५७ पदमा ९० जना बीच प्रतिस्पर्धा हुने

|

काठमाडौं : मंगलबार बिहान ९ बजेदेखि हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदाताको संख्या घटेको छ। १ हजार ८८ वटा सदस्य संस्थाले मतदान गर्न पाउने भए पनि सबैले मतदान गर्ने प्रतिनिधिको नाम दिन नसक्दा २ सय ४७ मतदाता घटेका हुन्।

मतदानका लागि महासंघका जिल्ला/नगर, वस्तुगत र एसोसिएटबाट गरी १ हजार ८८ जना सदस्यले सदस्यता नवीकरण गरी प्रतिनिधि पास लिनुपर्छ। तर सोमबार राति निर्वाचन समितिले सार्वजनिक गरेको सूचनामा जम्मा ८४१ वटा सदस्य संस्थाको प्रतिनीधिको नामावली मात्र छ।  

'धेरै महासंघ सदस्‍य संस्थाहरुको नवीकरण भएको छ तर उनीहरुले प्रतिनिधि दिन नसक्दा मतदाता घटेका हुन्' महासंघका वरिष्ठ कार्यालय सहायक बाबुराम निरौलाले भने। केही सदस्‍य स‌ंस्थाले नवीकरण नगरे पनि अधिकांश संस्थाले मतदान गर्ने प्रतिनिधि दिन नसक्दा मताधिकारबाट छुटेको निरौलाले बताए।

को को छुटे

मतदानका लागि प्रतिनिधि नपाउने महासंघ सदस्य संस्थामा एसोसिएटतर्फका धेरै छन्। महासंघको निर्वाचन समितिले चैत २१ गते जारी गरेको सूचना अनुसार प्रकिया पुरा गरेर एसोसिएटकै ८५१ वटा संस्थालाई मतदानको अधिकार दिएको थियो। सोमबार राति सार्वजनिक गरेको सूचना अनुसार ६३१ संस्थाका प्रतिनिधिले मात्रै मतदान गर्न पाउने भएका छन्। जस अनुसार एसोसिएट सदस्यहरुबाट मात्रै २२० जना मतदाता कम भएका छन्। 

त्यस्तै द्वीराष्ट्रिय उद्योग वाणिज्य संघमध्ये १२ उद्योग वाणिज्य संघलाई मतदानको अधिकार रहेकोमा ७ उद्योग वाणिज्य संघको प्रतिनिधिको नाम मात्रै प्रकाशित भएको छ। त्यस्तै १३ संस्थापक उद्योग वाणिज्य संघको तर्फबाट पनि प्रतिनिधि नआएका निर्वाचन समितिले जनाएको छ। जिल्ला, नगर उद्योग वाणिज्य संघबाट १०४ र वस्तुगत तर्फका ९९ सदस्यको प्रतिनिधि तोकिएको छ।

१४ जनाको उम्मेदवारी फिर्ता 

महासंघको यस वर्षको अधिवेशनमा ६४ पदको लागि ९७ जनामात्रै उम्मेदवार रहने भएका छन्। त्यसमध्ये एक उपाध्यक्ष सहित ७ सदस्य निर्विरोध भएको कारण ५७ पदको लागि ९० जना उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। 

यसअघि आइतबार उम्मेदवारको तेस्रो पटक सार्वजनिक गरिएको सूचनामा १११ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको थियो। पहिलो चरणमा भने ११२ जनाको उम्मेदवारी परेकोमा केन्द्रीय सदस्यकी उम्मेदवार कल्पना गैरेको उम्मेदवारी रद्द भएपछि १११ जना प्रतिस्पर्धी रहेका थिए। तर चुनावको अघिल्लो दिनसम्म ९७ जनामात्रै उम्मेदवार बाँकी रहेका हुन्।  

कहाँबाट कसले लिए उम्मेदवारी फिर्ता

सोमबार एसोसिएट सदस्यका ९ जनाले उम्मेदवारी फिर्ता गरेका छन्। शिशिरकुमार भट्ट, रामचन्द्र सांघाई, रामकृष्ण प्रसाई, उदीप श्रेष्ठ, शंकर श्रेष्ठ, प्रकाश गिरी, सिए नारायण र अनिल कुमारले उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रदेश नम्बर १ को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मित्रप्रसाद काफ्ले,  २ का विजय कुमार शाह र प्रदेश सातबाट डम्बरबहादुर भण्डारी, माधवप्रसाद भट्ट र देवबहादुर रोकायले उम्मेदवारी फिर्ता लिएका छन् निर्वाचन समितिले जनाएको छ।

७ जना निर्विरोध

महासंघको यस वर्षको अधिवेशनमा एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालसहित ७ जना निर्विरोध निर्वाचित भएका छन्। सोमबार राति प्रकाशित उम्मेदवारको अन्तिम नामावली विवरण अनुसार प्रदेश नम्बर २, ३, ५ र ७ नम्बरबाट केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्। २ बाट वीरगत्र्ज उद्योग वाणिज्य संघका गणेशप्रसाद लाठ, ३ बााट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कमलकुमार श्रेष्ठ, ५ बाट नवलपरासी उद्योग वाणिज्य संघका भीमबहादुर थापा क्षेत्री र ७ बाट डडेल्धुरा उद्योग वाणिज्य संघका प्रकाशबहादुर साउद निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै संस्थापक सदस्य समूहबाट केन्द्रीय सदस्यमा मोरङ ब्यापार संघका अविनाश बोहरा निर्विरोध निर्वाचित भएका छन्। द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल थाई उद्योग वाणिज्य सघका अजय मुडवरी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.