|
फोटो : सिताराम कट्टेल 'धुर्मुस' को फेसबुकबाट

  • गोविन्द महतो 

जनकपुर : महोत्तरी जिल्लाको बर्दिवासस्थित मुसहर बस्तीमा अहिले खुसियाली छाएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती नयाँ वर्षको अवसरमा हस्तान्तरण हुँदैछ। त्यसैले उनीहरु नयाँ जोश र उमंगका साथ आफ्नो दैनिकी सुरु गर्ने संघारमा छन्।

एकीकृत नमुना मुसहर बस्ती निर्माण कार्य लगभग पुरा भइसकेको फाउन्डेसनले जानकारी छ। 'रंगरोगन, भ्युटावर र फिनिसिङको केही काम अन्तिम चरणमा रहेको छ। हालसम्म ९८ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ,' फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले भने। 

पुस २५ गते हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यो बस्तीको शिलान्यसा गरेका थिए। वैशाख १ गते महजोडीले नै यो बस्ती हस्तान्तरण गर्ने कार्यक्रम छ। बस्तीभित्रका केही संरचना धुर्मस–सुन्तलीका बावु आमाले हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी फाउन्डेसनले दियो। 

यसअघि कस्टकर जीवन जिउँदै आएका मुसहर समुदाय बस्ती हस्तान्तरण हुने भएपछि खुसी देखिएका छन्। 'खरले छाएको घर पानी पर्दा चुहिन्थ्यो। सानो खर (पराल)को झुपडीमा खाना पकाउँदा वैशाख महिनामा आगलागी हुने डर हुन्थ्यो। जाडोमा राम्रो ओढ्ने ओछ्याउने नहुँदा घरभित्रै शीतलहरी हुन्थ्यो,' ४५ वर्षीय सोनेलाल मुसहरले आशावादी हुँदै भने,'अब त हाम्रो पक्कीको घर बनेको छ। हाम्रो लागि धुर्मुस–सुन्तली भगवान नै हुन्।'

रोग, भोक, अशिक्षाले अति पिछडिएका असहाय मुसहर समुदाय पक्की घरमा सर्ने योजनामा छन्। पुस्तौंदेखि सामाजिक बहिस्कारका कारण अपहेलित बनेको यो समुदाय गरिबीको रेखामुनी बाँच्न बाध्य छ। नमुना मुसहर बस्तिको निर्माणसँगै कस्टकर जीवन बिताउने मुसहर समुदायमा खुसी छाएको छ। 

'आज हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो।  खानेपानी पुग्यो। पराले ओच्छ्यान खाटमा परिणत भयो,' एकीकृत नमुना मुसहर बस्ती उपभोक्ता समितिका अध्यक्ष बिल्टु सदाले भने,'घर त झनै राम्रो भयो। अब हामी सुखमय जीवन बिताउँछौं। नयाँ घरको साथ हरेक थोक नयाँपन हुने भयो।” धुर्मुस-सुन्तली फाउन्डेसको सहयोगमा मुसहर समुदायले आफ्नै श्रममा यो बस्ती निर्माण गरेका हुन्। 

यस्तो हुनेछ बस्ती

बस्तीभित्र ५० वटा आवासीय घर र बस्ती बाहिर ३ वटा अन्य जाति समुदायका घर रहनेछन्। त्यस्तै १ बालउद्यान, एउटा मन्दिर, १ सय २० फिट लम्बाईको भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नाला लगायतका संरचना बस्तीभित्रै निर्माण भएको छ।

बस्तीको बीच भागमा ३५ फिट अग्लो भ्युटावर छ। जहाँबाट बस्ती सहित बर्दिबास चोक वरपरका रमणिय दृश्य हेर्न सकिन्छ। २७ वर्षका सञ्जीव सदा भन्छन्,'यस भ्युटावरबाट गाउँ हेरेपछि आफ्ना सुखका दिन सुरु भएको अनुभव गरेको छु।' 

मुसहर बस्ती निर्माणको क्रममा ४ करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने फाउन्डेसनको पूर्वानुमान थियो।  तर भ्युटावर, पक्की ढलान सडक र बस्ती बाहिर ३ वटा घरको योजना थपिँदा खर्च बढेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए। 'बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको अन्तिम हिसाब-किताब गर्न हामी जुटेका छौं। बस्ती हस्तान्तरण समारोहमा सार्वजनिक गर्छौं,' उनले भने।

पुरा भयो सपना 

बस्ती हस्तान्तरणका विषयमा जानकारी दिन दिउँसो जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेका धुर्मुस- सुन्तली फाउन्डेसनका अध्यक्ष ताराम कट्टेल 'धुर्मुस'ले 'न्यु इयर इभ' मा आफ्नो फेसबुक एकाउन्टमा 'सपना पुरा' भएको उल्लेख गरेका छन्। उनले बस्तीका केही फोटोहरु पनि अपलोड गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.