|

जनकपुर : टयाङ्कर चालकहरुको आन्दोलनका कारण जनकपुरसहित मध्य तराइका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ। ४३ हजार देखि ५० हजार सम्म तलब भता उपलब्‍ध गराउनुपर्ने माग राख्दै चालकहरुले ढुवानी ठप्प गरेपछि धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको हो।

भारत बिहारको बरौनीबाट इन्धन ढुवानी हुन नसकेपछि तीन वटै जिल्लाका पेट्रोल पम्पहरु विगत १२ दिन देखि बन्द छन्। जसका कारण  उपभोक्ताहरु मर्कामा छन्। 

चालकहरुले बाटोमै टयाङकरबाट इन्धन निकालेर बेच्‍ने गरेको तथ्य फेला परेका कारण नयाँ चालक राखेर ढुवानी गर्न लागिएको पेट्रोलियम डिलर्स एशोसिएशन जनकपुरका प्रथम उपाध्यक्ष बजंरग प्रसाद साहले बताए। उनले केही दिनभित्र आपुर्ति सहज हुने दाबी गरे।

पेट्रोल पम्पहरुमा इन्धन पाउन छाडेपछि बजारमा कालोबजारी बढेको छ। १ सय १ रुपैयाँ प्रतिलिटर पाइने पेट्रोल १ सय ४० रुपैयाँ देखि १ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ। यस विषयमा प्रशासन मौन रहेको स्थानीय देवकुमार महतोको गुनासो छ।

धनुषा, महोत्तरी र सिन्धुलीमा रहेका १ सय २० वटा पेट्रोल पम्पहरुमा दैनिक ५ लाख लिटर भन्दा बढि इन्धनको माग हुन्छ। धनुषा जिल्लाका लागि बरुनीबाट आउने गरेको पेट्रोल आउन नसकेपछि वैकल्पिक व्यवस्था गरेर अमलेखगञ्जबाट २० ट्याङकर डिजल तथा पेट्रोल मगाएर वितरण गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईले जानकारी दिए।

जसमध्ये १३ टयाङ्कर डिजेल र ७ ट्याङकर पेट्रोल ल्याइएको उनले जानकारी दिए। उनले अबको एक-दुई दिनमै पेट्रोलियम पदार्थको अभाव हट्ने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.