|

काठमाडौं : सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको मिति आउन एक महिना बाँकी रहँदा दलहरू चुनावी कसरतमा तीब्र रूपमा सक्रिय भएका छन्। विशेषगरी मुख्य दलहरूले चुनावी तयारीका लागि पार्टीका विभिन्न पङ्क्तिलाई परिचालन गरिसकेका छन्। 

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेपछि दलहरूले त्यहीअनुसार आफ्ना उम्मेदवार छनोटको मापदण्डसमेत तय गरी उम्मेदवार छनोट गर्ने मितिसमेत तोकिसकेका छन्।

पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जनतामा उत्साहसमेत देखिएको छ। शहरमा रहनेहरू पनि चुनावका लागि गाउँ फर्किन थालेका छन्। संविधानअनुसार स्थानीय तहको पुनर्संरचना गरिएपछि अधिकार जनताकेन्द्रित हुने भएकाले जनतामा उत्साह छाएको छ।

मुलुकको राजधानी काठमाडौं उपत्यकामा पनि चुनावी रौनक बढ्दै गएको छ। उपत्यकाका दुई महानगरपालिकासहित यहाँका नगरपालिका, गाउँपालिकाहरूमा समेत चुनावी सरगर्मी बढ्दै गएको छ।

स्थानीय चुनावका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो तयारी थालेको छ। चुनावका लागि एमाले वृत्तमा उपत्यकाका नगरपालिकाहरूमा सम्भावित उम्मेदवारको खोजी गर्दा यस्तो पाइएको छ।

काठमाडौं जिल्ला

एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौं जिल्लामा चुनावी सरगर्मी चुनावको मिति नजिकिएसँगै चुलिएको छ। खासगरी काठमाडौं महानगरपालिकासहित यहाँका बाँकी १० नगरपालिकामा समेत सबै दलले आफ्नो चुनावी तयारी गरिरहेका छन्।

१) कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकामा ६० हजार २३७ जनसंख्या छ। २७ दशमलब ३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा नौवटा वडा रहेका छन्।

यस नगरपालिकामा विपक्षी दल नेकपा एमालेका तर्फबाट पाँच जना एमाले नेताले मेयर (प्रमुख) पदका लागि दाबी गरेका छन्। काठमाडौं जिल्ला सदस्य तथा नगरपालिका संयोजक रामशरण ढुंगाना, जिल्ला सदस्य तथा नगरका सह-संयोजक मणिराम फुँयाल, जिल्ला सदस्य तथा गागलफेदी गाविसका पूर्व अध्यक्ष विश्वराज श्रेष्ठ, डाँछी गाविसका पूर्व अध्यक्ष राजाराम पुडासैनी, गोठाटार गाविसका पूर्व अध्यक्ष कृष्णहरि थापाको नाम प्रमुखका लागि चर्चामा छन्। यीमध्येबाट छनेट गरेर कुनै एकको नाम एमालेले सिफारिस गर्नेछ।

२) कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिकामा १० वडा छन्। १४ दशमलब ७६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ६५ हजार ६०२ जनसंख्या रहेको छ।

यस नगरपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट लक्ष्मीकुमार श्रेष्ठ र विन्दु महर्जनको नाम चर्चामा छ। लक्ष्मीकुमार काठमाडौं जिल्ला सदस्य तथा नगर संयोजक हुन् भने विन्दु जिल्ला सदस्य एवं नगर सह-संयोजक हुन्।

३) गोकर्णेश्वर नगरपालिका

एक लाख सात हजार ३५१ जनसंख्या रहेको गोकर्णेश्वर नगरपालिका ५८ दशमलब ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। नौ वडा रहेको यस नगरपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट तीन जनाको नाम चर्चामा छ। एमाले जिल्ला सदस्य तथा नगर संयोजक हरिकृष्ण श्रेष्ठ, नगर सदस्य उद्धव विष्ट र नगर सदस्य उद्धव खड्काले नगर प्रमुखका लागि दाबी गर्दै आएका छन्।

४) चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकामा १५ वडा छन्। ४३ दशमलब ९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको चन्द्रागिरि नगरपालिकामा ८५ हजार १९८ जनसंख्या रहेको छ।

यस नगरपालिकाको प्रमुखका लागि एमालेका सात जनाले दाबी गर्दै आएका छन्। एमाले काठमाडौं जिल्ला सदस्य तथा नगर संयोजक रामशरण आलेमगर, जिल्ला सदस्य तथा नगर उप-संयोजक प्रह्लाद कार्की, तीनथाना गाविसका पूर्व अध्यक्ष गोपीचन्द्र कार्की, २ नम्बर प्रदेश कमिटिका सदस्य हरिशरण थापा, जिल्ला सदस्य रमा आलेमगर, केन्द्रीय निर्वाचन परिचालन विभागका सदस्य दीपक पनेरु, जिल्ला सदस्य देवीमाया घलेसहित सात जनाको नाम यस नगरपालिकामा चर्चामा छन्।

५) टोखा नगरपालिका

टोखा नगरपालिकामा ९९ हजार ३२ जनसंख्या छ। ११ वडा रहेको यो नगरपालिका १७ दशमलब ११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

टोखा नगरपालिकाको प्रमुखका लागि एमालेका तीन जनाको नाम चर्चामा छ। जिल्ला सदस्य तथा टोखा नगर संयोजक नारायण भाई श्रेष्ठ, क्षेत्र नम्बर ६ का अध्यक्ष प्रकाश अधिकारी र जिल्ला सदस्य मणिराज डंगोलको नाम यस नगरपालिकाको प्रमुखका लागि चर्चामा छन्।

६) तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिका ५४ दशमलब ९५ क्षेत्रफलमा फैलिएको छ। ११ वडा रहेको यस नगरमा ८१ हजार ४४३ जनसंख्या छ।

यस नगरपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट ११ जनाले दाबी गर्दै आएका छन्। तीमध्ये सात जना महिला छन्। प्रमुखका लागि एमाले प्रदेश कमिटीका सदस्य श्याम घिमिरे, जिल्ला सदस्य तथा मनमैजु गाविसका पूर्व अध्यक्ष रामेश्वर बोहोरा, काभ्रेस्थली गाविसका पूर्व अध्यक्ष तथा एमाले जिल्ला सदस्य लेखनाथ फुँयाल, एमाले जिल्ला सदस्य एवं जीतपुर गाविसका पूर्व अध्यक्ष विष्णु अर्यालको नाम चर्चामा छ।

यसैगरी एमाले जिल्ला सदस्य विन्दा बुढाथोकी, पार्टीका क्षेत्रीय उपाध्यक्ष शिवकुमारी अर्याल, जिल्ला सदस्य बत्तिशा महर्जन, अनेमसंघका नगर सचिव सरिता गौतम, अनेमसंघ नगर संयोजक सावित्रा मैनाली, वडा अध्यक्ष सरस्वती जोशी र भानु पौडेलले समेत प्रमुखका लागि दाबी गर्दै आएका छन्। यो काठमाडौं जिल्लामा रहेका नगरपालिकामध्येमा एमालेतर्फबाट सबैभन्दा बढीले प्रमुख पदमा दाबी गरेको नगरपालिका पनि हो।

७) दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिकामा २४ हजार २९६ जनसंख्या रहेको छ। नौ वडा रहेको यो नगरपालिका ४२ दशमलब ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

यस नगरपालिकाको प्रमुख पदका लागि एमालेका चार जनाको नाम चर्चामा छ। एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य गुञ्जमान बस्नेत, जिल्ला सदस्य श्रीराम आचार्य, शेषनारायण गाविसका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँ र एमाले जिल्ला सदस्य इन्दिरा पौडेलको नाम यस नगरपालिकाको नगर प्रमुखका लागि चर्चामा छ।

८) नागार्जुन नगरपालिका

१० वडा रहेको नागार्जुन नगरपालिका २९ दशमलब ८५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। ६७ हजार ४२० जनसंख्या रहेको यस नगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट चार जनाले दाबी गर्दै आएका छन्।

एमालेका जिल्ला सदस्य तथा नगर संयोजक भगवानराज घले, सह-संयोजक नन्दनहरि गौतम, प्रदेश कमिटी सदस्य केशव पोख्रेल, जिल्ला सदस्य प्रकाश श्रेष्ठको नाम नगर प्रमुखका लागि चर्चामा छ।

९) बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिकामा एक लाख सात हजार ९१८ जनसंख्या छ। १३ वडा रहेको यो नगरपालिका ३४ दशमलब ८० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

यस नगरपालिकामा एमालेका तर्फबाट एमाले काठमाडौं जिल्ला पार्टी प्रचार विभाग प्रमुख दीपक निरौलासहित छ जनाको नाम प्रमुखका लागि चर्चामा छ। निरौलासहित एमाले जिल्ला सदस्य विदुरविक्रम खड्का, प्रदेश कमिटी सदस्य उद्धव खरेल, नगर सदस्यहरू बालकृष्ण श्रेष्ठ, कुसुमकुमार कार्की, पूर्व क्षेत्रीय सदस्य जयराम थापाले पनि प्रमुखका लागि दाबी गर्दै आएका छन्।

१०) शङ्करापुर नगरपालिका

यस नगरपालिकामा २५ हजार ३३८ जनसंख्या छ। ६० दशमलब २१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा नौ वडा छन्।

शङ्करापुर नगरपालिकाको प्रमुखका लागि एमालेका चार जनाले दाबी गर्दै आएका छन्। एमाले काठमाडौं जिल्ला सदस्य एलपी श्रेष्ठ, २ नम्बर क्षेत्रका सदस्य सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरू मुना अधिकारी र शुक्रलक्ष्मी श्रेष्ठको नाम पनि यस नगरपालिकामा एमालेतर्फबाट प्रमुखका लागि चर्चामा छन्।

ललितपुर जिल्ला

ललितपुर जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्। ललितपुर जिल्लाका स्थानीय तहको प्रमुख तथा अन्य पदका लागि एमालेले तयारी गरिरहेको छ। ललितपुरमा रहेका गोदावरी र महालक्ष्मी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एमालेका नेताहरू अहिले कसरत गरिरहेका छन्।

१) गोदावरी नगरपालिका

ललितपुरको गोदावरी नगरपालिका ९६ दशमलब ११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। १४ वडा रहेको यस नगरपालिकामा ७८ हजार ३०१ जनसंख्या छ।

यस नगरपालिकाको प्रमुखका लागि एमालेका चार जना उम्मेदवारको नाम चर्चामा छ। एमाले ललितपुर जिल्ला उपाध्यक्ष श्यामकृष्ण सिलवालसहित सचिवालय सदस्य पुरुषोत्तम आचार्य, १ नम्बर क्षेत्रका पूर्व अध्यक्ष चेतनाथ सञ्जेल र ३ नम्बर क्षेत्रका अध्यक्ष रघुनाथ महर्जनले नगरपालिकाको प्रमुखका लागि दाबी गर्दै आएका छन्।

२) महालक्ष्मी नगरपालिका

यस नगरपालिकामा ६२ हजार १७२ जनसंख्या छ। २६ दशमलब ५१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा १० वडा छन्।

महालक्ष्मी नगरपालिकाको प्रमुखका लागि एमालेका चार जनाले दाबी गरेका छन्। इमाडोल गाविसका पूर्व अध्यक्ष किशोर केसी, एमाले ललितपुर जिल्ला सदस्य तथा आर्थिक विभाग प्रमुख हरिगोविन्द श्रेष्ठ, सचिवालय सदस्य रामेश्वर श्रेष्ठ र एमाले केन्द्रीय उपभोक्ता हित संरक्षण विभागका सचिव सूर्यबहादुर थापाको नाम यस नगरपालिकाको प्रमुखमा चर्चामा छ।

भक्तपुर जिल्ला

उपत्यकाको भक्तपुर जिल्लामा चार नगरपालिका छन्। उपत्यकाका अन्य जिल्लासरह भक्तपुरमा पनि चुनावी गतिविधि बढेको छ। भक्तपुरमा एमालेले आफ्नो चुनावी अभियान तीब्र पारेको छ।

१) चाँगुनारायण नगरपालिका

यस नगरपालिकामा नौ वडा छन्। ५५ हजार ४३० जनसंख्या रहेको यो नगरपालिका ६२ दशमलब ९६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि एमालेका तर्फबाट चार जनाले दाबी प्रस्तुत गर्दै आएका छन्। एमाले वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, भक्तपुर जिल्ला सचिव तथा नगर संयोजक हरिशरण लामिछाने, जिल्ला सचिवालय सदस्य मोहनवीर श्रेष्ठ र नगर सचिवालय सदस्य रमेश बुढाथोकीको नाम प्रमुखका लागि चर्चामा छ।

२) भक्तपुर नगरपालिका

१० वडा रहेको भक्तपुर नगरपालिका ६ दशमलब ८९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ। ८१ हजार ७२८ जनसंख्या रहेको यस नगरपालिका प्रमुखमा एमालेका तर्फबाट एमाले भक्तपुरका कार्यालय सचिव विष्णु सुवालको नाम चर्चामा छ। उपत्यकाका सबै नगरपालिकामध्ये एमालेका तर्फबाट एकल उम्मेदवारको चर्चा रहेको नगरपालिका भक्तपुर नगरपालिका मात्र हो।

३) मध्यपुर ठिमी नगरपालिका

मध्यपुर ठिमी नगरपालिकामा ८३ हजार ३६ जनसंख्या छ। नौ वडा रहेको यस नगरपालिका ११ दशमलब ४७ क्षेत्रफलमा फैलिएको छ।

मध्यपुर ठिमी नगरपालिका प्रमुखका लागि एमालेका तर्फबाट तीन जनाको नाम चर्चामा छ। एमाले भक्तपुर जिल्ला सचिवालय सदस्य तथा नगरका सहसंयोजक मदनसुन्दर श्रेष्ठ, पूर्व जिल्ला सदस्य प्रेमानन्द श्रेष्ठ र सचिवालय सदस्य गीता अञ्जानको नाम मध्यपुर ठिमीको प्रमुख पदमा चर्चामा छ।

४) सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिका ४२ दशमलब ४५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। १० वडा रहेको यस नगरपालिकामा ७८ हजार ४९० जनसंख्या छ।

एमालेका तर्फबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा तीन जनाले दाबी गर्दै आएका छन्। एमाले ३ नम्बर प्रदेश सल्लाहकार समितिका सदस्य शशिजंग थापा, भक्तपुर जिल्लाका उपसचिव तथा नगर संयोजक वासुदेव थापा र जिल्ला प्रचार विभाग प्रमुख श्याम बस्नेतको नाम यस नगरपालिकाको प्रमुखमा चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.