|
फोटो : डीपीएलको फेसबुक पेज

काठमाडौं : धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपीएल) मा शरद भेषावकर नेतृत्वको विराटनगर किङ्सले पारस खड्का नेतृत्वको धनगढी टिम चौराहालाई पराजित गरेको छ। २३ रनले विजयी हुने क्रममा भेषावकरले अलराउण्ड प्रदर्शन गरे। ४६ रन जोड्दै ३ विकेट लिएका भेषावकर म्यान अफ दि म्याचसमेत घोषित भए।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन जोड्यो।

उसका लागि अमर रौतेलाले सर्वाधिक २६, अनिल मण्डलले २४, राजु रिजालले १३ र सौरभ खनालले १० रनको योगदान गरे। कप्तान पारस खड्का २ तथा प्रेम तामाङ, आरिफ शेख र रामनरेश गिरी समान १ रनमा आउट हुँदा पृथु बास्कोटाले ९ र सुसान भारीले ५ रन जोडे।

विजयी टिमका लागि भेषावकर र सुशील कंडेलले समान ३, जितेन्द्र मुखियाले २ तथा दीपेन्द्र ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो।

उसका लागि भेषावकरको ४६ रनका अलावा अनिल साहले २८, प्रनित थापा मगरले २१, अमित श्रेष्ठले १९ र आशिफ शेखले १० रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरी गोल्डेन डक हुँदा पवन सर्राफले अविजित २ रन जोडे। चौराहाका लागि ललित राजवंशीले २ तथा सुसान भारी, रामनरेश गिरी र आरिफ शेखले १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.