देउवाले भने : मधेस र पहाडबीच झगडा गराउन एमालेले षडयन्त्र गर्‍यो

|

रुपन्देही : नेपाली कांग्रेसले रुपन्देहीमा शक्ति प्रदर्शन गरेको छ। देशव्यापी अभियान अन्तरगत कांग्रसले प्रदेश नम्बर पाँचको रुपन्देही सदरमुकाम भैरहवामा शक्ति प्रदर्शन गर्दै सभा गरेको हो।

शान्ति, सद्भाव, राष्ट्रिय एकता तथा निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्न भन्दै आयोजना गरिएको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शसांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेस र पहाडबीच झगडा गराउन एमालेले षडयन्त्र गरेको आरोप लगाएका छन्। एमालेका नेताहरुले पहाडी राष्ट्रवाद भन्दै मधेस र मधेसी समुदायलाई गाली गरेर नेपाली नेपालीबीच झगडा गराउन खोजेको उनको आरोप छ।

देउवाले एमालेले राष्टियताको खण्डित परिभाषा लिएर हिँड्दा राष्ट्रियता कमजोर हुने समेत बताए। ‘मधेसी समुदाय सीमामा बसेर सीमाको रक्षा गरिरहेका छन्', उनले भने 'त्यसकारण उनिहरुको सम्मान र कदर हुनु पर्छ।’

मधेसी समुदायको भावनाको कदर गर्दै कांग्रेसले सविधान संशोधन  प्रस्ताव ल्याएको र उक्त प्रस्ताव पास हुन नदिन एमालेले षडयन्त्र गर्दै मधेस र पहाडको झगडा हुने गरी अभिव्यक्ति दिँदै हिँडेको देउवाले बताए।

सविधानले सबैका हक र अधिकार सुनिश्चित गरेको भन्दै उनले अब सविधान कार्यान्वयन गरी मुलुकलाई विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य रहेको समेत बताए। संघीय लोकतान्त्रिक सविधानले काठमाडौ र सिहंदरवारमा सीमित रहेको अधिकार गाउँ तथा जनताको हातमा लिएर आएको भन्दै उनले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै एक जुट भएर लाग्न आग्रह गरे।

पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्ने अधिकार स्थानीय तहमा नै दिएकाले विवादरहित र राम्रो मान्छेलाई उम्मेदवार बनाउन समेत उनले जिल्ला नेताहरुलाई निर्देशन दिए। 'हाम्रो मान्छे होइन राम्रो र जनताले विश्वास गर्नेलाई छनोट गर्नुहोला', उनले भने 'नेता छान्ने अधिकार तपाईहरुलाई छ। विवाद नगरी पार्टी एकताबद्ध हुने गरी उम्मेदवार चयन गर्नू।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतामा आएको अधिकारलाई संस्थागत गर्ने मौका निर्वाचन भएको भन्दै निर्वाचनका बारेमा कुनै पनि द्विविधा नराख्न आग्रह गरे। ‘निर्वाचन मार्फत सिहंदरबारको अधिकार मर्चवारमा आउदै छ', उनले भने 'सिहंदरवारको अधिकार जनतामा आउन लागेकाले जनताको अधिकार कसैले रोक्नुहुदैन।’

गाउँ र नगरलाई अधिकार दिने सन्दर्भमा मधेसी मोर्चा बिचलित हुन नहुने र एमालेले उग्र राष्टबादको नारा लिएर समुदाय समुदायबीच झगडा गराई निर्वाचनको वातावरण बिगार्न नहुने उनको भनाइ छ। राष्ट्रियताको खण्डित परिभाषा लिएर जाति, समुदाय तथा धर्मको नारा लगाउनु लोकतन्त्रको परिभाषाभित्र नपर्ने उनको तर्क थियो।

महामन्त्री डा सशांक कोइरालाले मुलुक निर्वाचनमय भइसकेको भन्दै अब कुनै पनि हालतमा निर्वाचन नरोकिने प्रस्ट्याए। हालसम्मका सबै परिवर्तन र जनताको अधिकार स्थापित गर्नमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै अब संघीय लोकतान्त्रिक सविधानलाई संस्थागत गर्न पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको औल्याए। गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले पछिल्लो समय निर्वाचनको लागि एमाले बाधक बनेको आरोप लगाए।

निर्वाचनका लागि राष्ट्रिय सहमति हुन नदिई पहाड मधेसबीच द्वन्द्व बढाउन एमाले लागे पनि अब निर्वाचन नरोकिने उनले बताए। यस्तै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले स्थानीय तहको निर्वाचन जनताको अधिकार सुनिश्चित गर्नका लागि भएको भन्दै निर्वाचन जनताको अधिकार र जनताको बिजयको रुपमा रहेको बताए।

उनले यो निर्वाचनमा कसले जित्छ र कसले हार्छ भन्ने भन्दा पनि निर्वाचन मार्फत जसले जितेपनि जनताको अधिकार स्थापित हुने बताए।

आमसभाअघि भैरहवाको देवकोटा चोकबाट हजारौं कार्यकर्ता र्‍यालीमा सहभागी भएका थिए। सांस्कृतिक झाँकी सहितको र्‍याली कार्यक्रमस्थल गल्लामण्डी हनुमान मन्दिर पुगेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.