|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेका केही कामले अझै झस्काउने रहेछ। त्यसक्रममा आफूले चलाएका तीन 'पति' (राष्ट्रपति, सेनापति र पशुपति) ले अझै आफूलाई झस्काउने गरेको प्रधानमन्त्री प्रचण्ड स्वयमले स्वीकारेका छन्।

पशुपतिको मूल भट्ट भारतीय नागरिक नै हुनुपर्ने परम्परा तोड्दै प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा नेपाली नागरिक डा. विष्णु दाहाललाई मूलभट्ट नियुक्त गरेका थिए। उनले ७ दिनमात्र जिम्मेवारी सम्हाल्ने मौका पाए। यसको व्यापक विरोध भएपछि सरकारले नै निर्णय फिर्ता लिएको थियो। यस्तै प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने निर्णय पनि प्रचण्डले गरेका थिए। राष्ट्रपतिले त्यसलाई उल्ट्याइदिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिए। त्यसैले यी तीन 'पति'का कारण प्रचण्डको राजनीतिक क्रेज घटेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ।

त्यतिबेला आफैँले पशुपतिको मूलभट्ट नियुक्त गरेका डा. दाहालको पुस्तक 'पशुपतिमा सात दिन' विमोचनका क्रममा बिहीबार प्रधानमन्त्रीले तीन 'पति'को प्रंस‌ग उल्लेख गरेका हुन्। 'म थोरैथोरै झस्किन्छु पनि। म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, म राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, र म सेनापतिको बारेमा कुरा गर्न पनि झस्किन्छु,' प्रचण्डले यसो भनेपछि प्रज्ञा प्रतिष्ठान हलभरी हाँसो गुञ्जिएको थियो।

साथै प्रचण्डले पुस्तकबारे पनि बोले. 'सात दिनको अनुभूति अगाडि सार्ने क्रममा एउटा ठूलो वैचारिक विमर्श अगाडि सार्नुभएको छ। पुस्तकले यसबारे नेपालीहरुको सोचलाई विस्तार गर्न मद्दत पुग्नेछ।'

उनले त्यसक्रममा तीन पतिबारे थप प्रस्ट पार्ने प्रयास गरे। 'कुरा के प्रस्टै हो भने, चाहे पशुपति, चाहे राष्ट्रपति, चाहे सेनापति तीनवटैमा मैले नेपाली जनताको भावनालाई नेपाल राष्ट्रको आवश्यकताअनुसार सम्बोधन गर्ने जमर्को गरेको थिएँ,' उनले भने, 'हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला। तर, मेरो भावना पवित्र थियो।'

त्यतिबेला भर्खरै क्रान्तिबाट आएको स्मरण गर्दै उनले नेपाली जनाताको भावनाअनुसार नै पशुपति, सेनापति र राष्ट्रपतिमा सुधार गर्न आवश्यक देखेर नै उक्त कदम चालेको बताए। 'खाली शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन सायद त्यतिबेला जानिनँ होला,' प्रचण्डले थपे।

त्यस्तै उनले राष्ट्रवाद र लोकतन्त्रका कुरामात्र हुने, काम नहुने गरेको गुनासो गरे। 'मैले अहिले राष्ट्रवादका ठूला कुरा गर्ने साथीहरुका कुरा, लोकतन्त्रको निकै चर्को कुरा गर्नेहरुका कुरा धेरै नजिकबाट नियाल्ने मौका पाएँ', प्रधानमन्त्री प्रचण्डले भने, 'राष्ट्रप्रति हृदयदेखि नै भक्तिभाव, निष्ठा र लगन हाम्रा जनताप्रति हुने दिनको प्रतिक्षा छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.