|

  • गोविन्द महतो-

जनकपुरधाम : सरोकारवाला निकायको लापरबाहीका कारण जनकपुर उपमहानगरपालिकामा निर्माण भएका कतिपय सडकको बीचमा विजुलीका खम्बाहरु जस्ताको तस्तै छाडिएको छ। सडक विभाग, जनकपुर उपमहानगरपालिका लगायतका निकायले बनाएका सडकको बीचमा पर्ने विजुलीका खम्बा जस्ताको तस्तै छाडेर ग्राभेल र कालोपत्रे गरिएको छ। हुलाकी सडकको केही खण्डमा पनि विजुलीको खम्बा बीच सडकमा नै छाडिएको छ।

जनकपुरको पिडारीचोकदेखि कुर्थासम्म, वाल्मिकीनगरदेखि भमरपुराचोकसम्म, मुझेलियाचोकदेखि मुझेलिया स्कुलसम्म, रामानन्दचोक कुर्थासम्मका सडकमा सडकको बीचमा नै विजुलीको खम्बा छाडेका छन्। जनकपुर उपनगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाएर सडक फराकिलो बनाउने तथा सौन्दर्यीकरण गर्ने अभियान थालेको छ। तर उपमहानगरपालिकाले सडकको बीचमा रहेका बिजुलीका पोल भने छोएको छैन।

सडक बीचका पोलले यातायातलाई असुविधा हुँदा पनि नगरपालिकाले पोललाई हटाउन सकेन। यस्ता अव्यवस्थित पोलले गर्दा दुर्घटना हुने, करेन्ट लाग्ने जस्ता समस्या आउने सक्ने स्थानीय बताउँछन्। सडकको बीचमा ठिंग उभिएका पोलले सौन्दर्य समेत बिगारेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले पोल सार्नका लागि नगरपालिकासंग छलफल भइरहेको बताए। चौधरीले भने, ‘यसले धेरै नै असहज बनाएको छ।’ चौधरीले पोललाई तत्काल हटाउन अति नै जरुरी रहेको बताए। ‘सडकको बीचमा पोल छ, रातको समयमा समस्या हुने गर्छ,’ उनले भने, ‘पोल जसरी नि हटाउनै पर्छ, त्यसले सडकलाई अस्तव्यस्त बनाएको छ।’

यस्ता पोलहरु जनकपुर उप–महानगरपालिका भित्र करिब दर्जनको संख्यामा रहेको छ। उक्त सडक हुँदै दैनिक सयौं गाडी गुड्ने गर्छन्। जनकपुर उप–महानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले सडकमा रहेका पोलहरु तत्कालका लागि सडक बनाउने संस्था वा कार्यालयले नै हटाउने जानकारी दिए।

आफूहरुको सरोकार विषय नरहेको भनेर पन्छिएका यादवले सडक डिभिजन मार्फत काम भइरहेकोले त्यसमा आफूहरुको कुनै चासो नरहेको दोहोर्‍याए। उपमहानगरपालिकाको योजना भन्दा बाहिर बिजुलीको पोल रहेकोले सडक निर्माण गर्ने वा पक्की बनाउनेले नै हटाउने उनले जिकिर गरे। नगरपालिकाले यसअघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सडक मापदण्ड कार्यान्वयन अगाडि बढाएको थियो। तर अहिले सो सडक अतिक्रमण मुक्त अभियान तथा सौन्दर्यीकरण अभियान प्राय ठप्प रहेको छ।

नेपाल विद्युत प्राधिकरण जनकपुरका वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले ११ भोल्टको लाइन तत्काल हटाउन अप्ठेरो हुने भए पनि कतिपय ठाउँमा हटाएको र हटाउने तयारी गरिरहेको जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.