|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : बाह्रविसे र मेलम्ची बजारबाट निस्कने फोहोर ढल सिधैं सुनकोसी र इन्द्रावती नदीमा मिसाउँदा बजारक्षेत्रका नदीहरु प्रदूषित हुन थालेका छन्।

फोहोरजन्य पदार्थ दैनिक नदीमा मिसाउने काम नरोकिँदा बजार क्षेत्रका सबै नदीहरु दूषित छन्। समयमा नै ढल निकासा र फोहोर व्यवस्थापनको मापदण्ड नबन्दा नदी दूषित हुन पुगेका हुन्। 

बाह्रबिसे, लामोसाँघु, सुकुटे, बलेफी, खाडीचौर, मेलम्ची लगायत बजार क्षेत्र भएर बग्‍ने नदीहरुमा ढल, फोहोर जस्ता सबै अनावश्यक वस्तुहरु मिसिएको छ।

बाह्रबिसे, खाडीचौर, जलविरे भएर बग्‍ने सुनकोसी, भोटेकोसी, ब्रम्हायणीदेखि उत्तरी गाउँ हेलम्बु हुदै बग्‍ने मेलम्ची खोला र धार्मिक पर्यटकीय क्षेत्र पाँचपोखरी हुदै बग्‍ने इन्द्रावती खोलामा तिम्बु, चनौटे, ग्यालथुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटी, तिपेनीका ढल सिधै निकास हुन्छ।

निकासी गर्ने ठाउँ नभएको स्थानीयको गुनासो

खुला बजार क्षेत्र विकासका कारणले गर्दा ढल निकासी गर्ने ठाउँ नभएको स्थानीयबासी बताउँछन्। ‘इन्द्रावती नदी बजारबाट गएको ढलले गर्दा प्रदुषित भएको छ,’ मेलम्ची नगरपालिकाका स्थानीय लेखनाथ खतिवडाले भने ‘उचित मापदण्ड बनाएर नदी संरक्षणमा सम्बन्धित निकायको ध्यान किन जान सकिरहेको छैन।’

बजारमा उत्पन्‍न फोहोर अन्त कतै फाल्ने ठाउँ नभएकाले समस्या सिर्जना भएको हो। बगरमा गिटी बालुवा झिक्ने तथा माछा मार्न विभिन्‍न विषादीको प्रयोग हुने गरेका कारण नदीहरु थप प्रदूषित छन्।

पर्यटक आगमनमा कमी

राजधानी लगायत अन्य स्थानबाट पिकनिक मनोरन्जन गर्न पर्यटक धेरै आउने गरेको भएपनि नदीमा प्रदूषण बढेपछि पर्यटकको आगमनमा कमी आएको छ।  ‘यो समस्या जिल्लाभर छ,’ मेलम्ची नगरपालिकाका युवा समिर थापामगर भने ‘घुमघामको लागि आउने पर्यटकमाथि समेत असर पुगेकाले पर्यटकमा कमी हुँदै गएको छ,’ उनले भने।

प्रदुषणकै कारणले पर्यटक आगमन घट्ने भएपछि प्रदूषण रोक्न सम्पुर्ण नगरबासी युवाले ध्यान दिनुपर्ने उनको भनाइ छ।

व्यवस्थापनमा वेवास्ता  

नदी स्वच्छ र सफा राख्‍न सम्बन्धित प्रशासनले नियम सहितको नदी संरक्षण व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बजार क्षेत्रका स्थानीयहरु बताउँछन्। मेलम्ची नगरपालिकामा नदी छेउछाउमा बसोबास गर्दै आएका माझी समुदायमा यसले ठूलो असर पुगेको र बेलैमा प्रदुषण नियन्त्रण नगरे यसले विभिन्‍न किसिमका रोग निम्त्याउने माझी समुदायका अगुवा पूर्ण माझी बताउँछन्।

नदी किनारमा खुलेका रिसोर्ट, होटेल,कारखाना, उद्योगहरुले नदीमा प्रदूषण बढाउँदै लगेको उनले बताए। सरकारी कार्यालयले उचित ढल व्यवस्थापनको उचित प्रबन्ध नगरेकाले नदीमा ढल मिसाएको बजारका बासिन्दाहरुको भनाइ छ।

ढल निकासी व्यवस्थित हुँदै 

खोलाकिनारमा बढ्दै गएको फोहोर र ढल निकासी व्यवस्थित गर्न नगरपालिकाले पहल गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख पूर्णप्रसाद दुलाल बताउँछन्।

‘बजारको ढल सिधै खोलामा हालिएको छ। त्यो अब छिट्टै हटाई ढल व्यवस्थापन गर्नमा लाग्‍नेछौं,' दुलालले भने। ढल निकासीको लागि सेफ्टी ट्यांकीको निर्माण समेत भैसकेको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।

ढल निकासीका लागि सेफ्टी ट्यांकी बन्दै 
बाह्रबिसेमा नदी सफा राख्‍न सबै स्थानीय नै मिलेर बाह्रबिसे ढल समिति बनाएका छन्। उनीहरुले सेफ्टी ट्यांकी निर्माण गरेका छन्। ढल निवारण गर्न बाह्रबिसे, राम्चेका केही स्थानीय मिलेर यो काम थालेका हुन्।

‘सामुहिक रुपमा २ वटा ट्यांकी बनाइसकेका छौं,’ स्थानीय टोल सुधार समितिका कोषाध्यक्ष उद्धव तिवारीले भने, ‘आधाजस्तो बजारमा अझै ढल खोलामा मिसाइँदैछ।’ उनका अनुसार नदी सफा राख्‍ने चेतनाको अभावमा बजार क्षेत्रका नदी प्रदुषित हुँदै गइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.