|
फाइल फोटो

नेपालगन्ज :  पश्चिम नेपालका मुक्त कमैयालाई स्थानीय तहको निर्वाचनले छोइसकेको छ। निर्वाचनमा धेरैभन्दा धेरै प्रतिनिधित्व गराउन छलफल र संवाद जारी रहेको मुक्त कमैया भूमिअधिकार संघर्ष समितिका केन्द्रीय अध्यक्ष फट्टु थारुले बताए। ‘बढी भन्दा बढी उम्मेदवार उठाउन राजनीतिक दलसँग संवाद र छलफल भइरहेको छ,’ उनले भने।

विगतका निर्वाचनमा राजनीतिक दलले धोका दिएकोले यस पटकको स्थानीय निर्वाचनमा एकजुट भएर निर्वाचनमा सहभागी हुने निर्णयमा पुगेको बताए। मुक्त कमैयाको पक्षमा काम गर्ने र अहिलेसम्म सहयोग गरेको राजनीतिक दललाई समर्थन गर्ने भनिए पनि अहिलेसम्म कुन दल भन्ने निर्क्योल नभएको थारुले बताए। उनले पश्चिम तराईका ५ वटै जिल्लाका मुक्त कमैयाको बैठक बसेर राजनीतिक दल छनोट गरिने बताए। ‘बैशाख ५–६ गते बैठक बसेर सहयोग गर्ने दल छान्ने तयारी छ,’ थारुले भने।  

जिल्ला र ठाउँ अनुसार फरक–फरक दलसँग मिलेर उम्मेदवारी दिने सम्भावना रहेको बताउँदै थारुले मुक्त कमैयालाई गरेको सहयोगको मूल्यांकन गरिने बताए। ‘अहिले नै केही भन्न सकिने अवस्था छैन, सबै जिल्लाका मुक्त कमैयाको भेलाले दल छनोट गर्छौं' उनले भने।

मुक्त कमैयाको आन्तरिक तयारी पूरा

उनले राजनीतिक दलको टुंगो नलागेपनि उम्मेदवारको छनोट मुक्त कमैयाले गरिसकेको जानकारी दिए। कुन ठाउँमा कसलाई कुन पदको उम्मेदवार बनाउने भित्री तयारी भइसकेको छ, पद र व्यक्ति समेत तय भइसकेको छ,’ अध्यक्ष थारुले भने।

उनले कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलले मुक्त कमैयालाई उम्मेदवारको नाम दिन दवाव दिइरहेको समेत बताए। ‘ठूला र साना दलले आ–आफ्नो दलबाट उम्मेदवार बन्न आग्रह गरेका छन्, तर हामीले कसैलाई जवाफ दिएका छैनौँ,’ उनले भने, ‘हामी अहिलेसम्म कुनै राजनीतिक दलको कार्यक्रममा समेत गएका छैनौं।’

जनसंख्याको आधारमा पद र संख्या दावी

बाँकेमा प्रमाणित भएका २ हजार ३ सय ६८ परिवार मुक्त कमैयाका कम्तीमा १० हजार मतदाता रहेका छन्। एक हजार छुट मुक्त कमैयासमेत बाँकेमा बसोबास गर्दै आएका छन्। बाँकेको कोहलपुर, रझेना, महादेवपुरी र बनकटवामा जनप्रतिनिधिका लागि मुक्त कमैयाले दावी गरेका अध्यक्ष थारुले बताए।

कोहलपुरमामात्र ८३७ परिवार मुक्त कमैया बसोबास गर्दै आएका छन्। रझेनामा पनि करिव ३ सय परिवार मुक्त कमैया बस्दै आएका छन्। ‘जनसंख्या र मतदाता संख्याको आधारमा हामीलाई पद दिनुपर्छ भन्ने हाम्रो माग छ, जसले बढी पद र मुख्य पद दिन्छ त्यही राजनीतिक दलको झण्डामा चुनाव लड्छौं,’ कोहलपुर मुक्त कमैया वस्ती लोकनगरका स्थायी बासिन्दा समेत रहेका अध्यक्ष थारुले भने।

उनका अनुसार पश्चिम तराईका ५ जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा २७ हजार ९७७ परिवार प्रमाणित भएका मुक्त कमैया छन्। करिव १५ हजार परिवार प्रमाणित हुन बाँकी रहेको मुक्त कमैयाका अगुवा थारुले बताए।

राजनीतिक दलको प्राथमिकतामा मुक्त कमैया

बाँकेमा रहेका राजनीतिक दलहरुले पनि मुक्त कमैया, अल्पसंख्यक, सीमान्तकृत र पछाडि परेका समुदायलाई विशेष प्राथमिकता दिने बताएका छन्। नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले स्थानीय तहको निर्वाचनमा सकेसम्म आदिवासी, जनजाति, दलित र महिलासँगै मुक्त कमैयालाई विशेष प्राथमिकतामा राखेको बताए।

उनले मुक्त कमैयाबाट उम्मेदवार हुने व्यक्तिको खोजी भइरहेको बताए। उनले जनसंख्याको आधारमा मुक्त कमैयालाई पदको जिम्मेवारी दिइने धारणा राखे। ‘जनसंख्या र उम्मेदवारको व्यक्तित्वको आधारमा पद दिने कांग्रेसको नीति छ,’ उनले भने। उनले कोहलपुर, रझेना, बैजापुर, बिनौना, फत्तेपुरमा बसोबास गर्दै आएका मुक्त कमैयालाई उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको बताए। 

एमालेले मुक्त कमैया श्रमजीवि अन्तरगत पर्ने भएकोले स्थानीय तहको निर्वाचनमा पहिलो प्राथमिकतामा राखेको छ। जिल्ला अध्यक्ष अशोक कोइरालाले मुक्त कमैयाको मतदाता संख्या, उम्मेदवारको सामाजिक भूमिका र व्यक्तित्व हेरेर उम्मेदवार बनाउने बताए। ‘चुनाव जितिसकेपछि उसले भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने पनि हामी हेर्छौं, योग्य भए हामी मुक्त कमैयालाई प्रमुख पदसमेत दिन तयार छौं' उनले भने।

उनले संविधानमा व्यवस्था भएको भन्दा धेरै पद दिन एमालेले गृह कार्य गरिरहेको बताए। उनले आदिवासी, जनजाति, दलित, मुक्त कमैयाको बाहुल्यता भएको ठाउँमा सोही वर्गलाई उम्मेदवार बनाउने बताए। ‘चुनाव जित्नका लागि सबै जातजाति, वर्ग र समूह मिलाउन पर्छ नै एमालेले पछाडि परेका जनताको नेतृत्व गर्ने भएकोले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेको छ,’ अध्यक्ष कोइरालाले भने।

पछाडि परेका र पारिएका समुदायको धेरैभन्दा धेरै प्रतिनिधित्व गराउन गृह कार्य भइरहेको माओवादी केन्द्र बाँकेले जनाएको छ। पछाडि परेका र अल्पसंख्यक, सीमान्तकृत समुदायको स्थानीय तहमा प्रतिनिधित्व गराउन तल्लो तहको कमिटीलाई निर्देशन दिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बाँके संयोजक आइपी खरेलले बताए। ‘माओवादीले हेर्ने तल्लो वर्गलाई हो, मुक्त कमैया पनि तल्लो वर्गभित्र पर्ने भएकोले समेटिन्छ,’ उनले भने, ‘सबै वर्ग र समुदायको सन्तुलन मिलाएर उम्मेदवार छनोट हुन्छ।’

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले बाहुल्यता भएको ठाउँमा मुक्त कमैयालाई नै उम्मेदवार बनाउने नीति रहेको बताए। ‘प्रमाणिकरण भएका र नभएका दुवै थरिका मुक्त कमैयालाई उम्मेदवार बनाउने पार्टीको नीति छ,’ पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.