|

काठमाडौं : पशुपतिनाथ मन्दिरका पहिलो नेपाली मूल भट्ट डा. विष्णु दहालको अनुभव समेटिएको पुस्तक 'पशुपतिमा सात दिन' सार्वजनिक भएको छ। सात दिन मात्र मूल भट्ट भएका दहालले पुस्तकमा मूल भट्ट भएका बेला गरेका काम र अाफू मूल भट्ट भएका बेलाको देशको परिस्थितिको पनि वर्णन गरेका छन्। पुस्तकमा पशुपतिमा गरिने पूजाको विधिको वर्णन पनि गरिएको छ।

डा. विष्णु दहाल २०६५ साल पुस १७ गतेदेखि २३ गतेसम्म पशुपतिनाथ मन्दिरका मूल भट्ट भए। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमान्त्री र माओवादी नेता गोपाल किराती संस्कृतिमन्त्री भएका बेला पशुपतिनाथमा दहाललाई मूल भट्ट बनाइएको थियो। पछि विभिन्न राजनीतिक विरोधका कारण उनलाई मूल भट्टबाट हटाइएको थियो।

पुस्तक लेख्नुको कारण पशुपतिनाथमा नेपाली नागरिकलाई लागेको रोकबारे बहस होस् भन्ने रहेको लेखक दहालले बताए। उनले भने, 'प्राज्ञिक बहसका लागि यो पुस्तक निकालिएको छ। मैले मूल भट्ट भएको बेला बचेको समयमा लेखेका अनुभूतिहरू यस पुस्तकमा छन्।'

दहालले अहिले पनि पशुपतिनाथमा नेपालीले पूजा आराधना गर्न कानुनी अड्चन रहेको बताए। उनले भने, 'नेपाली भूमिमा जन्मेर धर्म, वेद, मन्त्र जानेर पनि पशुपतिनाथको आराधना गर्न नपाइने नियममा रहेको छ।' उनले यो नियम हटाउन र नेपाली नागरिकलाई पूजा गर्ने व्यवस्था गर्न सधैँ लागिरहने र थप पुस्तक लेख्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दहालले पुस्तकले बहस सिर्जना गर्ने बताए। उनले पशुपतिनाथबारे नेपाली समाज, राजनीति र सञ्चार जगत वास्तविकता जान्नुपर्ने बताए।

तत्कालीन संस्कृतिमन्त्री एवं माओवादी नेता गोपाल किरातीले पशुपतिनाथमा रहेको भारतको हेपाइलाई अन्त्य गर्न नेपाली भट्ट नियुक्त गरिएको बताए। उनले भने, 'पशुपतिनाथमा नेपाली भट्टलाई नियुक्त गर्नु भारतीय सांस्कृतिक बिस्तारवादको अन्त्य गर्नु हो।' उनले नेपालमै संस्कृतको ज्ञान भएका व्यक्ति भएकाले नियुक्त गरिएको पनि बताए। किरातीले नेपाली नागरिकलाई सम्मान गर्न पनि नेपाली भट्टलाई नियुक्त गरिएको तर नेपाल र भारतका केही राजनीतक व्यक्तिले विरोध गरेकोले नियुक्ति फिर्ता लिइएको बताए। उनले भने, 'धार्मिक क्षेत्रमा हिंसा फैलाउने अवस्था सिर्जना गरिएकोले नियुक्ति फिर्ता लिइयो।'

दाहालको पुस्तक मण्डप बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.