|

काठमाडौं : स्थानीय तह निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालले निर्वाचन आयोगमा उम्मेदवार मनोनयनको लागि आधिकारिक हस्ताक्षर भने बुझाएको छ। हस्ताक्षर बुझाउने अन्तिम दिन बुधबार फोरमले निर्वाचन आयोगमा उम्मेदवार मनोनयनका लागि पार्टीका तर्फबाट हस्ताक्षर बुझाएको हो।

संघीय समाजवादीका केन्द्रीय सदस्य एवं निर्वाचन विभाग प्रमुख शिवजी यादवले पार्टीका महासचिव रामसहाय यादवको हस्ताक्षर आयोगमा बुझाएको बताए। 'हामीले निर्वाचन आयोगले तोकेको ढाँचामा हस्ताक्षर बुझायौँ', उनले भने।

नागरिकलाई निर्वाचन आवश्यक रहेको बताउँदै यादवले त्यसका लागि राजनीतिक सहमति जरुरी रहेको प्रतिक्रिया दिए। 'हामीले राजनीतिक सहमति पनि होस् र निर्वाचन पनि होस् भन्ने चाहेको हो', यादवले थाहाखबरसँग भने, 'निर्वाचनमा भाग नलिने भन्दैमा कानुनी प्रक्रिया पूरा गर्नै हुन्न भन्ने छैन। उम्मेदवार मनोनयन नै गरेनौँ भने बेग्लै कुरा नत्र प्रक्रिया पूरा गर्नु अन्यथा होइन।'

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि हस्ताक्षर बुझाएको छ।

बुधबार साँझसम्म ६३ वटा दलले आफ्नो आधिकारिक हस्ताक्षर बुझाएका छन्। स्थानीय निर्वाचनका लागि आयोगमा ६३ वटा दल दर्ता छन्।

सामान्यतयाः हिजोआज आयोग ६ बजेसम्म खुल्छ। त्यो भन्दा बढी समय चाहिएमा दलहरुले आयोगमा अनुरोध गर्न सक्छन्। गत २६ गते नै समय सकिए पनि दलहरुको अनुरोधमा आयोगले हस्ताक्षर बुझाउन ४ दिन समय थप गरेको थियो।

सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले पनि माग पूरा हुने नदेखिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ।

मोर्चा घटक तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार बसेको बैठकले यथास्थितिमा चुनावमा जान नसकिने भन्दै बहिस्कारको निर्णय गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.