|

काठमाडौं : नेपाली पुस्तक प्रकाशकहरु अहिले २०७३ सालको समीक्षामा छन्। कुनकुन किताब प्रकाशित गरियो? कुन किताब कति बिक्यो? कुन किताबले कुन पुरस्कार पायो? कुन किताबको राम्रो समीक्षा आयो र पाठकले रुचाए? कति नयाँ लेखकका पाण्डुलिपी आए? कतिलाई पुस्तकाकार दिन सकियो? अनि नयाँ सालका लागि कुनकुन लेखकका कृति बजारमा ल्याउने? भनेर तयारी गर्दै छन् प्रकाशकहरू।

गत वर्ष यी पुस्तक आए बजारमा

गत सालको समीक्षा र आउने सालको योजना कोर्दै छन् फाइन प्रिन्टका अजीत बराल। फाइन प्रिन्टले २०७३ सालमा तीनअोटा उपन्यास प्रकाशन गरेको छ। सुदूरपश्चिमको समाजको कथा बोकेको राज सरगमको 'छाउघर', सुविन भट्टराईको प्रेमकथाले भरिएको 'मनसुन' र नायिकाबाट लेखिका बनेकी बिनीता बरालको 'जुइनो'। यिनका अलावा फाइन प्रिन्टबाट भारतीय साहित्यकार उदय प्रकाशले लेखेको र यज्ञशले अनुवाद गरेको कथासंग्रह 'नेलकटर', दलाइ लामाको आत्मकथाको नेपालीमा अनुवाद 'मेरो भूमि, मेरो जनता' र पत्रकार हरिहर विरहीको आत्मकथा 'आगो निभेको छैन' प्रकाशन भए।

'बुक हिल' प्रकाशन गृह तेस्रो वर्षमा चलिरहेको छ। बुक हिल प्रकाशन गणेश पौडेलको 'पैताला' उपन्यास पाठकका लागि बजारमा पठाउँदै २०७३ साललाई बिदाई गर्दै छ। यसको तयारीमा छन् प्रकाशकद्वय पवन आचार्य र भुपेन्द्र खड्का। नयाँ उपन्यास बजारमा पठाउने तयारी गर्दै गर्दा उनीहरू बित्नै लागेको वर्ष २०७३ को लेखाजोखा पनि गरिरहेका छन्।

यो वर्ष बुक हिलले दुईवटा कथासंग्रह बजारमा ल्यायो, चलचित्रकर्मी तथा र‌ंग कलाकार खगेन्द्र लामिछानेको 'फुलानी' र पत्रकार फूलमान बलको 'काजोल खातुन' प्रकाशन गर्‍यो। त्यस्तै कुमार नगरकोटीको कथा, कविता, उपन्यास समेटिएको 'अल इन वन' भर्सन 'घाटमान्डु' पनि यसै प्रकाशनबाट प्रकाशन भयो। साथै मिलन संग्रौलाको उपन्यास 'पर्पला' हालै मात्र सार्वजनिक गरिएको छ।

यो वर्ष प्रकाशन गरेका पुस्तकको लिस्ट हातमै बोकेका छन्, सांग्रिला बुक्सका प्रमुख मणि शर्माले। उनले ०७३ सालमा २१ ओटा पुस्तक प्रकाशन गरेका रहेछन्। उनले यस वर्ष प्रकाशन गरेका पुस्तकहरू हुन्, अनिल थापाले लेखेको 'अविराम बाबुराम',  भक्तिप्रसाद पण्डेको संघर्षयात्रा 'चाचा', शारदा शर्माको 'कम्प', कृष्णप्रसाद सिग्ध्यालको 'नेपाल छिमेक र विश्व', नवीन विभासको कथासंग्रह 'रोल्पा सुइना', प्रोल्लास सिन्धुलीयको उपन्यास 'शून्य डिग्री', पत्रकार गजेन्द्र बुढाथोकीको 'समकालीन नेपाली अर्थतन्त्र', केशव दाहालको 'नेपाली राजनीतिको पुनर्गठन', सूर्यराज उपाध्याय र दीपेश घिमिरेको 'समाज र भ्रष्टाचार', टंक चौलागाईंको उपन्यास 'टालाटुली'। सांग्रिला बुक्सले पत्रकार अक्षर काकाको उपन्यास 'देउती' बजारमा पठाएर २०७३ साललाई बिदाई गर्दै छ। सांग्रिला बुक्सले ०७३ सालमा आख्यान भन्दा गैरआख्यान बढी प्रकाशन गरेको शर्माले बताए।

शिखा बुक्सले २०७३ सालमा उपन्यास, कविता, गजल, कविता, जीवनी प्रकाशन गर्‍यो। साहित्यिक विधामा विविधता रोजेर पुस्तक प्रकाशन गरेको प्रकाशक पुष्पराज पौडेलले बताए। उनका अनुसार शिखा बुक्सले नयाँ लेखकका पुस्तक प्रकाशनलाई महत्त्व दियो। वैदेशिक रोजगारीका पीडाबारे मीनराज वसन्तले लेखेको उपन्यास 'मुदीर', जया ओझाको 'आवरण', सुष्मा खड्काको 'सिमल', रेशम विरहीको 'प्रेमदासको डायरी', दिवानसिंह राईको उपन्यास 'रिकुटे', अमला अधिकारीको गजलसंग्रह 'आरन', सूर्यवन्दना पण्डितको आत्मकथा 'अठोट'सहित १६ पुस्तक प्रकाशन भए यस वर्ष शिखा बुक्सबाट।

यी चार प्रकाशन गृहका अलावा ०७३ सालमा विभिन्न प्रकाशन गृहबाट लामो समय साहित्य क्षेत्रमा लागेका लेखकहरूका कृतिहरू पनि प्रकाशन भए। यी लेखकहरूका पुस्तक साहित्यप्रेमीका रोजाइ र बहसका विषय बने। यसमा कृष्ण धरावासीको लीलालेखनबारेको पुस्तक ‘लीलाबोध’, खगेन्द्र संग्रौलाको ‘उत्तरआधुनिक अन्तरेपथ’ राधाकृष्ण मैनालीको आत्मकथा ‘नलेखिएको इतिहास’ किशोर नेपालको निबन्धसंग्रह ‘राक्षसको गीत’ युवराज नयाँघरे नियात्रासंग्रह ‘हाराबारा’, निनु चापागाईँको समालोचना ‘पूर्ववाद र सइदेली विचार’ हुन्।

यसैगरी नयाँ लेखकका चर्चामा रहेका कृतिहरूमा कृष्ण अविरलको उपन्यास 'नम्रता', उमा सुवेदीको उपन्यास 'इति', सीमा आभासको कवितासंग्रह 'म स्त्री अर्थात् आइमाई', गोपाल खनालको गैरआख्यान 'भूराजनीति', उन्मुक्त पुस्ताका युवाहरूको कवितासंग्रह 'आफर', जनकराज सापकोटाको ‘कहर’, श्याम सिंघकको 'रेमिटल्यान्ड' पनि प्रकाशन भए र पाठकले रुचाए।

प्रकाशन बजारमा व्यावसायिक रूपमा मध्यम वर्ष

पुस्तक प्रकाशनका हिसाबले २०७३ साल उत्साहजनक नरहेको प्रकाशकहरूको बुझाइ छ। यो वर्ष लामो समय चर्चामा रहने पुस्तक नआउनु, नाम चलेका लेखकका पुस्तक नआउनु पनि यसको कारण बताउँछन् प्रकाशकहरू। फाइन प्रिन्टका अजीत बराल २०७३ सालमा पोखरामा भएको साहित्य मेलामा व्यस्त हुनुपरेको र आशातीत रूपमा कम पाण्डुलिपी आएकाले पनि फाइन प्रिन्टबाट कम पुस्तक आएको बताउँछन्।

यसका कारण व्यवसाय पनि उत्साहजनक नभएको उनले बताए। 'राम्रो पाण्डुलिपी कम आए', उनी भन्छन्, 'लिट्रेचर फेस्टिभलमा पनि समय दिनुपर्‍यो, दुई महिना त त्यता लाग्यो।' यस वर्ष सुविन भट्टराईको 'मनसुन'ले भने राम्रो व्यापार गरेको बरालले बताए। यस्तै २०७३ सालमा आएका चर्चित लेखकका पाण्डुलिपी पनि नयाँ वर्षका लागि थाँती राखेको उनले बताए।  

२०७३ सालमा चर्चित किताब नआएको बुझाइ छ, बुक हिलका प्रवन्ध निर्देशक पवन आचार्यको। 'चर्चित र प्रतीक्षित लेखकका किताब आएनन्। अहिलेका किताबहरू लामो समय बिक्री हुने खालका पनि छैनन्', यसो हुनुको कारणबारे आचार्य भन्छन्, 'देशको राजनीतिक अवस्थाले पनि प्रभाव परेको हो कि!  त्यस्तै स्ववियु चुनावले पनि प्रभाव पारेको होला।'

नयाँ लेखकका पुस्तक पनि राम्रैसँग बिक्री भएकोले आशातीत व्यापार भएको ठान्छन्, पुष्प पौडेल। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका सचिवसमेत रहेका पौडेल भन्छन्, 'यस वर्ष पुस्तक व्यवसाय सन्तोषजनक नै रह्यो।'

नयाँ वर्षमा कुनकुन लेखकका पुस्तक आउँदै छन्?

पछिल्लो समय पाठकहरूले आफूले पढ्नलाई मात्रै किन्ने नभई उपहार दिनका लागि पनि किताब किन्ने गरेका छन्। चर्चित लेखकका पुस्तक साथीहरु, परिवारका सदस्यका लागि उपहार दिने प्रचलनको विकास भएको छ।

२०७४ सालमा यस वर्ष आउन नसकेका चर्चित लेखकहरू नयाँ पुस्तक ल्याउँदै छन्। यो वर्ष पिटर जे. कार्थकको अंग्रेजी भाषामा किताब आउँदै छ। त्यस्तै अनिल गुरुङको फुटबल करिअरबारेको पुस्तक पनि आउँदै छ। तीर्थ गुरुङ पनि उपन्यास लेख्दै छन्, जुन नयाँ वर्षमा प्रकाशन हुनेछ। पत्रकार एवं साहित्यकार नारायण वाग्लेको पनि लामो समयपछि पुस्तक आउँदैछ। प्रतीक्षित लेखकहरू अमर न्यौपाने, महेशविक्रम शाह पनि नयाँ वर्षमा पुस्तक ल्याउँदै छन्।

युग पाठकको २०७३ सालमै आउने भनिएको उपन्यास नयाँ वर्षको सुरुमै आउँदै छ। नारायण ढकालले पनि पुस्तक प्रकाशनको तयारी गरिरहेका छन्। नयनराज पाण्डे, बुद्धिसागर र हरिबहादुर थापाका कृति पनि नयाँ वर्षमै आउने भएका छन्।

यी चर्चामा रहेका लेखकका कृतिहरू आउने भएपछि २०७४ साल प्रकाशक, लेखक र पाठकका लागि उत्साहजनक हुने आशा गरिएको छ। अजीत बराल भन्छन्, 'यो वर्ष बढी आशावादी छौं। हामीले थाँती राखेका टप राइटर सबैका किताब आउँदै छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.