|

काठमाडाै‌ : 'छाेराछोरी छैनन् भनम् भने पनि पाप लाग्छ। छन् भनम् भने भएको र नभएको केही अर्थ छैन', नयाँ वर्षको पूर्व सन्ध्यामा पशुपति वृद्धाश्रममा भेटिएका ललितपुरका भीमनाथ दुलालले थाहाखबरसँग भने- ‘१० वर्षअघि धेरै बिरामी भएर बेहोस भएको साँझ छोराछोरीले ल्याएर पशुपति आश्रममा छोडिदिए। उनीहरू यहीँ नजिकै छन् तर म मरेको र बाँचेको उनीहरूलाई केही अर्थ छैन।’

छोराछोरीले गरेको बेइमानी सम्झेर उनका आँखा रसाए र गहबाट आँसु बरर झरे। बिरामी भएर इन्तु न चिन्तु भएको अवस्थामा आफ्नाहरूले नै ल्याएर विरानो ठाउँमा छोडेर गएको सम्झेर उनी भावुक भए। उनले आफ्ना छोराछोरीलाई ताते ताते गरेर हिँड्न सिकाएको क्षण पो याद गरेका थिए कि!

सबैतिर नयाँ वर्षको रौनक छाए पनि पशुपति वृद्धाश्रममा आफ्नो बूढेसकाल धकेलिरहेका वृद्ध आमाबुबालाई कुनै रौनकले छोएको छैन। कतै आफ्ना छोराछोरी र आफन्तको बेवास्ताका कारण त कतै आफन्त नै नहुनुका कारण उनीहरू वृद्धाश्रममा आफ्नो बुढ्यौली गुजार्न बाध्य छन्। 

काठमाडौं पुरानो बानेश्वरमा घर भएकी लक्ष्मीदेवी थापा अहिले बिरामी भएर वृद्धाश्रमको बेडमा पल्टिरहेकी छन्। ८५ वर्षकी उनको कथा अरूको भन्दा फरक छ। सानै उमेरमा बुबाआमा गुमाएकी उनी बुबाअामाको अनुहार सम्झिन पनि सक्दिनन्।

उनलाई स्कुल जाने इच्छा थियो तर विडम्बना, उनलाई स्कुल पठाउने आफन्त कोही थिएनन्। उनी अर्कैको घरमा काम गर्दै हुर्किन्, बढिन् र जवान भइन्। ‘उमेरमा विहे गरौं भन्न धेरै आएका थिए तर मलाई विहे गर्न मन लागेन’, वृद्धाश्रमको एक छेउमा पल्टिएर घाम तापिरहेकी थापाले सुनाइन्, ‘अरूको जीवन देखेरै म अघाएँ, मलाई विहे गरेर आफ्नो परिवार बनाऔं भन्ने कहिल्यै रहर लागेन।’

चार वर्षदेखि वृद्धाश्रममा बसिरहेकी रसुवा त्रिसुलीकी जानुका वस्ती एउटै कोठामा बस्नेहरूको पानी बाराबार भएको सुनाउँछिन्। ‘बरु अर्को कोठामा बस्नेहरूसँग मीठो कुराकानी हुन्छ तर आफ्नै कोठामा बस्नेहरू बोल्दैनन्’, ७३ वर्षकी वस्तीले भनिन्। ‘विभिन्न ठाउँबाट आएर बसेकाहरू भएर होला, कतिपयसँग कुराकानी मिल्दैन। ससाना कुरामा बाझाबाझ पनि हुन्छ, तर पनि मिलेरै बस्नुपर्छ। नमिलेर जाने ठाउँ पनि त अन्त छैन’, उनले भनिन्।

९० वर्षकी वृद्धा कृष्णाकुमारी मिश्रको पीडा बेग्लै छ। रसुवा कालिकाथान घर भएकी उनको ११ वर्षकै उमेरमा विहे भयो। २५ वर्षको उमेरमा एउटा छोरा जन्माइन्। त्यो छोरा १५ दिन मात्र बाँच्यो।

उनका श्रीमानले छोरा नबाँचेको झोँकमा उनीमाथि सौता हाले। लगातार तीनवटी सौता भित्र्याएका श्रीमानले वास्ता गर्न छाडेपछि उनी माइतीको शरणमा पुगिन्। 'जिउमा तागत छउञ्जेल काम गरेँ', मिश्रले भनिन्, 'काम गर्न नसक्ने भएपछि दाजुभाइका छोराछोरीले हेला गर्न थाले। समयमा खान नदिने, अनेकथरी दुर्वचन लगाउने गर्न थाले।'

आफ्नाहरूले नै बेवास्ता गरेपछि उनी छिमेकीकहाँ मागेर गुजारा गर्न थालिन्। अन्ततः गाउँलेकै सहारामा उनी दुई वर्ष अगाडि वृद्धाश्रम आइपुगेको बताउँदा उनका आँखा रसाइरहेका थिए। ‘अब मर्नु पाए पनि हुने थियो जस्तो लाग्छ। हामीलाई त मर्छु भन्दा पनि काल नआउने रहेछ। हाम्रो लागि सबै दिन उस्तै छन्', उदास हुँदै उनी भन्छिन्, 'नयाँ वर्ष, दशैं र तिहार जस्ता चाडवाडले हामीलाई छुँदैनन्।’

हिँड्न, लुगा धुन, नुहाउन सक्दिनन् उनी। उनले आफूलाई मर्न मन लाग्नुको कारण खोलिन्- 'अरूको भरमा बाँच्नु भन्दा त मर्नु नै राम्रो हो नि!' उनले मृत्युको पक्ष लिइन्।

७५ वर्षकी सानुमाया हुमागाईंको कथा पनि उस्तै छ। उनी २२ वर्षदेखि वृद्धाश्रममा बसिरहेकी छन्। दुई छोरा र एक छोरीकी आमा उनका श्रीमान बितेको २८ वर्ष भयो। एक दिन घरमा खाना खाने बेला बुहारीसँग ठाकठुक पर्‍यो उनको। बुहारीले खाना खान दिन्नँ भनेर उनलाई तथानाम भनेपछि उनलाई बुहारीसँग बसिरहन मनलागेन। छोरासँग सल्लाह गरेरै उनी वृद्धाश्रममा बस्दै आएकी छन्। 'बुहारी घरमै बस्नुहुन्छ', व्यंग्य गर्दै हुमागाईंले भनिन् 'नाति-नातिना पाउनुभा'को छ, बस्नुभा'को छ। उहाँलाई कहिल्यै बूढेसकाल नलागोस्।'

दोलखाका ८३ वर्षका अमरबहादुर कुमैसाकोटी भने हँसिलो मुद्रामा देखिए। उनका छोरा उनलाई लिनका लागि केही दिनपछि आउँदै रहेछन्। 'म त घर जाँदै छु', खुसी हुँदै उनले भने। दुई वर्षदेखि वृद्धाश्रममा बसिरहेका अमरबहादुरको कथा भने अरू वृद्धवृद्धाको भन्दा फरक रहेछ।

अमरबहादुरले मुस्कुराउँदै सुनाए 'एउटी केटीले मलाई समात्यो भनेर अदालतमा मुद्धा हालेकी थिई। तर मैले त्यसो गरेकै थिइनँ। अदालतले त्यो मुद्दा गलत भनेर मेरै पक्षमा फैसला गरेपछि अब म घर जान लागेको छु। उनले साहिँलो छोराले भैंसी पालेको र घरै गएर भैंसी दुहुने, ताजा दूध खाने बताए। घर जान पाउने भएपछि उनको खुसी अनुहारमा चम्किरहेको थियो।

काडमाडौं गणेशथान घर बताउने शंकर श्रेष्ठ वृद्धाश्रममा बसेको १२ वर्ष भयो। एक छोरा र एक छोरी रहेका उनले छोराछोरीले वास्ता नगरेका कारण आश्रममा बस्नुपरेको बताए। चाबहिलमा नाङ्लो पसल गरेर बसिरहेकी श्रीमतीले पनि उनलाई खोज्दिनन्। घरपरिवारबाट विरक्त भएका उनी आश्रममै खुसी छन्। ८१ वर्षका उनलाई नयाँ वर्ष आउनु र नआउनुको कुनै अर्थ छैन। उनी भन्छन्, 'आफ्नाहरूले वास्ता गरेनन्। अरूको सहारामा बाँचिरहेको छु। मेरा छोराछोरी श्रीमती यहीँ काठमाडौंमै छन् तर कहिल्यै मेरो मर्दो जिम्दो सोध्न आउँदैनन्।

रामेछाप मन्थलीकी तुलमाया पुरी अहिले ७३ वर्षकी भइन्। छ वर्षदेखि वृद्धाश्रममा बसिरहेकी उनी नि:सन्तान हुन्। उनका कोही छोराछोरी जन्मेनन्। एउटा धर्मपुत्र पालेकी थिइन्। पुरी दम्पत्तीले उही धर्मछोरालाई सबै सम्पत्ति दिएर पशुपति आएर बसेका थिए। उनका श्रीमान दुइ वर्ष अगाडि नै बिते। उही धर्मपुत्रले आएर सबै काजकिरिया गरे। अहिले एक्लो जीवन बाँचिरहेकी पुरीलाई वृद्धाश्रम आउनु अगाडि छोराछोरी नभएकोमा निकै दुःख लागे पनि यहाँ आएपछि त्यस्तो दुःख लाग्न छोडेको छ। उनी भन्छिन्, 'छोराछोरी भएका पनि आखिर आउने त यहीँ रहेछ। मेरा त भएनन् जाती नै भयो।'

काभ्रे पनौती घर भएका गोपाल खत्री ५६ वर्षदेखि पशुपति क्षेत्रमै बसिरहेका छन्। उनका दुवै खुट्टा बेरिएका छन्। हिँड्न नसक्ने उनी हातको सहारामा घस्रिन्छन्। ११ वर्षको उमेरमा पशुपति आइपुगेका उनी जन्मिँदा निकै राम्रो र स्वस्थ थिए रे! तीन वर्षको उमेरमा भएको टाइफाइडले उनलाई सधैँको लागि अपांग बनाएर गयो।

अपांग छोरालाई आमाले नै पशुपति गएपछि मागेर भए पनि बाँचिन्छ, घर नबस्, उतै जाऊँ भनेकी थिइन्। घर छोडेको पल सम्झेर गोपाल एकछिन् भावुक भए। उनी बोल्न सकेनन्। एकछिन् अडिए र बोले, 'घरमा श्राद्ध चलिरहेको थियो। मीठाई खानका लागि आमाले बहिनीलाई चारआना र मलाई चारआना पैसा दिएकी थिइन्। त्यही पैसा बोकेर मैले सधैँका लागि घर छोडेँ।'

घर छोड्दा कहाँ जाने, पशुपति कति टाढा पर्छ? उनलाई केही थाहा थिएन। जसोतसो घस्रँदै सडक किनारसम्म पुगेका उनलाई कसैले दया गरेर गाडी चढाइदिए। त्यही गाडीले उनलाई पशुपतिसम्म ल्याइपुर्‍यायो। बीचमा स्वस्थ हुँदा उनले टोपी, स्वेटर, नाम्लो, बरियो आदि बुनेर बेच्थे। ‘अहिले उमेर ढल्कियो, बुन्नै सक्दिनँ’, उनले आफ्नो कथा यसरी टुंग्याए।

आआफ्ना कथा र व्यथा लिएर १९३ जना वृद्धवृद्धा अहिले आश्रममा बसिरहेका छन्। २३० जनासम्म बस्न मिल्ने क्षमता भए पनि ११० जना महिला र ८३ जना पुरुष मात्र आश्रममा रहेको आश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.