|

  • मणिलाल विश्वकर्मा

लहान : सिरहाको नरहा गाउँपालिका– १ चोहर्वामा अज्ञात समूहले गएराति दुईवटा होटलमा आगजनी गरेको छ। स्थानीय तामाङ होटल र डेविट होटलमा लगाइएको आगोले सँगै रहेकासहित १० वटा घरटहरा जलेका छन्। त्यसक्रममा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगजनीमा तामाङ होटलसहित सञ्चालिका कल्पना तामाङको ५, नरेन्द्र खडायतले सञ्चालन गर्दै आएको डेविट होटलसहित ४ र नरबहादुर आले मगरको एउटा गरी १० वटा घरटहरा जलेको हो। ‘मध्यरात भएकाले साँझ ग्राहकहरुले बुझाएको नगद, लत्ताकपडा, अन्नपात, भाँडाबर्तन र स्टकमा रहेका विभिन्न ब्राण्डका पेय पदार्थसमेत झिक्न भ्याइएन,’ सञ्चालिका कल्पना तामाङले भनिन्।

अनुहार छोपेर आएका दुईजनाले आगो झोसेका थिए। त्यतिबेलै उनीहरुलाई लखेटे पनि समात्न नसकिएको सञ्चालिका तामाङले बताइन्। आगजनी गरिएको होटल नेपाली सेनाको नयाँ गोरखनाथ गण चोहर्वाबाट मुस्किलले ३० मिटरको दूरीमा पर्छ।

ऐलानी जग्गामा होटल सञ्चालन गरिरहेका उनीहरु नेपाली सेनाका सेवा निवृत्त व्यक्ति र तिनका परिवार हुन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले आगजनीबारे अनुसन्धान भइरहेको बताए। साँझ होटलमा खाना खान आएकामध्ये कोहीसँग लेनदेन वा अन्य कुनै विषयमा भएको विवादले घटना भएको हुन सक्ने प्रहरीको आशंका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.