|

  • गोविन्द महतो

जनकपुरधाम : चिकित्सक र कर्मचारीको आन्दोलनका कारण जनकपुरस्थित जानकी मेडिकल कलेज दुई महिनादेखि बन्द भएपछि विद्यार्थी र बिरामीहरु समस्यामा परेका छन्। अस्पताल गत फागुन २ गतेदेखि बन्द छ।

१३ महिना देखिको तलबभता एकमुष्ट पाउनुपर्ने माग राख्दै चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रेपछि मेडिकल कलेजको जनकपुर ब्रम्हपुरीस्थित सिटी अस्पताल दुई महिना देखि बन्द छ। अस्पताल बन्द भएपछि कलेजमा अध्यनरत विद्यार्थी र बिरामी समस्या परेका हुन्।

अस्पतालको कामकाज बन्द भएपछि चिकित्सा शास्त्रका विद्यार्थीको प्रयोगात्मक कक्षा रोकिएको छ।

के भन्छन् कर्मचारी?

कलेज व्यवस्थापनलाई पटक–पटक ताकेता गरेपनि तलब भता दिन चासो नदिएका कारण कामकाज बन्द गर्नुपरेको कर्मचारीको भनाई छ। लामो समयदेखि तलबभत्ता नपाएपछि घरखर्च चलाउन समेत समस्या भैरहेको कर्मचारीले बताएका छन्।

व्यवस्थापनले तलबभत्ता चुक्ता गर्न र पुनः अस्पताल सञ्चालन गर्न पहल नगरेको कर्मचारीहरुको आरोप छ।

उठेको शुल्कमा भागबन्डा

दुई वर्षपछि पुनः विद्यार्थी भर्ना गर्न अनुमति पाएको कलेजमा यसपटक करिब ५० जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीले बुझाएको शुल्क सञ्चालकले भागबन्डा गरिसकेका छन्। विद्यार्थीहरु मध्ये अधिकांशले किस्ताबन्दीमा शुल्क बुझाउने सहमति गरेका छन्।

कलेज र अस्पताल सञ्चालनका लागि दैनिक खर्च समेतको अभाव रहेको अस्पतालले जनाएको छ। तेस्रो र चौँथो वर्षका विद्यार्थीको प्राक्टिकल कक्षा रोकिएको छ।  

कलेजका एकजना सञ्चालकका अनुसार कलेजको आम्दानीले अहिले सञ्चालन खर्च समेत उठ्दैन। ‘मासिक १ करोड ब्याज, डेढ करोड तलब, बिजुली, इन्धनलगायतका सबै खर्च धान्न महिनाको झन्डै ३ करोड चाहिन्छ’, उनी भन्छन्। अस्पताल र कलेजमा गरी करिब पाँच सय कर्मचारी कार्यरत छन्।

कलेज बिक्रीको हल्लाले कर्मचारी त्रसित

उता १३ महिनादेखि तलब रोकिएका कर्मचारी भने कलेज बिक्रीको हल्लाले त्रसित छन्।

सञ्चालन खर्च र बैंकको ब्याज तिर्न कलेज बिक्रीमा राखेको कलेज सञ्चालक समितिका एक सञ्चालकले बताए। कलेजको ऋण १ अर्ब १० करोड र कर्मचारीको तलब करिब २० करोड बाँकी रहेको ती सञ्चालकको भनाइ छ।

यस्तै, विद्यार्थीको मेस तथा अन्य खर्चबापत करिब २० करोड उधारो रहेको तथा कर, विद्युत शुल्क गरी करिब डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको ती सञ्चालकले बताए।

कलेजको समस्या निवारणका लागि नयाँ व्यवस्थापन पक्षले कलेज बिक्रीमा राखेपछि पुराना सेयरधनी पनि त्रसित बनेका छन्। कलेजका पुराना सेयर धनी मध्येका बलराम गुप्ता, समीर ढुंगना र उनकी श्रीमतीले सेयर बापतको करिब २५ करोड नपाएको बताएका छन्।

विद्यार्थीले कलेज सञ्चालक माथि ठगी मुद्दा दर्ता गराउने तयारी गरेपछि ढुंगाना र गुप्ताले उधारोमा कलेज बिक्री गरेका थिए।

कलेजलाई धनुषाबाट सार्ने तयारी भइरहेको र एक भारतीय नागरिकसँग नयाँ व्यवस्थापनले कलेज बिक्रीबारे कुराकानी गरिरहेको कलेजका एक कर्मचारीले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.