत घिमिरे दाइले उहाँलाई सम्पर्क गर्न एउटा चिटमा सम्पर्क नम्बर लेखेर दिनुभयो’, उनी भन्छन्, ‘उहाँले मेरो यो गजल असाध्यै मनपराउनु भएछ, त्यसपछि त्यतिबेलाको चर्चित कार्यक्रम बुलबुलमार्फत् मलाई रेडियोमा लानुभयो।’ यही गजल उनको साहित्यिक यात्राको ‘टर्निङ प्वाइन्ट थियो भन्ने लाग्छ रे!

    सस्तो सौन्दर्य वर्णन गरेर बजारमा 'चर्चित' हुने भोक उनमा देखिँदैन। 'हरेक कुराको सीमा हुन्छ, साहित्य सिर्जनाको पनि सीमा हुनुपर्छ', उनी भन्छन्, 'सस्तो सौन्दर्य, युवतीका नख-शिख वर्णन साहित्य होइन, कुण्ठा हो।'

    साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने क्रममा २०६२ मा स्थापित ‘अनाममण्डली’ नामक गजलप्रधान संस्था उनका लागि अर्को उपयुक्त साहित्यिक थलो बन्नपुग्यो। प्रत्येक शनिबार हुने गजल वाचन शृंखलामा उनी सहभागी हुनथाले। भन्छन्, ‘मैले सिकेको गजललाई परिष्कार दिने काम अनाममण्डलीको उक्त कार्यक्रमले गर्‍यो।’

    अनाममण्डलीको स्थापनाकालदेिख नै सो संस्थासँग जाेडिएका पथिक अनाममण्डलीले हरेक शनिबार गर्ने नियमित गजलवाचन कार्यक्रममा स्रष्टाले लेखेका गजलहरू एकअर्कालाई सुनाएर परिमार्जन तथा परिष्कार गर्ने गरेको बताउँछन्! नेपाली साहित्य, विशेषगरी गजलमा सक्रिय युवा स्रष्टाहरूले सुरु गरेको साे संस्थाले निकै धेरै राम्रा गजलकार जन्माएको उनको दाबी छ। ‘यही कार्यक्रमबाट मेरो गजललेखनमा निखारता आयो’, पथिक भन्छन्। 

    बहुआयामिक स्रष्टा

    गजलसँगै उनले कविता लेखनलाई पनि सँगसँगै अघि बढाएको बताउँछन्। उनी भन्छन्, ‘गजल सँगसँगै मैले कवितालाई पनि छोडिनँ, किनभने मेरो साहित्यिक यात्रा आरम्भ नै कविताबाट भएको हो।’ उनले 'शहर तिम्रो भए' गजलकृति पहिलो कृतिका रूपमा प्रकाशन गरे भने लगत्तै 'पहेँलो फूल र स्वप्न' कविताकृति पनि बजारमा ल्याए। त्यसपछि 'भूल जिन्दगीको' गजलकृति र 'युनिका' उपन्यास प्रकाशन गरिसकेका छन् पथिकले।

    यसरी हेर्दा पथिक नेपाली साहित्यका बहुआयामिक प्रतिभा देेखिन्छन्। उनका कुनै पनि रचना/कृति सशक्त छन्। सस्तो सौन्दर्य वर्णन गरेर बजारमा 'चर्चित' हुने भोक उनमा देखिँदैन। 'हरेक कुराको सीमा हुन्छ, साहित्य सिर्जनाको पनि सीमा हुनुपर्छ', उनी भन्छन्, 'सस्तो सौन्दर्य, युवतीका नख-शिख वर्णन साहित्य होइन, कुण्ठा हो।'

    पढे विज्ञान, लेखे साहित्य, गरे सञ्चार कर्म

    उनी साहित्यका विद्यार्थी भने होइनन्। विज्ञान संकायअन्तर्गत रसायनशास्त्रका विद्यार्थी हुन् पथिक। उनले रसायनशास्त्र र समाजशास्त्रमा स्नातकोतर गरेका छन्। उनी अहिले दमक बहुमुखी क्याम्पसमा अध्यापन गर्छन्। अध्यापनसँगै उनी दमकमा हुने धेरैजसो साहित्यिक कार्यक्रममा पनि सहभागी हुने गर्छन्। अझ उनको व्यस्तता यतिमा सीमित छैन, उनी दमकमा रहेका दुईवटा सञ्चार माध्यममा कार्यरतसमेत छन्। दमकको पाथिभरा एफएम र हिमशिखर टेलिभिजनमा उनी साहित्यिक कार्यक्रमका प्रस्तोताका रूपमा पनि लोकप्रिय छन्।

    पोलियोले खुट्टा लग्यो, उनीभित्रको आत्मविश्वास लगेन

    दुई वर्षको उमेरबाट पोलियो रोगका कारण बायाँ खुट्टाको सहारा गुमाउन पुगेका पथिक कुनै पनि सवलाङ्ग व्यक्तिभन्दा कुनै मानेमा कम छैनन्। सबल व्यक्तिहरू जस्तै सबै कार्यक्रममा सहभागी हुनुका साथै सरल रूपमा दैनिकी पनि चलाइरहेका छन्। उनी बैशाखीको सहारामा हिँड्ने गरेका छन् तर उनलाई बैशाखीकाे सहारामा छु भन्ने त्यतिबेला मात्र लाग्छ, जब कसैले सोध्छ। ‘म दुई वर्षको हुँदा मेरो बायाँ खुट्टा भाँचिएको अरे, त्यतिबेलै पोलियोले पनि भेटेको रहेछ, तर मैले ७/८ वर्षको भएपछि मात्र थाहा पाएको हुँ म यस्तो छु भनेर’, उनी भन्छन्, ‘यो सबै कुरा मलाई आमाले भन्नुभएको हो।’

    आफ्नो खुट्टाको सहारा गुमे पनि आफूलाई त्यसको महसुस नभएको उनी बताउँछन्। ‘यो अनुभव हुन नदिनमा मेरा आफन्त र साथीहरूको ठूलो देन छ’, उनी भन्छन्, ‘किनकि उनीहरूले मप्रति यस्तो महसुस हुनेगरी कुनै व्यवहार अहिलेसम्म गरेको मलाई थाहा छैन र यसले सक्दैन भनेर मलाई कुनै कुराबाट वञ्चित पनि गरेका छैनन्।’ उनी शारीरिक रूपमा अक्षम भए पनि बौद्धिक रूपमा भने अरू सक्षम छु भन्नेहरू भन्दा धेरै सक्षम छन्। उनी भन्छन्, ‘म शारीरिक रूपमा अक्षम छु भनेर मैले गर्नै नसक्ने काम केही छ जस्तो लाग्दैन।’

    सृजना भन्ने कुरा अब गर्छु भनेर गरिने होइन भन्दै पथिक भन्छन्, ‘यो जतिबेला पनि फुर्न सक्छ, यसका लागि कुनै समय नै किटान हुँदैन, कुन तत्त्व वा विषयले कहाँ प्रभाव पार्छ अनि भावमा प्रवाभित भएर लेख्न थालिन्छ, कहिले पढाइरहेका बेला पनि दिमागमा फुर्न सक्छ, जबरजस्ती साहित्य लेखिँदैन।’

    हो, यही उनको आत्मविश्वास नै हो उनलाई आज साहित्य, प्राध्यापन, सञ्चारकर्म र कहिलेकाहीँ कलाकर्ममा पनि सक्रिय र सशक्त बनाउने कारक। अझ पथिक सबलाङ्गले जसरी नै दुई पाङ्ग्रे सवारी साधन साइकल, मोटरसाइकल सहज ढंगले चलाउँछन्। 

    उनलाई मानिसको शारीरिक अपाङ्गताभन्दा भयानक मानसिक/बौद्धिक अपा‌ङ्गताचाहिँ लाग्छ रे! भन्छन्, 'स्टेफेन हकिङ, झमककुमारीहरूबाट अझै केही सिक्न सकेनौँ कि!' उनी विज्ञानका विद्यार्थी भएकाले होला थपिहाले, 'शारीरिक पक्ष मानिसको एउटा साधारण आवरण मात्र हो, ऊभित्रको विशाल शक्ति र क्षमता त्योभन्दा निकै उच्च हुन्छ भन्ने मैले बुझेको छु।' त्यही आफूभित्रको क्षमता चिन्न सके हरेक व्यक्ति विशिष्ट भएर निस्कन सक्ने उनको बुझाइ छ।

    हामीकहाँ थोरै शारीरिक समस्या देखिए पनि राज्य/सरकार/गैरसरकारी संस्थासँग हारगुहार गरेर आफ्नो कमजोरीलाई लाभको माध्यम बनाउने क्रम बढेको छ। तर पथिक आफ्नो शारीरिक अशक्ततालाई लाभको माध्यम बनाउन चाहँदैनन्। 'म आफैँ राज्यलाई कर तिरिरहेको छु, राज्यसँग के मागौँ?', भन्छन्,  'बरु मभन्दा शारीरिक, आर्थिक रूपले कमजोर व्यक्तिलाई मलाई प्राप्त हुने कुनै सुविधा दिए म खुसी हुनेछु।'

    साहित्य लेखेरै बाँच्ने अवस्था बनिसकेको छैन

    साहित्य समाजको ऐना भएको र समाज परिर्वतनमा साहित्यले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै पथिक साहित्य लेखेर अहिले बाँच्न सक्ने अवस्था नरहेको बताउँछन्। उनी भन्छन्, ‘पहिलाका साहित्यकारहरूले पनि अहिलेसम्म साहित्यबाटै जीविकोपार्जन गर्न सकेका छैनन्, तर दुई/चार जना मात्र बाँचेका छन्।’ साहित्य लेखेर जीविकोपार्जनका लागि देशको शैक्षिकस्तरमा भरपर्ने उनी बताउँछन्। भन्छन्, ‘साहित्य लेखेर जीविकोपार्जन गर्न त्यो देशका जनता कतिको शिक्षित छन् भन्ने कुरामा भरपर्छ, जनता जति शिक्षित हुन्छन्, साहित्यका पाठक त्यति नै बढ्ने हुन्, त्यसो हुँदा साहित्य बाँच्छ, साहित्य बाँच्नु भनेको स्रष्टा पनि बाँच्नु हो।’ 

    साहित्य लेखन सँगसँगै प्राध्यापन गर्नु गाह्रो नभएको उनको अनुभव छ। साहित्यसँगै प्राध्यापन गर्दा झनै सिर्जनामा टेवा दिने उनको अनुभव छ। प्रत्येक वर्ष नयाँनयाँ विद्यार्थीहरू आउने र उनीहरूसँग कुराकानी गर्न पाइने, उनीहरूको स्वभावले आफूलाई प्रभाव पार्ने र साहित्यको सृजनामा मद्दत पुग्ने उनी ठान्छन्। 
    साहित्य सृजनाका लागि कुनै छुट्टै समय आवश्यक नपर्ने उनी बताउँछन्। सृजना भन्ने कुरा अब गर्छु भनेर गरिने होइन भन्दै पथिक भन्छन्, ‘यो जतिबेला पनि फुर्न सक्छ, यसका लागि कुनै समय नै किटान हुँदैन, कुन तत्त्व वा विषयले कहाँ प्रभाव पार्छ अनि भावमा प्रवाभित भएर लेख्न थालिन्छ, कहिले पढाइरहेका बेला पनि दिमागमा फुर्न सक्छ, जबरजस्ती साहित्य लेखिँदैन।’

    उनले पनि करिब एक दशक अध्ययनका सिलसिलामा राजधानीमा बिताएका छन्। त्यो समयमा उनले पढाइभन्दा पनि साहित्यलाई धेरै समय दिएको सम्झन्छन्। ‘म काठमाडौँ बस्दा धेरै साहित्यिक कार्यक्रममा सहभागी हुने गर्थें, पढाइभन्दा धेरै साहित्यमा ध्यान जान्थ्यो’, पथिक भन्छन्, ‘कहिलेकाहीँ त परीक्षा र राम्रो साहित्यिक कार्यक्रम एकै पटक परेमा परीक्षा नै छोडौँ जस्तो लाग्थ्यो।’

    पछिल्लो समय प्रविधिका कारण मोफसल र राजधानी भन्ने नरहेको उनी बताउँछन्। ‘अब प्रविधिका कारण मोफसल र राजधानी भन्ने रहेन। हामी अमेरिकाका ससाना कुराहरू पनि मोबाइल, इन्टरनेटबाट थाहा पाउँछौँ’, उनी भन्छन्, ‘त्यसैले सृजना गर्नेलाई मोफसलमा नै बसे पनि केही फरक पर्दैन।’ आफू एक दशक राजधानी बसेर फर्कंदा धेरै गाह्रो भएको उनी बताउँछन्। एक दशक राजधानी बसेर घर फर्कंदा अब सिर्जना गर्नै गाह्रो हुन्छझैँ लाग्थ्यो रे उनलाई। ‘तर त्यस्तो नहुँदोरहेछ’, पथिक भन्छन्, ‘फरक यति हो, राजधानी बस्दा साहित्यलाई फुल टाइम दिएको थिएँ, अहिले रोजगारी गरेर बचेको समय साहित्यमा खर्चेको छु।’ 

    पछिल्लो समय युवाहरूमा साहित्य लेख्ने क्रम बढेको उनले बताए। अहिले साहित्यमा कलम चलाउने क्रम बढ्नु राम्रो पक्ष भएको उनको बुझाइ छ। ‘धेरै राम्रो कलम चलाउने साथीहरू पनि हुनुहुन्छ’, उनी भन्छन्, ‘तर आज एउटा कविता लेखेर भोलि चर्चित हुनुपर्ने साथीहरूको संख्या पनि त्यत्तिकै बढेको छ, त्योचाहिँ नराम्रो पक्ष हो।’ 

    भगवानको गजल लेखेरै साहित्यकार बनेका पथिक अहिले पनि बेला–बेला भगवानका बारेमा कलम चलाउने गर्छन्। ‘ढुङ्गामा भगवान हुँदैनन्, हरजीवको आत्मामा भगवान हुन्छन्’, पथिक भन्छन्, ‘यदि कोही लड्यो भने त्यसलाई हात दिएर उठाउने मान्छे मेरो नजरमा भगवान हुन्छ।’ 

    राम्रो सिर्जना गरे आफैँ चर्चामा आइने उनको प्रस्ट बुझाइ छ। उत्कृष्ट सिर्जना गर्नका लागि निरन्तर अध्ययन र साधना चाहिने उनी बताउँछन्। ‘जसले बढी अध्ययन गर्छ, उसैले सशक्त कृति लेख्न सक्छ’, पथिकको भनाइ छ, ‘त्यसैले साहित्य लेखनमा निरन्तर अध्ययनको आवश्यकता छ।’

    पछिल्लो समय मोफसलमा पनि साहित्यिक गतिविधि बढेकोमा उनी खुसी व्यक्त गर्छन्। मोफसलमा साहित्यिक गतिविधि बढ्नु राम्रो पक्ष भए पनि साहित्यमा पनि राजनीतिको नराम्रो प्रभाव परेकोमा भने उनको चिन्ता छ। साहित्यिक कार्यक्रममा पनि राजनीतिक आस्थाका आधारमा बोलाइनु र गुट उपगुटको लडाइँ गर्नु साहित्यकारका लागि शोभनीय नभएको उनी बताउँछन्।

    उनी भन्छन्, ‘राजनीतिक पार्टीमा आस्था राख्नु राम्रो कुरा हो, तर साहित्यमा त्यही पार्टीको एजेण्डासहित नारा लेख्न थालियो भने त्यतिबेला साहित्य साहित्य रहँदैन, नारामा सीमित बन्छ।’

    उनले लेखेका आधा दर्जन बढी गजलहरू विभिन्न गायक गायिकाका आवाजमा रेकर्ड भएका छन्। उनले २०६५ सालमा ‘शहर तिम्रो भए’ नामक गजलसंग्रह, २०६६ सालमा ‘पहेँलो फूल र स्वप्न’ कवितासंग्रह, २०६९ सालमा ‘भूल जिन्दगीको’ गजलसंग्रह र २०७२ सालमा ‘युनिका’ उपन्यास कृति प्रकाशन गरेका छन्। उनका कृतिहरूमा धेरै माया प्रेमका विषय पाइन्छ। भन्छन्, ‘म युवा भएरै होला माया प्रेमका कुरा बढी लेखेको, मलाई माया प्रेमका कुरा समेटेको कृति नै मन पनि पर्छ।’ उनलाई पाठक, श्रोताहरूले यस्तै रचना नै बढी मनपराएको जस्तो लाग्छ रे उनलाई। प्रेम विषयमा आफू निकै पोखिन सक्छु भन्ने पनि लाग्छ रे उनलाई। ‘जो जुन विषयमा पोखिन सक्छ, उसले त्यही लेखेको राम्रो’, पथिक भन्छन्। 

    उनका केही गजल रेकर्ड पनि भएका छन्। आफ्नो पहिलो गजल रेकर्ड हुँदा धेरै खुसी लागेको उनी बताउँछन्। पहिलो पटक उनको ‘आफू हाँस्यौ तर मलाई रुवाएर गयौ तिमी, पीरै पीरमा मेरो जीवन डुबाएर गयौ तिमी’ हरि लम्सालको स्वर र संगीतमा गजल रेकर्ड भएको थियो। केही समयअघि विमोचन भएको झुमा निरौलाको एल्बम ‘सरगमश्री’मा यही गजल झुमाको स्वरमा पनि भरिएर समावेश भएको छ। त्यस्तै राज सागरको स्वर र संगीतमा रेकर्ड भएको उनको अर्को गजल ‘अझै बाँकी के–के गर्छस् भेट्नेहरू भन्छन्, माया भन्दाभन्दै मर्छस् भेट्नेहरू भन्छन्’ तीन वर्षअघि पब्लिक च्वाईस इमेज अवार्ड जित्न सफल भएको थियो।

    आउँदा दिनमा अझै सशक्त कृतिहरू लेख्ने तयारीमा रहेको उनी बताउँछन्। ‘साहित्य त मेरो नशा नै भइसक्यो, यसलाई छोड्छु भन्दा पनि म छोड्न सक्दिनँ’, पथिक भन्छन्, ‘लाग्छ, मेरो पूरा जीवन साहित्यमय रहनेछ।’ 

    भगवानको गजल लेखेरै साहित्यकार बनेका पथिक अहिले पनि बेला–बेला भगवानका बारेमा कलम चलाउने गर्छन्। ‘ढुङ्गामा भगवान हुँदैनन्, हरजीवको आत्मामा भगवान हुन्छन्’, पथिक भन्छन्, ‘यदि कोही लड्यो भने त्यसलाई हात दिएर उठाउने मान्छे मेरो नजरमा भगवान हुन्छ।’ 

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]