|

एजेन्सी : युभेन्टस् र बार्सिलोनाबीच मंगलबार मध्यरात ( नेपाली समयअनुसार) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको प्रतिस्पर्धा सुरु भयो। युभेन्टसको घरेलु मैदान टुरिनमा भएको खेल एक अद्‍भूत अर्जेन्टिनीको वरिपरी घुम्यो।

यी अर्जेन्टिनी ती अर्जेन्टिनी थिएनन्, जो खेलमा चम्कने अनुमान थियो। यी थिए, युभेन्टसका स्टार पाउलो ड्याबला जसले लियोनल मेसीलाई छायाँमा पारे। बार्सिलोना विरुद्ध २ गोल गरे। 'युभेन्टस् ३-० ले विजयी' हेडलाइन्ससहित  पहिलो लेगको कथा अन्त्य गरिदिए। 

खेलको ७ औं मिनेटमा उनले गोलपोष्ट नजिक खडा रहेका बार्सिलोनाका डिफेन्डरहरुले कुनै पत्तो नपाउने गरी छरितो गोल गरे। त्यसको १५ मिनेटपछि फेरि उस्तै उत्कृष्ट गोल गरे। जर्जियो चिल्लीनीले थप एक गोल गरेपछि युभेन्टस् ३-० ले विजयी भयो। तर खेलमा सबै समर्थकको मन ड्याबलाले जिते। ८१ औं मिनेटमा मैदान छाड्दा समर्थकहरुले सम्मान स्वरुप सिटबाट उठेर उनको अभिवादन गरे।

ड्याबला आफ्नो गति,क्षमता, टेक्निक तथा गोलका लागि लगाउने जबर्जस्त नजरका कारण चर्चित छन्। क्लब फुटबलमा आफ्नो क्षमता प्रमाणित गरिसकेका ड्याबलाले राष्ट्रिय टिममा भने आफुलाई प्रमाणित गर्न बाँकी नै छ। पोलिस हजुरआमा (बाबुपट्टीका) तथा इटालियन आप्रवासी हजुरआमा (आमापट्टीकी) का नाति ड्याबलासामु अर्जेन्टिनासँगै यी देशबाट खेल्न पाउने विकल्प थियो। उनले अर्जेन्टिना रोजे। ड्याबलाले अर्जेन्टिनाबाट अहिलेसम्म ६ खेल खेलेका छन्। विश्वकप छनोटअन्तर्गत २ वर्षअघि उनले पाराग्वे विरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन्। ड्याबला अर्जेन्टिनाको ओलम्पिक टोलीमा समेत समावेश थिए। तर उनले मैदान उत्रन पाएनन्। ड्याबलाले अर्जेन्टिनाका लागि गोल गर्न भने बाँकी नै छ।

अब बार्सिलोनाको क्याम्प नोउ रंगशालामा हुने दोस्रो लेगमा नतिजा उल्ट्याउन बार्सिलोनाले कम्तिमा ३-०, ४-० वा ५-१ को जित निकाल्नुपर्नेछ। यस्तो अवस्था सिर्जना नभए युभेन्टस् सेमिफाइनल पुग्नेछ। यही प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा पनि बार्सिलोना यस्तो अवस्थाबाट गुज्रिएको थियो। फ्रेन्च क्लब पीएसजीले बार्सालाई पहिलो लेगमा ४-० ले हराएको थियो। घरेलु मैदानमा भएको दोस्रो लेग ६-१ ले जितेपछि समग्रमा बार्सा ६-५ को विजयसहित क्वाटरफाइनलसम्म आइपुग्यो।

क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टससँग ३-०ले पराजित भएपछि बार्सिलोनाले दोस्रो लेगमा कस्तो खेल्छ?  उसको यात्रा यही टुङ्गिन्छ वा अघि बढ्छ। यस विषयमा थुप्रै अड्कलबाजी भैरहेका छन्। स्पष्ट नतिजाका लागि अप्रिल २० मा क्याम्प नोउमा हुने अर्को भिडन्त कुर्नुपर्छ। जसले बार्सिलोना र युभेन्टस् दुबैको भाग्य र भविष्यको फैसला गर्नेछ।

अहिले बार्सिलोनाको भविष्यको विषयलाई लिएर जति चर्चा र विश्‍लेषण भइरहेको छ। उत्तिकै चर्चा ड्याबलाको विगतलाई लिएर छ। ड्याबला को हुन्? कहाँबाट चम्किए? कसरी युभेन्टसमा स्थापित भए? अब कहाँ जानेछन्? समर्थकहरुले चासो राखेका यी र यस्ता थुप्रै विषयले अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यममा प्राथमिकता पाएका छन्।

को हुन् ड्याबला?

पुरा नाम पाउलो ब्रुनो एक्सक्विल ड्याबला हो। उनका हजुरबुबा बोलेस ल ड्याबला पोल्यान्डबाट दोस्रो विश्‍वयुद्धको समयमा अर्जेन्टिना छिरेका हुन्। अर्जेन्टिनाको कोर्डाबास्थित लागुना लार्गामा सन् १९९३ नोभेम्बर १५ मा ड्याबला जन्मिएका हुन्।

स्थानीय क्लब इन्स्टिटुटो एथलेटिको सेन्ट्रल कोर्डाबामार्फत उनले १७ वर्षको उमेरमा अर्जेन्टिनाको दोस्रो डिभिजनमा डेब्यु गरे।  डेब्यु गरेकै सिजन उनले ४० खेलमा १७ गोल गरे। यसपछि उनलाई समर्थकहरुले 'ला जोय' भनेर बोलाउन थाले। अहिले पनि ड्याबलालाई धेरै समर्थकहरु यही उपनामबाट सम्बोधन गर्न मन पराउँछन्। स्पेनिस शब्द 'ला जोय' को नेपाली अर्थ 'गहना' हो।

कसरी चम्किए?

अर्जेन्टिनको दोस्रो डिभिजनको लिग खेलेपछि अर्को सिजन उनी इटालियन सिरिए क्लब पलिर्मोमा आबद्ध भए। सन् २०१२ मा चार वर्षका लागि पलिर्मोमा आबद्ध भएका ड्याबलाले त्यही वर्ष साम्पडोरिया विरुद्धको खेलमा गोल गरेका थिए।

तर उनी सन् २०१४-२०१५ को सिजनमा मात्रै चर्चामा आए। उनले यस सिजन सुरुवाती ६ महिनाभित्र १० गोल गरे। सिजनको अन्त्यसम्म उनले १३ गोल गरे भने १० गोलका लागि असिस्ट गरे।

कसरी युभेन्टसमा स्थापित भए?

पलिर्मोमा उत्कृष्ट प्रदर्शन गरेका ड्याबलालाई इटालियन च्याम्पियन युभेन्टसले २०१५ को जुनमा  ३२ मिलियन युरो तिरेर क्लबमा भित्र्यायो। त्यही सिजन क्लब छाडेका आन्द्रे पिर्लोले लगाउँदै आएको जर्सी नम्बर २१ ड्याबलाले लगाउन थाले।

उनले तत्कालै युभेन्टसमा आफ्नो जादु देखाउन थाले। युभेन्टसबाट सुरुवाती १६ खेल खेल्दासम्म उनले ६ गोल तथा २ असिस्ट गरिसकेका थिए। उनको गोल रेसियो १ सय ५१ मिनेट प्रतिगोल थियो। जुन कार्लोस टेभेच र अलेस्यान्द्रो डेल पियरोले युभेन्टसबाट डेब्यु गर्दाको भन्दा राम्रो हो।

उनले सन् २०१५-१६ को सिजनमा युभेन्टसबाट सर्वाधिक २३ गोल गरे। इटालियन सिरिएमा मात्रै १९ गोल गरे। युभेन्टसले सिरिए जित्यो।

यस सिजन युभेन्टसले पाउल पोग्बालाई विश्‍वकिर्तिमानी रकममा  म्यानचेस्टर युनाइटेडमा बेच्यो। ड्याबलालाई पोग्बाले लगाउँदै आएको १० नम्बरको जर्सी लगाउन प्रस्ताव गरिएको थियो। तर ड्याबलाले प्रस्ताव अस्विकार गरे।

सुरुवातदेखि लगाउँदै आएको जर्सीलाई निरन्तरता दिए। जर्सी २१ नम्बरकै किन नहोस्? आज ड्याबला क्लबका १ नम्बर खेलाडी हुन्।

ठुला क्लबको नजर 

पछिल्ला सर्वाधिक रुचाइएका ३ खेलाडीले युभेन्टसका समर्थकहरुलाई वाई वाई गरेका छन्। सन् २०१५मा च्याम्पियन्स लिगको फाइनलमा पराजित भएपछि कार्लोस टेभेच अर्जेन्टिना फर्किए। त्यही सिजन क्लबका भेट्रान खेलाडी आन्द्रे पिर्लो अमेरिकी मेजर सकर लिगमा पुगे। उमेरले बुढो भएपनि पिर्लो समर्थकमाझ आदर्श खेलाडीका रुपमा चिनिएका थिए।

यस सिजनको सुरुवातमा पनि युभेन्टस् समर्थकहरुले खल्लो माने किनकी पछिल्ला केही वर्ष ठुलो वाहवाही कमाएका पाउल पोग्बाले क्लब छाडे। उनी विश्‍वकिर्तिमानी रकममा म्यानचेष्टर युनाइटेड लागे। स्टारहरुले क्लब छाड्ने समस्याबाट गुज्रिरहेको युभेन्टसमा अहिले ड्याबला सबैभन्दा ठुला स्टार हुन्। युभेन्टसले पोग्बालाई बेचेपछि महगों रकममा अर्का अर्जेन्टिनी गोन्जालो हिग्वुइनलाई भित्र्याएको थियो। तर हिग्वुइनभन्दा क्लबमा ड्याबलाको ख्याती माथि छ।

अब के ड्याबला पनि अन्यत्रै जान्छन् त? अहिले समर्थकहरुलाई यही चिन्ता छ। बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटी लगायतका क्लबहरुले ड्याबलालाई अनुबन्ध गर्न चाहेका छन्। ड्याबला युभेन्टस छाडेर तत्कालै अन्य क्लबमा गएको खण्डमा उनलाई आबद्ध गर्ने क्लबले विश्‍वकिर्तिमानी मुल्य चुकाउनुपर्ने पक्का छ। ठुला क्लबहरु यस्तो मुल्य तिर्न तयार छन्। 

ड्याबला भने तत्काल क्लब छाड्ने पक्षमा छैनन्। उनले छिट्टै युभेन्टससँग ४ वर्षको नयाँ सम्झौता गर्ने प्रतिक्रिया दिएका छन्। यो सम्झौता सन् २०२० सम्मको हुने बताइएको छ। मंगलबार २ गोल गरेपछि स्पेनिस टीभीसँग ड्याबलाले भनेका छन्,'म युभेन्टसमा खुसी छु। नयाँ सम्झौता गर्ने कुरा निकै नजिक छ।

स्पेनिस गोलकिपर गियानलुइगी बुफानका अनुसार ड्याबला विश्‍वकै उत्कृष्ट ३ खेलाडीमध्ये एक हुन्। अन्य २ चाँही लियोनल मेसी र रोनाल्डो। लुइस सुआरेज, नेइमार,एन्टोनी ग्रिजम्यान लगायतका खेलाडीदेखि ज्याल्टन इब्राहिभोमिचजस्ता ३५ कटेका खेलाडी समेतले उत्कृष्ट खेल देखाइरहेका बेला ड्याबलालाई अहिल्यै विश्‍वका उत्कृष्ट ३ भित्र राख्नु आम फुटबलप्रेमीका नजरमा हतारो हुनेछ।

तर युभेन्टस् समर्थकको नजरमा उनी सुपरस्टार हुन्। २ दशकपछि च्याम्पियन्स लिग जित्ने युभेन्टसको आशा उनको खेलका कारण जागेको छ। टेभेच, पिर्लो र पोग्बाजस्ता स्टार खेलाडीलाई बेच्दा दुखित बनेका युभेन्टस् समर्थकहरुले यतिबेला ड्याबलाकै कारण खुसी हुने मौका पाएका छन्। 'ला जोय' अर्थात 'गहना' त्यसै भनिएको होइन भन्‍ने उनले प्रमाणित गरिदिएका छन्।

(एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.