|

  • विदुर कटुवाल 

उदयपुर : जिल्ला प्रशासन कार्यालयले आवश्यक बजार अनुगमन नगर्दा आम उपभोक्ता पीडित बनेका छन्। बजार अनुगमन नहुँदा सदरमुकाम गाईघाटसहित जिल्लाका व्यापारीक केन्द्रमा खुलेआम मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा हिन्दु धर्मलम्बीको चाड दसैं तथा तिहारमा मात्र बजार अनुगमन हुने गरेको छ। तर अन्य समयमा बजार अनुमगन हुँदैन। जसका कारण उपभोक्ताहरु अखाद्य पदार्थ मिसिएका खाद्यान्‍न खरिद गर्न बाध्य छन्। 

होटल तथा मिठाई पसलको भान्सा सफा नभएको, मुल्य सुची नराख्‍ने गरेको, पसलबाट म्याद गुज्रिएका उपभोग्य सामान बिक्री वितरण हुने गरेको लगायतका गुनासो उपभोक्ताको छ।

'अखाद्य वस्तुको खुलेआम बिक्री वितरण हुँदा पनि सम्बन्धित निकायका मौन छ,’ स्थानीय उपभोक्ता सुजाता कार्कीले भनिन्,‘जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन नगर्नाले व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेका छन्।’

बजारमा पाइने पेय पदार्थदेखि चामल, दाल, हरियो तरकारी, लगायतका विभिन्‍न खाद्यान्‍न गुणस्तरहिन रहेको उपभोक्ताको आरोप छ। नापतौल विभाग अन्तर्गत पर्ने ढक, तराजु, समेत ढुंगा र काठको प्रयोग हुँदै आएको छ।

‘चामल, दाल, दालमोड, भुजिया, चकलेट, बिस्कुट लगायत तौल गरेर बिक्री हुने वस्तुमा उपभोक्ता ठगिने गरेका छन्,’ घुर्मी बजारका स्थानीय कुमार धमलाले भने,‘बजारमा अनुगमन प्रभावकारी रुपमा नहुँदा होटलवाला र खुद्रा पसलहरुले उपभोक्ताको हित विपरीत काम गरिरहेका छन्। तर बोलिदिने कोही छैन।’

गाईघाट बजारका स्थानीय शिव दाहालले भने,‘होटलमा गएर एउटा उपभोक्ताले ५ दिनको बासी सिंगडा किनेर खान्छ। बिरामी परे पनि कसैलाई नभनी त्यही उपभोक्ता फेरि औषधि पसल पुग्छ।’

सरोकारवाला निकायको मौनता र बेवास्ताको कारण अहिले गाईघाट, कटारी, घुर्मी, नेपालटार, बेल्टार, बसाहाका बजारमा व्यापारीले मनपरी गर्दै आएका छन्।

नेपालको वर्तमान संविधानमा उपभोक्ता अधिकारलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ। धारा ४४ को (१) मा उपभोक्ता अधिकारको व्यवस्था छ। तर उदयपुर जिल्लाका उपभोक्ताले अधिकार प्रयोग गर्न नजानेको स्थानीय शिक्षक पदम राईले बताए।

‘हामीलाई उपभोक्ताको ज्ञान र चेतना नहुँदा समस्या भएको हो,’ उनले भने,‘हामीले कुनै व्यापारीको बारेमा अखाद्य वस्तुको प्रशासनलाई जानकारी दियौं भने पनि सुनुवाई हुँदैन।'

राईले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यापारीलाई व्यापार संघ तथा विभिन्‍न निकायबाट संरक्षण मिल्दै आएको आरोप लगाए। ‘धेरै मासु पसलहरु फोहोरी छन्,' उनले भने,'मासुबाट उपभोक्ता तौलमा ठगिने गरेका छन् तथा सडेगलेको मासु खान बाध्य छन्।’

त्रियुगा उद्योग वाणिज्य महासंघ गाईघाटका महासचिव चुडामणी कार्कीले पछिल्लो समयमा बजार अनुगमन नभएपनि उपभोक्ताको गुनासो आउने गरेको बताए। ‘बजारमा व्यापारीहरुले उपभोक्ताको हित विपरीत बिक्री वितरण गरेको खण्डमा सच्याउने प्रयास गरिन्छ,’ कार्कीले भने, ‘धेरै ठुलो परिमाण गरेको प्रमाण फेला परे कानुनी कारबाही गर्ने निकायको जिम्मा लगाउनेछौं।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी कालप्रसाद पराजुलीले बजार अनुमगनको जिम्मा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीलाई दिएको बताए। उनले स्थानीय निर्वाचनको तयारी लाग्नुपर्ने भएका कारण कार्कीले बजार अनुगमन गर्न नपाएको बताए।

‘सहायक सिडिओ साब वैशाख ३१ गते हुने निर्वाचनमा केन्द्रित हुनु भएको छ,’ प्रजिअ पराजुलीले भने,‘बजारबाट धेरै उपभोक्ताको गुनासो आएकाले मिलाएर बजार अनुगमन गर्नुपर्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.