|

लहान : सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहाको दलित बस्तीमा सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको दलित बस्ती जलेर सखाप भएको छ। सिम्राहाको दक्षिण पुछारमा रहेको बस्ती जलेर खरानी भएपछि पीडितहरुको बिचल्ली भएको छ।

लहानबाट करिब १० किलोमिटर दक्षिण पूर्वको बस्तीमा साँझ करिब छ बजेदेखि सल्केको आगो लहान, गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा राती १० बजेतिर निभाइएको इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीले प्रहरीले जानकारी दिए।

बस्तीका महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर स्थानीय जोगिन्द्र मण्डलको परालको कुन्यूमा सल्किएपछि आगलागी फैलिएको हो। पश्चिम दक्षिणतिरबाट साँझसम्म हावा चलेपछि बस्तीका घरहरु जलेर सखाप भएको हो।

बालबालिका र बृद्धबृद्धाको बिचल्ली

तत्कालीन सखुवा नन्कारकट्टीका पूर्व गाविस अध्यक्ष रामकिसुन साहले आगलागीमा परेकाहरुलाई सोमबार राती गाउँलेहरु मिलेर चिउरा चिनी बाँडेको बताए। ‘आगालागीमा बस्तीमा रहेको करिब एक दर्जन खानेपानीको कल समेत जलेपछि खानेपानीको हाहाकार भएको छ’ पूर्व अध्यक्ष साहले भने ‘छिमेकी गाउँबाट पानी ओसारेर पीडितहरुलाई खुवाउँदै छौं।’

आगलागीमा २९ घरपरिवारको बस्ने ६० भन्दा  बढी घर गोठ जलेपछि रातभर बस्तीका बालबालिका, बृद्धबृद्धाहरु बस्ती नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। ‘गर्मीको मौसम, आगलागीको तातो र धुँवामा रातभर निदाउन सकेनौं’ स्थानीय पीडित घुरन मण्डलले भने।

केही जोगाउन सकनौं : पीडित    

‘गहुँ भित्र्याउने समय भएकाले गाउँदेखि पश्चिमपट्टिको खेतमा गहुँ काट्दै थिएँ, गाउँमा आगोको मुस्लो देखेपछि हतारिएर घर आइपुग्दा नपुग्दै सबै जलेर खरानी भइसकेछ’ मंगलबार बिहान घटनास्थल पुग्दा स्थानीय बृद्ध बिन्दुलाल मण्डल भन्दै थिए ‘धान बेचेर जग्गा किन्न राखेको दस हजार नगदसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, टेलिभिजन, फर्निचरका सामान, गरगहना केही झिक्न पाइनँ।’

उनका छोरा हरेराम मण्डलले पनि नयाँ वर्षमा घर निर्माणको काम गर्ने मजदुरहरुलाई दिन ल्याएको दुई लाख नगदसहित शरीरमा लगाउने लुगा बाहेक सबै आगलागीमा सखाप भएको गुनासो गरे। त्यस्तै, दुःखेसो गरे उनका दाजु राजकुमार मण्डलले पनि। ‘वैदेशिक रोजगारबाट फर्किदा ल्याएको एलसिडी टेलिभिजन, गरगहना, नगद तीन लाख, अन्नपात सबै जलेर खरानी भयो’ उनले सुनाए।

डेढ करोड बढीको क्षति : प्रहरी

आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव निरीक्षक चौधरीले बताए। प्रहरी नायव निरीक्षक चौधरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा जलेर मरेको छ। आगलागीमा मानवीय क्षति नभएपनि प्रायः सबै घरका अन्नपात, नगद, गरगहना, लत्ताकपडा, फर्निचर, विद्युतीय सामान जलेर खरानी भएको छ।

घटनास्थल पुग्दै राहत टोली  

सिङ्गो दलित बस्ती जलेर सखाप भएको १६ घण्टापछि जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक समेत रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण अधिकारीसहित नेपाल रेडक्रस सोसाइटी सिरहाका पदाधिकारीहरुको राहत टोली अहिले बिहान साढे ९ बजे घटनास्थल पुगेको छ। राहत टोलीले पीडित परिवारलाई त्रिपाल, भाँडावर्तन, कपडा, खानेकुरा लगायतका अत्यावश्यक सामग्री बाँड्ने सिरहा रेडक्रसका सभापति राजदेव यादवले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.