|

एजेन्सी : नेपाली समयअनुसार आज मध्यराती १२ बजेर ३० मिनेट जाँदा विश्‍वका दुई ठुला क्लब बार्सिलोना र युभेन्टस् युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भिड्दै छन्। यी दुई टिमले मध्यराती पहिलो लेग युभेन्टसको मैदान टुरिनमा खेल्नेछन् त्यसपछि अर्को बुधबार (अप्रिल १९) मा बार्सिलोनाको क्याम्प नोउ मैदानमा प्रतिस्पर्धा गर्नेछन्। 

पछिल्ला २ सिजन लगातार स्पेनिस ला-लिगाको उपाधि जितेको बार्सिलोना र पछिल्ला ५ सिजन लगातार इटालियन सिरिए जितेको युभेन्टस दुबै युरोपका शक्तिशाली टिम हुन्। यी दुई टिमबीच सन् २०१५ को च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा भएको थियो।

जहाँ युभेन्टसलाई ३-१ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्यो। बार्साले त्यस सिजन च्याम्पियन्स लिगसहित २ घरेलु प्रतियोगिता (ला-लिगा र कोपा डेल रे) जितेको थियो। त्यस्तो अद्‍भूतपूर्व सफलता हासिल गरेको ६ सय ७७ दिनपछि बार्सिलोनाले फेरि युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ।

यसपटक पनि अहिलेसम्म बार्सिलोनाले ३ वटै प्रतियोगिताका लागि दाबेदारी पेश गरिरहेको छ। तर स्पेनिस ला-लिगामा रियल म्याड्रिडभन्दा बार्सिलोना ६ अंकले पछि छ। बार्साले कोपा डेल रेको फाइनलमा २७ मेइमा अलाभासँग प्रतिस्पर्धा गर्नेछ।

युभेन्टस पनि यस सिजन च्याम्पियन्स लिगसँगै इटलीका दुई ठुला प्रतियोगिता इटालियन सिरिए र कोपा इटालिया जित्ने दाउमा छ। २ जुनमा हुने कोपा इटालियाको फाइनलमा युभेन्टसले लाजियोसँग प्रतिस्पर्धा गर्नेछ। इटालियन सिरिएमा युभेन्टस् शीर्ष स्थानमा छ।

स्पेनिस ला-लिगाको पछिल्लो खेलमा मालागासँग २-० ले पराजित भएपछि झस्किएको बार्सिलोना च्याम्पियन्स लिगको पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल प्रवेशको संभावना बलियो बनाउन चाहन्छ। त्यसका लागि उसले युभेन्टसको घरेलु मैदान टुरिनमा जित निकाल्नुपर्छ।

प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्माइन (पीएसजी) सँग ४-० ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको  क्वाटरफाइनलमा स्थान बनाउने क्रममा चमत्कारिक खेल देखाएको थियो। घरेलु मैदान क्याम्प नोउमा उसले पेरिस सेन्ट जर्माइनलाई ६-१ ले हराएर समग्रमा ६-५ को नतिजासहित सेमिफाइनल यात्रा गरेको हो।

आक्रामक खेल्न खोज्दा डिफेन्समा देखिएको भ्वाङलाई बार्सिलोनाले पीएसजीसँगको पहिलो लेग खेलपछि राम्रोसँग बुझेको हुनुपर्छ। तर, प्रि-क्वाटरफाइनलको दोस्रो खेलमा बार्सिलोनासँग आक्रामक खेल्नुको विकल्प थिएन। बार्सिलोनाले आफ्नो आक्रमण क्षमता प्रमाणित गर्‍यो पनि र नतिजा उल्ट्याउँदै युभेन्टससँगको भेट पक्का गर्‍यो। 

अब, युभेन्टससँग प्रतिस्पर्धा गर्नुअघि बार्सिलोनाले आक्रमणसँगै डिफेन्सलाई पनि उत्तिकै ध्यान दिनेछ। जसका कारण पीएसजी विरुद्ध जस्तो 'डु अर डाई' को अवस्थामा क्याम्प नोउमा युभेन्टस विरुद्ध उत्रन नपरोस्। 

युभेन्टस सिरिएको शीर्ष टोलीमात्रै होइन। लगातार छैटौंपटक उपाधिको नजिक पुगेको टोली हो। पछिल्लो समय घरेलु लिग तथा नकआउट प्रतियोगितामा अद्‍भूतपूर्व सफलता चाखेको युभेन्टसको लक्ष्य युरोपमा आफ्नो साख फर्काउनु नै हो। त्यसैले युभेन्टस चाहन्छ उपाधिका लागि एक कदम अघि बढ्ने। 

प्रमुख प्रशिक्षक मासिमिलियानो अलिग्रीको प्रशिक्षणमा रहेको युभेन्टसका लागि लुइस एनरिकेको बार्सिलोना  विरुद्धको भिडन्तले एउटा म्याचको भन्दा धेरै अर्थ राख्नेछ। अलिग्रीले सन्तुलित टोली तयार पारेका छन्।

सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग पराजित युभेन्टस् र अहिलेको युभेन्टसबीच धेरै अन्तर छ। धेरैले त्यतिबेलाको टोलीभन्दा अहिलेको टोली उत्कृष्ट रहेको दाबी गरेका छन्। हुनत : त्यतिबेला चम्किएका पाउल पोग्बा अहिले क्लबमा छैनन्। तर युभेन्टसको अग्रपंक्ति विपक्षीका लागि पहिलेभन्दा खतरनाक देखिएको छ।

घरेलु मैदानमा अगस्ट २०१५ पछि युभेन्टस अपराजित छ। बार्सिलोनाले भने आफ्ना पछिल्ला ५ अवे खेलमध्ये ३ खेल गुमाएको छ।  

यी दुई टोली भिड्दा बार्सिलोनाले जित हासिल गर्छ या गर्दैन भन्ने विषय मात्रै नभएर उसले अवे गोल गर्न सक्छ वा सक्दैन भन्ने विषयले पनि महत्वपूर्ण अर्थ राख्छ। यस खेलमा गोल गर्न सके बार्सिलोना आफ्नो घरेलु मैदान क्याम्प नोउमा अर्को साताको बुधबार हुने खेलमा नतिजा उल्ट्याउन सक्ने अवस्थामा हुनेछ।

यस खेललाई डेनी अल्भेस र नेइमारबीचको भिडन्तका रुपमा पनि हेरिएको छ अर्थात बार्सिलोनाको विगत र बार्सिलोनाको वर्तमानबीचको प्रतिस्पर्धा। जाभीले टोली छाडेपछि बनेको नयाँ संरचनाको टोलीको खेल कौशलका रुपमा पनि।

युभेन्टसका डेनी अल्भास बार्सिलोना जति छिटो थिए। अहिले त्यति छिटो नहुन सक्छन्। तर अझै पनि रणनीतिक रुपमा उनी मैदानमा देखिने कमैमात्र क्षमतावान् खेलाडीमध्ये एक हुन्। बार्सिलोनामा हुदाँ जाभी र मेसीसँग उनको राम्रो संयोजन थियो। टिमको डिफेन्सदेखि आक्रमणसम्मलाई जोड्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

अहिले टुरिनमा उनले त्यस्तै गर्दैछन्। जे बार्सिलोनामा छँदा गरेका थिए। उनलाई लियोनार्दो बोनुसी, क्लाउडियो मारचिसो, सामी खादिरा लगायत खेलाडीहरुको साथ छ। त्यसैले यस खेलमा अल्भासको गतिलाई चिनेर नेइमारले कसरी अग्रपंक्तीमा खेल्छन् भन्‍ने कुराको प्रभाव महत्वपूर्ण रहनेछ। 

यसबाहेक जाभीले क्लब छाडेपछि बनेको मेसी, इनिस्टा र राकिटिकको जोडीले 'अवे' खेलमा देशबाहिरको ठुलो टोली विरुद्ध आफ्नो दम्भ प्रस्तुत गर्न सक्छ या सक्दैन भन्ने बुझ्न पनि यो खेल महत्वपूर्ण हुनेछ। नेइमार,मेसी र सुआरेजको आक्रामक संयोजन खेलको आकर्षण हुने नै भयो।

उनीहरुलाई अल्भास, बोनुसी,चिल्लिनी,सान्द्रो र खादिरा जोडीले कसरी चल्न दिदैंन भन्‍ने हेर्न पनि यो खेल महत्वपूर्ण साबित हुनेछ। अर्को पाटो मारचिसो,क्वाडराडो,प्याजिनक र डायबलाले खेललाई कसरी नियन्त्रणमा राख्न सक्छन् भन्ने पनि हो।

पछिल्ला ६ खेलमध्ये बार्सिलोनाले ४ खेल जितेको छ भने २ खेल हराएको छ। युभेन्टसले ४ खेल जितेको छ एक खेल हारेको छ र एक खेलमा बराबरी खेलेको छ।  

संभावित टोली :

बार्सिलोना (३-४-३)

टेर स्टेगेन, जाभियर मास्चिरानो, जेरार्ड पिके,उम्टिटी,रोबर्टो, राकिटिक,इनिस्टा, अल्बा,मेसी,सुआरेज, नेइमार

युभेन्टस (४-२-३-१)

बुफोन, अल्भास, बोनुसी,चिल्लिनी,सान्द्रो,खादिरा,मारचिसो, क्वाडराडो,प्जानिक, डायबला,हिगुइन

च्याम्पियन्स लिगअन्तर्गत यही समयमा अर्को खेलमा फ्रेन्च क्लब मोनाको र जर्मन क्लब  बोरुसिया डर्टमुन्डबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.