|

काठमाडौं : काठमाडौं महानगरपालिका– ६ दिव्यनगरमा मंगलबार अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते दावा लामा उपत्यकामा रहेर गुण्डागर्दीमा संलग्न पेशेवर गुण्डा हुन्। दिव्यनगरस्थित दिव्या पार्टी प्यालेसबाहिर मंगलबार बिहान एक युवकले लामालाई निसाना बनाएर गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उनी जिम गर्नका लागि हरेक दिन त्यहाँ जाने गरेका थिए।

पछिल्लो समय नेपाली कांग्रेसका सांसद तीर्थ लामासँग सुमधुर सम्बन्ध बनाएका दावा लागू औषध कारोबारको अभियोगमा ६ महिना जेल बसेर करिब १ वर्षअघि छुटेका थिए। स्रोतका अनुसार जेलमा छँदा दावालाई भेट्न सांसद लामा बारम्बार महानगरीय प्रहरी परिसर काठमाडौं जाने गर्दथे।

करिब एक दशकदेखि गुण्डागर्दीमा संलग्न दावामाथि ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेको, बुद्धचित्तको माला लुटेको, क्यासिनोमा जुवा खेल्नेलाई मिटर व्याजमा पैसा लगानी गर्ने गरेको लगायतका आरोप छन्। उनी जुवा खेलाउन र जुवाको खालबाट रकम असुल्न कुख्यात मानिन्छन्। लामाले नेपाल प्रहरीका केही अधिकृतको रकमसमेत मिटर व्याजमा चलाउने गरेको स्रोत बताउँछ।

गणेश लामाको ग्याङबाट छुट्टिएर कुमार घैंटेको ग्याङमा पुगेका दावाले घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि आफैँ असुली धन्दाको नेतृत्व गर्दै आएका थिए। एक महिनाअघि मात्र अर्का डन राम गिरीको रेष्टुरेष्ट ‘देवाजु’ मा उनै गिरीसँग झगडा गरेपछि दावालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसक्रममा उनलाई १३ दिनसम्म हिरासतमा राखिएको थियो।

घैंटेको मृत्युपश्चात दावा काभ्रेकै उमेश लामासँग मिलेर युवती प्रयोग गरी काठमाडौंका मारवाडी समुदायका व्यापारीसँग रकम असुल्ने धन्दामा समेत स‌ंलग्न रहेको स्रोतको दाबी छ। युवतीलाई कल गर्लको रुपमा उपयोग गर्ने र व्यवसायीलाई महिलामाथि दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गरेर रकम असुल्ने उनको मुख्य धन्दा हो। उनको यही जालमा परेका एक व्यवसायी यौन हिंसाको आरोपमा अझै पनि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा छन्।

दावा काभ्रेको कोशीपारीस्थित साविकको भुम्लुटारका स्थायी बासिन्दा हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.