|

चितवन : चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ। आकांक्षीहरु धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो। जिल्लामा प्रमुख राजनीतिक दलका नेताहरुले चैतको २५ देखि २८ सम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए। वैशाख लाग्दा पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन्।

नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकर कँडेलले अहिले प्रक्रिया चलिरहेको जानकारी दिए। महानगरको हकमा सर्वसम्मत हुन नसकेमा केन्द्रले तय गर्ने उनी बताउँछन्। उम्मेदवारको चाहना बुझ्ने काम भइरहेको भन्दै कँडेलले भने, ‘खैरहनी, कालिका र राप्ती नगरपालिकाका केही वडाको सर्वसम्मत उम्मेदवार छनोट भएका छन्, ३ गते क्षेत्रले टुंग्याएर ७ गते जिल्लाले सिफारीस गर्छ ।’ कांग्रेसमा मेयर र उपमेयरमा आकांक्षी धेरै भएकाले समस्या परेको स्रोतको भनाइ छ । कांग्रेसमा यसअघि भरतपुर महानगरको मेयरमा मात्रै २२ जनाको नामावली आएको थियो।

यस्तै, नेकपा एमालेमा पनि त्यस्तै सकस छ। चैत अन्तिम साता टुंग्याउने योजनासहित एमाले चितवन अघि बढेको थियो। हालका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले चैत २८ सम्ममा टुंग्याउने बताएका थिए तर, आजसम्म पनि कुनै क्षेत्रमा एमालेले टुंग्याउन सकेको छैन।

एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का गाउँ र नगरका वडाबाट सिफारिस आएको भए पनि निर्णय हुन बाँकी रहेको बताउँछन् । भरतपुर वडा नम्बर ८/४/१/५ मा मौखिक तय भएको जानकारी आए पनि लिखित आइनपुगेको उनको भनाइ छ। मेयर उपमेयरको हकमा भने वैशाख ७ गतेभित्र टुंग्याउने दाबी उनको छ। उनले महानगरको हकमा भने मेयरमा विजय सुवेदी, केशवलाल श्रेष्ठ र देवी ज्ञवालीको नाम बढी चर्चा भएको समेत जानकारी दिए।

यता, नेकपा (माओवादी केन्द्र) मा पनि चुनावी माहोल तातेको छ। तर, उसलाई पनि उम्मेदवार छान्न आकांक्षी बढेकाले सकस नै भएको छ। चैत २५/२६ मा सक्ने योजना बनाएको भनेर माओवादी केन्द्र चितवनले सार्वजनिक गरे पनि अहिलेसम्म कहीँ पनि टुंग्याउन सकेको छैन।

जिल्ला नेता घनश्याम दाहाल 'अविनास' वैशाख ३ गते वडा तहको टुंग्याउने गरी काम भइसकेको दाबी गर्छन्। ‘हामी अहिले छलफलकै चरणमा छौं, दाहालले भने पार्टीले जे भन्छ, सबै त्यही मान्ने भन्नेछ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ। जिल्ला अध्यक्ष बद्री तिमिल्सिना अहिले छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताउछन्।

तर, वडाको समेत कुनै निर्णय उसले पनि गर्न सकेको छैन। भरतपुर महानगरको मेयरमा भने अहिलेसम्म आफ्नो मात्रै नाम परेको र अरु कोही आकांक्षी नरहेको तिमिल्सिनाको भनाइ छ। जिल्लामा २४ दल दर्ता भए पनि जिल्लामा यिनै ४ दलका गतिविधि मात्रै देखिएका छन्।

जिल्लामा अहिले भरतपुर महानगरपालिकासहित रत्ननगर, खैरहनी, राप्ती, माडी, कालिका नगरपालिका छन् भने इच्छाकामना गाउँपालिका छ। ७ स्थानीय तहमा ७ जना प्रमुख र ७ जना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्यहरु ३ सय ९२ जना गरेर ५ सय ४ निर्वाचित हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.