|

काठमाडौं : स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेका छन्। नयाँ वर्षको दिन दशरथ रंगशालाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कार्यक्रमको उद्घाटन गर्ने मन्त्री थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा र प्रणालीको विकास गर्नु राज्यको दायित्व भए पनि नागरिक स्वस्थ नभएसम्म सरकारको मात्रै प्रयासले नहुने हुुँदा नागरिक स्वस्थ रहनका लागि सचेतना र प्रतिवद्धता जनाउन 'मेरो वर्ष अभियान २०७४' घोषणा गरिएको बताएका छन्।

उनले भने  'एउटा देश स्वस्थ रहन सरकार मात्र सहभागी भएर हुँदैन जसको लागि व्यक्ति, परिवार स्वस्थ रहनु आवश्यक छ। त्यसैले नागरिकलाई स्वस्थ रहनको लागि सचेतना र प्रतिबद्धता जनाउनको लागि यो कार्यक्रम घोषणा गरिएको छ।'

अभियानको महत्व किन?

बदलिदो जीवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढिरहेको बेलामा जनतालाई रोग स्वस्थ जीवनशैली अपनाउनको लागि यो अभियान सुरु गरिएको बताएका छन्।

उनले भने 'नेपालमा कुल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। हरेक वर्ष ८ देखि १० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिँदै गएको अवस्था छ। यस्तो बेलामा समयमा नै रोकथाम गर्न सके राष्ट्रका लागि उपचार खर्चको भार, अपांगता र अकाल मृत्यु बढ्दै गएको अवस्थामा जीवनशैलीको सामान्य परिवर्तनबाट कतिपय नसर्ने रोग रोक्न र कम गर्न सकिन्छ।’

मन्त्री थापाले यो अभियानको लागि ५ वटा प्रतिबद्धतालाई नागरिकले आफ्नो जीवनशैलीमा लागू गर्नसके जोखिमयुक्त दीर्घरोगसँग बच्न सकिने हुँदा सबैलाई नयाँ वर्ष २०७४ लाई आफ्नो स्वास्थ्यको बर्ष बनाउन आग्रह समेत गरे।

यस्ता छन् ५ प्रतिबद्धता

म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ।

म नियमित व्यायाम गर्छु।

म स्वस्थ र पोषिलो खाना खान्छु।

म नियमित स्वास्थ्य परीक्षण गराउँछु।

म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.