|

लहान : ट्राफिक प्रहरीले सिरहामा चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब साढे ८८ लाख राजस्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट जरिवानास्वरुप चालु आ.व.को साउनदेखि फागुन मसान्तसम्ममा ८८ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए।

यसक्रममा सबैभन्दा बढी भदौ महिनामा १४ लाख २१ हजार ५ सय र कम पुस महिनामा ९ लाख ९२ हजार ५ सय रुपैयाँ राजस्व असुली गरेको प्रहरी निरीक्षक चुडालले बताए। जसमा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट ४३ लाख २० हजार ५ सय रुपैयाँ असुल गरिएको छ। सडकमा सबैभन्दा बढी गुड्ने सवारी साधन मोटरसाइकल नै भएको र ट्राफिक नियम उल्लङ्घन पनि मोटरसाइकल चालकहरुले नै बढी गर्ने गरेकाले राजस्व असुली त्यसैमा बढी हुने गरेको चुडाल बताउँछन्।

‘चालक अनुमति पत्र नलिने, हेलमेट नलगाउने र तीन जनासम्म चढ्ने हुनाले त्यस्ताहरुबाट जरिवाना गरिन्छ,’ उनले भने। प्रहरीको अभिलेखअनुसार यो अवधिमा ७ हजार ९ सय ३ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। यो अन्य सवारी साधन भन्दा बढी हो। यसका अलावा २ हजार २ सय ५८ ट्रक, ९ सय ९९ बससमेत कारबाहीमा परेको अभिलेखमा उल्लेख छ।

यसबीचमा भएका दुर्घटनामा ४८ जनाले ज्यान गुमाएको, १ सय १८ जना गम्भीर घाइते भएको तथा २ सय ६१ जना सामान्य गरी ३ सय ७९ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.