आहुतिसँग सपना संवाद

|

स्वास्थ्य विज्ञानका आधारमा निदाएको बेला दिमागले सोचेको कुरा नै सपना हो। कतिपय सपना मानिसलाई यादै हुँदैन। जुन याद हुन्छ त्यो व्युँझिने बेला देखिएको हो। तर हामी सपनालाई एउटा विम्ब वा प्रतीक बनाइरहेका छौं। राजनीति, साहित्य वा जीवन लक्ष्यलाई व्यक्त गर्नका लागि हामीले सपना शब्दलाई विम्बको रुपमा प्रयोग गरिरहेका छौं। हामीले कुरा गर्न लागेको सपना त्यही नै हो।

आफ्नो गन्तव्य, लक्ष्य वा जीवनप्रतिको आशा, भविष्यको निम्ति संगालिने आकांक्षाको अर्थमा मानिसले सपनालाई प्रयोग गर्ने गरेका छन्। सपनाविहीन मानिस हुँदैनन्। मेरो जीवन यस्तो हुनेछ, अथवा म यस्तो बन्नेछु, यसरी मर्नेछु भन्ने जस्ता आकांक्षा मान्छेले संगाल्छ, त्यो नै सपना हो।

कस्तो सपना देख्नुपर्छ?

हरेक व्यक्ति समाजसँग जोडिएको हुन्छ। उसले एक्लै पनि प्रगति गर्न त सक्छ तर समाजको प्रगति विना उसको समग्र प्रगति हुँदैन। त्यसैले समाजलाई अगाडि बढाउन वा समाजको अगाडि बढ्ने दर तिब्र पार्न आफ्नो जीवनकालमा बढी भन्दा बढी भौतिक र दिमागी श्रम लगानी गर्न सकियोस् भनेर गरिने संकल्प नै हामीले देख्नुपर्ने सपना हो। आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ।

मेरो विचारमा त्यस्तो सपना नै देख्न हुँदैन जुन पूरा भएन भनेर दुःखी हुन परोस्। स्वभाविक रुपमा सपना पूरा हुन पनि सक्छ र नहुन पनि। यसको कुनै ग्यारेन्टी हुँदैन। सम्भावना पूरा भएन नै भनेपनि त्यस्तो सपना देख्नेको जीवन गौरवमय नै हुन्छ। आफ्नै जीवनकालमा सबै कुरा पूरा हुनुपर्छ भन्ने पनि ठीक होइन। कुनै पनि मानिसले आफ्नो जीवनकालमा सबै कुरा प्राप्त गर्न सक्दैन।

त्यसकारण कसैले पनि त्यस्तो सपना सजाउनु हुँदैन जुन पूरा नहुँदा आफू विक्षिप्त बनियोस्। बरु यो कुरा सोच्नुपर्छ कि तपाईंले ठीक सपना देख्नुभएको हो भने र त्यो पूरा गर्नका लागि आफ्नो जीवनको केही समय व्यतित गरेकामा गौरव गर्नुपर्छ।

माओवादी आन्दोलनको कुरा गर्ने हो भने माओवादी योद्धाले जुन सपना देखे त्यो सबै पूरा भएको छैन। एकैचोटी पूरा हुने कुरा पनि थिएन तर उनीहरुले गरेको योगदान र बलिदानले त्यसबाट नेपाली समाजको चेतना, नेपाली समाजको रुपान्तरण र आफ्नै जीवनलाई गौरवान्वित बनाएको छ।

सपना देखाउने प्रशिक्षण नै गलत

नेपालका कम्युनिष्ट पार्टीहरुले प्रशिक्षणमा जहिले पनि पूर्ण क्रान्तिको कुरा मात्र सिकाए। नेपालको भूवनोट, यहाँको वस्तुस्थिति र छिमेकीहरु देखी लिएर जे जस्ता परिघटना यहाँ छन,  त्यसले हामीले भनेको जस्तो मोडलमा सम्पूर्ण क्रान्ति हुने अवस्था छैन।

प्रशिक्षणमा सम्पूर्ण क्रान्ति भन्ने तर व्यावहारमा गर्दै जाँदा त्यस्तो हुन नसक्ने भएको छ। यसले मानिसहरुलाई के परिरहेको छ भने - हामी त्यहाँसम्म जाने भनेको तर त्यो बाटो नै छोडेर अन्यत्र लागियो भन्ने परेको छ। हामीले पूरा गर्ने क्रान्तिको यात्रामा कैयौं घुमाउरा मोड र घुम्तीहरु व्याहोर्दै हिँड्नुपर्ने पनि हुनसक्छ भनेर प्रशिक्षित गरेको भए मानिसले सम्पूर्ण क्रान्ति पूरा नभएपनि हामी यात्रामै छौं भन्ने हुन्थ्यो। तर सिकाएको छ सम्पूर्ण क्रान्ति अर्थात मुक्ति या मृत्यू। यस्तो सिकाएपछि कि पूर्ण रुपमा मुक्ति नै हुनुपर्‍यो कि मर्नुपर्‍यो।

यस्तो स्कुलिङबाट आएको हुनाले अहिले सपनाको हत्या भएको कुरा सुनिन्छ। केही मानिस खासगरी जो माओवादी आन्दोलनमा संलग्न भएका थिए। उनीहरुले सपनाको हत्या भयो भनिरहेका छन् तर यो नै अन्तिम सत्य हो भन्ने मलाइ लाग्दैन। यसरी कम्युनिष्ट पार्टीमा प्रशिक्षणको तरिका नै गलत भयो। कि मुक्ति कि मृत्यु भन्ने कोणबाट प्रशिक्षण गर्नु नै ठीक होइन। मुक्ति बिना बाँच्ने अधिकार छैन त? पूर्ण मुक्ति नभएर २५ प्रतिशत मुक्ति भयो भने पनि मर्न त भएन नि। पुरै मुक्ति नभएपछि सपनाको हत्या भयो भन्ने उनीहरुलाई लागिरहेको छ।

अर्को कुरा आन्दोलनले जन्माएका कतिपय नेतामा आएको विजातीयकरण वा स्खलनले पनि सपनाको हत्या भयो भन्ने कुरालाई मलजल गरिरहेको छ। मानिसले आफ्नो सपनालाई आस्था बनाएर हिँडिरहेका छन्। आस्था मात्र होइन अन्धो आस्था बनाइरहेका छन्। आफ्नो आन्दोलनको नेतामा आएको स्खलनले पनि मानिसलाई त्यस्तो सपनाको हत्या भएको अनुभूति भएको छ।

कम्युनिष्ट आन्दोलनमा गर्दै आएका कैयौं प्रशिक्षणले पनि गलत परिणाम निकालिरहेका छन् भन्ने अब सबैले बुझ्नुपर्छ। जस्तो कि मार्क्स, एंगेल्सले प्रकृतिसँग संघर्ष गरेर प्रकृतिलाई बदल्ने भनेका छन्। हामी प्रकृतिकै उपज हौं, हाम्रो प्रकृतिसँगको सम्बन्ध द्वन्द्वात्मक हुनुपर्छ। हामीले प्रकृतिसँग संघर्ष गर्ने होइन सहकार्य गर्नुपर्छ।

जस्तो कि हामी प्रकृतिको उत्पादन पानी खान्छौं। पानी धारोबाट खान्छौं तर झरनामा गएर पनि पानी खान्छौं। धारो घरमा ल्याउनु भनेको प्रकृतिसँगको सहकार्य हो। प्रकृतिको उत्पादनलाई परिमार्जन गरेर प्रयोग गर्नु हो। तर हामीले जमिन बोकेर ल्याउन सक्दैनौं। जमिनमै गएर खेतीपाती गर्छौ।

सपनाको हत्या किन हुन्छ?

सपना पनि वर्गीय कुरा हो। लक्ष्य भनेको वर्ग अनुसार हुन्छ। पुँजीपति वर्गको मान्छेको सपना र सर्वहारा वर्गको मानिसले अलग अलग सपना देख्छन्।

सपनाको हत्या दुई तरिकाले हुन्छ। एउटा, जनता अथवा आम श्रमजीवी मानिसले जीवनमा जुन कुरा चाहन्छन् शोषक वर्गले त्यो हुन दिँदैनन्। अनेक जालझेल, लुट, षड्यन्त्र गरेर केवल ज्यान मात्र धान्ने र श्रम गर्न मात्र गर्न लायक बनाउँछन्। श्रमजीवीलाई उन्नत दिशामा जानको लागि रोक्न उनीहरु हरेक हत्कण्डा प्रयोग गर्छन्। एउटा यो तरिकाले सपनाको हत्या हुन्छ।

दोश्रो, आफ्नै वर्गभित्र कुनै क्रान्तिकारी आन्दोलन वा पार्टी जीवनमा विभिन्न मानिसले विभिन्न  सपना सजाएर त्यहाँ आएका हुन्छन्। तर नेतृत्वको गलत नीतिले वा कतिपयको गलत नियतले पनि ती सपना पूरा हुन पाउँदैनन्। जसको कारणले तिनीहरुले आफ्नै वर्गभित्र सपनाको हत्या भएको महसुस गर्छन्।

कतिपय अवस्थामा नेतृत्वले वा पार्टीले ठीक गर्दागर्दै पनि कारण र परिवन्द बुझाउन नसक्दा कसैलाई सपनाको हत्या भयो भन्ने पर्छ। कतिपय अवस्थामा नेतृत्वले जानेर वा नजानेर सपनाको हत्या हुन नै पुग्छ।

कस्तो हुनुपर्छ यो वर्षको सपना?

समानतामा आधारित मानव समाज, अरुले दमन गरेर अनुशासित बनाउने प्रक्रिया घट्दै गएको समाज र स्वअनुसासित हुने प्रक्रिया नै समाजवाद हो। उत्पादन शक्तिबीचको संघर्षले त्यो प्रक्रिया  शुरु भएको छ। सचेततापूर्वक यो प्रक्रियालाई छिटो अगाडि बढाउन सबै परिवर्तनकारी लाग्नुपर्छ। समाजवाद निर्माण गर्नका लागि देखिने समाज नै समाजवादी सपना हो। समाजवादसम्म पुग्न लालायित आकांक्षा र त्यो लक्ष्य नै समाजवादी सपना हो। नयाँ वर्षमा हामीले नयाँ नेपाल निर्माणको सपना देख्नुपर्छ।

नयाँ नेपाल बनाउने भनेकै संविधानको कार्यान्वयन हो। संविधान कार्यान्वयन हुन सकेन र तीन तहको चुनाव समयमै हुन सकेन भने सबै परिवर्तन संकटमा पर्नेछन्। गाउँगाउँमा सिंहदरबारको सपना धरापमा पर्नसक्छ। परिवर्तनलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन गर्ने कुरा नै हाम्रो  एकमात्र सपना बन्नुपर्छ।

नयाँ वर्षका सपना के हुने?

विक्रम संवतबाट नयाँ वर्ष सुरु हुने भएकाले यसलाई नयाँ मानिएको हो। इश्वी सम्वतको नयाँ वर्ष अस्तिनै गइसक्यो। किराँतको आफ्नै नयाँ वर्ष छ। ल्होसार पनि नयाँ वर्ष नै हो। यो सकिएको धेरै वर्ष भएको छैन। गौतम बुद्ध संवत पनि छ। यसरी सोच्यो भने नयाँ वर्ष अर्कै पक्ष भयो।

नेपालको परिघटनाहरुलाई हेर्दा नयाँ संविधान भर्खरै बनेको छ र त्यो लागु हुने प्रक्रिया सुरु भएको छ। स्थानीय तहको घोषणा संगसंगै पुरानो स्थानीय निकाय भंग भएका छन्। नयाँ स्थानीय तहको अस्थिपञ्जर तयार भएको छ।

स्थानीय तहमा चुनाव सम्पन्न गरी अहिलेसम्म भएका परिवर्तनको रक्षा गर्दै थप प्रगतितर्फ जान र स्थानीय तहको अस्थिपञ्जरलाई आफ्नै हाड मासुको बलमा उभ्याउनका लागि संविधानको कार्यान्वयन नै मूल ढोका हो। २०७४ सालभरीमा तीनवटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संविधानको म्याण्डेट हो। त्यसकारण यो २०७४ साल नेपालको इतिहासमा निकै महत्वपूर्ण घुम्तीको रुपमा आइपुगेको छ।

– आस्था केसीले गरेको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • समय समयमा यस्ता आहुतिका लेख वा बिचार हरु दिदै जाद राम्रो तर छोटो , मीठो।